६ वैशाख २०८१ बिहीबार
समाज

कठिन मोडमा केटो

चितवन राष्ट्रिय निकुञ्ज परिसरमा आमासँग हिँड्दै केटो। तस्बिरःनागरिक

चितवन - गत भदौमा बिसहजारी ताल गेट क्षेत्रको टिकौली नहरमा दुई वर्षभन्दा कम उमेरको गैंडाको बच्चा (केटो) को अवशेष भेटियो। भदौ १८ गते भेटिएको सो केटोलाई अर्को वयस्क गैंडाले हानेको वा गोहीले तानेर पानीमा पु-याएको हुन सक्ने अनुमान गरिएको छ। ढिला भेटिएको केटोको लिंग पहिचान हुन सकेन। प्राप्त अवशेषलाई आधार मानेर केटो एकदेखि दुई वर्ष उमेरको भएको प्राविधिकहरूले आँकलन गरे। यसपछि कात्तिकको १४ गते मध्यबिन्दु नगरपालिका–१५ मा दुई वर्षभन्दा कम उमेरकै पोथी केटो मरेको भेटिएको थियो।

गैंडाकमणबाट लागेको चोटले घाइते भएर केटो मरेको थियो। मृत भेटिएको अवशेष हेर्दा छातीमा प्वाल परेको, रगत जमेको, पेट र आन्द्रामा चोट लागेको देखिएको थियो। लगत्तै कात्तिक १९ गते चपरचुलीको बँदेल खोलामा एक महिनाको पोथी केटो गैंडाकै आक्रमणमा परी मरेको भेटियो। त्यसको पेट, छाती र खुट्टामा चोट लागेको पाइयो। माघ ६ गते पनि एक बर्से भाले केटो मेघौलीको गोलाघाटनजिकै मृत फेला परेको थियो। धेरै सडेको अवस्थामा भेटिएका कारण प्राविधिकले सो केटोको अवस्था र मर्नुको कारणबारे केही आँकलन गर्न सकेनन्।

भरतपुर महानगरपालिका–३ को नगर वनमा माघ १४ गते तीन महिनाको अर्को पोथी केटो पनि मृत भेटियो। फागुन १४ गते निकुञ्जभित्र खोरिया मुहान क्षेत्रमा दुई वर्षको पोथी केटो गैंडाकै आक्रमणमा परेर मरेको भेटियो। यस्तै सोही दिन कुमरोज क्षेत्रमा गोहीको आक्रमणमा परेर दुई हप्ताको भाले केटो घाइते भएको भेटिएको थियो। उपचारका क्रममा त्यो म-यो।

चोरीसिकारबाट गैंडा नमरे पनि चितवन राष्ट्रिय निकुञ्ज प्राकृतिक कारणबाट गैंडा मर्ने दर ह्वात्तै बढेको छ। प्रमुख बासस्थानमै अस्वाभाविक रूपमा गैंडा मर्नुले संरक्षणमा नयाँ प्रश्न उब्जिएको छ।

अर्को लिंग पहिचान हुन नसकेको करिब ६ महिनाको केटो कसरा सेक्टरको जमेली सीतामाई घाट क्षेत्रमा मृत भेटियो। केही ढिला भेटिएकाले मर्नुको खास कारण खुल्न सकेन। यसरी एक वर्षको अवधिमा मात्रै आठवटा केटो मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जानकारी दिए। यो एक वर्षको अवधिमा ४३ वटा गैंडा प्राकृतिक रूपमा मृत भेटिए। चितवन निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रवरपर मात्रै ४१ वटा गैंडा मृत भेटिए। निकुञ्जको भित्री (कोर) क्षेत्रमा ३४ र मध्यवर्ती क्षेत्रमा सातवटा गैंडा मरेको भेटिएको घिमिरे बताउँछन्। राष्ट्रिय वन क्षेत्रमा थप दुईवटा गैंडा मृत भेटिएका छन्।

चोरीसिकार हट्यो, प्राकृतिक मृत्यु बढ्यो

एक वर्षमा मृत भेटिएका ४३ गैंडामध्ये नौ भाले र १४ पोथी छन्। २० वटा गैंडाको लिंग पहिचान हुन सकेन। चितवन निकुञ्ज र यहाँको वनक्षेत्रमा प्राकृतिक कारणले ४३ वटा गैंडा मर्नुलाई गम्भीर विषय मानिएको छ। प्राकृतिक रूपमा गैंडा मरेको यो संख्या हालसम्मकै उच्च हो। यसअघिको आर्थिक वर्ष २०७४/०७५ मा २६ वटा गैंडा प्राकृतिक रूपमा मरेका थिए, जसमा चारवटा केटो रहेका थिए। गैंडाको आक्रमणमा परेर लागेको चोटका कारण आठ महिनाको पोथी, बाघको आक्रमणबाट करिब दुई वर्षको पोथी र बाघकै आक्रमणमा अर्को दुई वर्षको पोथी मरेका छन्। घाइते अवस्थामा उद्धार गरिएको भाले केटोको पनि उपचारका क्रममा मृत्यु भएको थियो। मृत भेटिएको २६ वटामध्ये १२ भाले र १० पोथी रहेका छन्। चारवटाको लिंग खुल्न सकेन।

