coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तलब पाएनन्, ऋण काढेर दसैं

जुम्ला - चन्दननाथ मावि खलंगा बजारका प्रधानाध्यापक टंकबहादुर महत १ लाख रुपैयाँ ऋण काढेर दसैं मनाउन बाध्य भएको बताउँछन्। उनले भने, ‘चालू आर्थिक वर्षको पहिलो चौमासिकको तलब दसैंमा आउनेमा ढुक्क थियौं, तर तलब पाएनौं। ऋण निकालेर दसैं मनायौं। यो पटक शिक्षकका लागि निकै नरमाइलो दसैं हुन पुग्यो।’

चन्दननाथ नगरपालिकाले विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन नगरेको भन्दै कर्णाली मावि अनामनगर र चन्दननाथ मावि खलंगाका शिक्षकको तलब रोकिदिएको छ। उनले भने, ‘वर्षभरि काममा खटिएर दसैंको समयमा तलब नपाउनु भनेको विडम्बनाको विषय हो। नगरपालिकाको यो क्रियाकलापले शिक्षक कर्मचारीको जोस हराउँदै जान थालेको छ।’ महत ऋण निकालेर दसैं मनाउने एक प्रतिनिधि मात्र हुन्।

उनी जस्ता चन्दननाथ माविका ३० र कर्णाली माविका १९ जना शिक्षकले दसैंमा तलब पाएनन्। ‘दसैंमा परिवारमा खुसी ल्याउन भए पनि ऋण निकाल्नुको विकल्पै रहेन,’ उनले भने, ‘यो दसैं ऋण निकालेर मनाइयो। टाढाका शिक्षकलाई आउजाउमा समेत कठिनाइ भइरहेको छ।’ यो वर्षको पहिलो चौमासिक र पुरानो चौमासिकको एक महिनाको तलब शिक्षक–कर्मचारीले पाउन सकेका छैनन्। ‘नगरपालिका तत्काल विव्यस गठन गर्न आदेश दिन्छ, विव्यस भने अझै एक वर्ष कार्यकाल रहेको भन्दै गठन गर्न मान्दैनन्, त्यो सबैको सजाय शिक्षक–कर्मचारीले पाउनु परिरहेको छ,’ प्रअ महत प्रश्न गर्छन्, ‘यसमा शिक्षक–कर्मचारीको के दोष ? नगरपालिकाले तलब रोक्नुपर्ने कारण के ?’

विद्यालय व्यवस्थापन समितिमा आफ्नो अनुकूलको नेतृत्व नभएकाले नगरपालिका प्रमुखले नै यो लफडा गरेको शिक्षक–कर्मचारी बताउँछन्।

चन्दननाथ विद्यालयको व्यवस्थापन समिति गठन भएको २ वर्ष बित्यो। आगामी असारमा समितिको कार्यकाल सकिँदै छ। कर्णाली मावि अनामनगरको व्यवस्थापन समितिको कार्यकाल आगामी भदौमा सकिँदै छ। चन्दननाथ नगरपालिका हचुवाका भरमा तत्काल विव्यस गठन गर्न परिपत्र गर्छ। शिक्षा ऐन २०२८ को नियम १२ मा गठित विव्यसको कार्यावधि तीन वर्षको हुने उल्लेख छ। यो विषयलाई चन्दननाथ नगरपालिकाले बनाएको असार १५ मा पारित नगरशिक्षा कार्यविधिले पनि समावेश गरेको छ। तर नगरपालिकाले आफ्नो अडान छोड्न सकेको छैन। जसको प्रत्यक्ष मार शिक्षक–कर्मचारीलाई परिरहेको छ। विव्यसमा आफ्नो अनुकूलको नेतृत्व नभएकाले मेयरले नै यो लफडा गरेको शिक्षक कर्मचारी बताउँछन्।

चन्दननाथ माविको आर्थिक कारोबार बन्द हुँदा ३० जना शिक्षकसँगै विद्यालय भवन निर्माणमा संलग्न ४० जनाले ज्याला पाउन सकेका छैनन्। उनीहरूको पनि यो पटकको दसैं खल्लो बन्यो। त्यस्तै निर्माण सामग्री उपलब्ध गराउने ८ वटा सप्लायर्सले पनि दसैंमा रकम पाएका छैनन्। कर्णाली माविका १९ जना शिक्षक– कर्मचारी, विशेष शिक्षा अध्ययन गरिरहेका ३४ जना बहिरा विद्यार्थी र फिडर छात्रावासका २० जना छात्रा प्रभावित छन्। यी शिक्षक–कर्मचारी, विद्यार्थी र फिडर छात्रावासको खर्च व्यवस्थापन गर्न समस्या भइरहेको छ।

चन्दननाथ नगरपालिकाका कर्मचारीले शिक्षकको तलब हाल्न खोज्दा मेयर कान्तिका सेजुवालले पत्र काटेर बैंकमा खाता रोक्का गर्न लगाएको आरोप शिक्षक–कर्मचारीको छ। कर्णाली मावि अनामनगरले २८ देखि ३२ लाख रुपैयाँ र चन्दननाथ माविले ५२ लाख रुपैयाँ पाउनुपर्ने छ। शिक्षकले तलब नपाएको विषयमा शिक्षक संघसंगठनदेखि राजनीतिक दलले समेत चासो नदिएकोप्रति शिक्षक–कर्मचारीले आपत्ति प्रकट गरेका छन्। नगरपालिकाले खाता रोक्का गर्ने निर्णय मानवअधिकार, श्रमऐन र संविधानविपरीत भएको जानकार बताउँछन्।

शिक्षक कर्मचारीको तलब निकासाका लागि पहल गरिदिन स्थानीय प्रशासनलाई समेत अनुरोध गरिएको थियो। तर नगरपालिकाले सुनुवाइ गरेको छैन। यही असोज २४ गते शिक्षकको तलब फुकुवाका लागि पत्र पठाएकोमा ‘मेयर सेजुवालले मेयर पद छोड्छु, तर तलब पठाउँदिन’ भन्ने अभिव्यक्ति दिएर फर्काएको प्रअ टंक महत बताउँछन्। चन्दननाथ नगरपालिकाका शिक्षा शाखाप्रमुख खडानन्द चौलागाई नगरपालिकाका कर्मचारीको कारणले नभई नगरप्रमुखले पत्र पठाएर खाता रोक्का गरेकाले समस्या भएको बताउँछन्। ‘नगरप्रमुखले खाता फुकुवाको पत्र नकाटेसम्म शिक्षकले तलब पाउने निश्चित छैन। उनले भने, ‘यस कार्यमा नगरप्रमुख सकारात्मक हुनुपर्ने देखिन्छ।’

प्रकाशित: २८ आश्विन २०७६ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App