चितवन निकुञ्जमा गैंडाको चोरीसिकारी प्रमुख समस्या रहेको थियो। आव २०५८/०५९ मा ३७ वटासम्म गैंडा चोरीसिकारीबाट मारिएकोमा ११ वटा प्राकृतिक रूपमा मरेका थिए। २०६७ पुस १९ पछि चितवन राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा गैंडाको चोरीसिकारबाट गैंडा मरेनन्। २०६८ पुस २३ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन निकुञ्जमा पहिलो ‘शुन्य सिकार वर्ष’ मनाएको थियो। त्यसपछि आव २०७१/०७२ र २०७२/०७३ मा चोरीसिकारबाट गैंडाको सिकार भएन। आव २०७३/०७४ मा एउटा गैंडा चोरीसिकारीबाट मारिएको थियो। त्यसपछि हालसम्म चोरीसिकारीबाट गैंडा मरेको भेटिएको छैन।

चोरीसिकारीबाट नमरे पनि प्राकृतिक कारणबाट गैंडा मर्ने दर ह्वात्तै बढेको छ। चितवन निकुञ्ज क्षेत्रमा आव २०५५/०५६ मा २३ वटा र आव २०५६/०५७ मा २८ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए। निकुञ्जको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा प्राकृतिक कारणले गैंडा मर्ने क्रम उकालो लागेको छ। आव २०७२/०७३ मा १५ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए। त्यसपछिका तीन वर्षमा क्रमशः २४, २६ र ४३ वटा पुगेको छ। पछिल्लो २२ वर्षको अवधिमा निकुञ्ज र यसवरपरका क्षेत्रमा चार सय ९८ वटा गैंडा मरेको तथ्यांक रहेको छ, जसमा तीन सय ३३ वटा प्राकृतिक कारणले र एक सय ६५ वटा चोरीसिकारका कारण मरेका छन्।

बूढो नभई गैंडा मर्नु चिन्ताजनक

प्राकृतिक कारणले मरेका सबै गैंडा उमेर पुगेर र बूढो भएर मरेका भने होइनन्। गत आव मरेका ४३ गैंडामध्ये अर्को वन्यजन्तुसँग लडाइँ गरेर नौ, बूढो भएर ६, संक्रमण भएर दुई र दुर्घटनामा परेर दुईवटा गैंडाको मृत्यु भएको थियो। दुर्घटनामा परेर मरेकोमा एउटा सेफ्टी ट्यांकीको खाडलमा परेर र एउटा भीरबाट लडेर मरेको हो। त्यसबाहेक निकुञ्ज प्रशासनले २३ वटा गैंडा मर्नुको कारण पत्ता लगाउन सकेको छैन। आव २०७४/०७५ मा २६ वटा गैंडा प्राकृतिक कारणले मरेको पाइएकोमा वन्यजन्तुसँग लडाइँ र आक्रमणमा परेर १०, बूढो भएर ६, दुर्घटनामा परेर एउटा र संक्रमण तथा बिरामी भएर ६ वटा गैंडा मरेको पाइएको थियो। दुईवटा गैंडा मर्नुको कारण भने पत्ता लाग्न सकेन।

आव २०७३÷०७४ मा प्राकृतिक कारणले २४ वटा गैंडा मरेकोमा पनि उमेर पुगेर मर्ने गैंडाको संख्या कम नै छ। त्यस वर्ष बूढो भएर मर्ने गैंडाको संख्या पाँचवटा रहेको छ। ११ वटा गैंडा अर्को गैंडाको आक्रमणमा परेर मरेको थियो। तीनवटा मर्नुको कारण भने खुल्न सकेन। विद्युतीय धरापमा परेर दुईवटा र बिरामी भएर एउटा गैंडा मरेको थियो। दुईवटा बालुवामा भासिएर मरेको भेटिएको थियो। यस वर्ष एउटा गैंडा चोरसिकारीले मारेका थिए।

स्तनधारी जीव परिवारमा पर्ने एकसिङे गैडा चार सय वर्षअघिसम्म पाकिस्तानदेखि म्यानमारसम्म पाइनेमा अहिले केही स्थानमा मात्र सीमित भएको गैंडाको विषयमा विद्यावारिधि गरेका डाक्टर नरेश सुवेदी बताउँछन्। इन्दुस, गंगा र ब्रह्मपुत्र नदी र यसका शाखा नदी वरपर बासस्थान बनाएर एकसिंगे गैंडा बस्दै आएको पाइन्थ्यो। अहिले एकसिङे गैंडा नेपाल र भारतका केही स्थानमा मात्र सीमित भएको छ।

नेपालमा पनि पूर्वदेखि पश्चिमसम्मको तराई क्षेत्र गैंडाको बासस्थान रहेको थियो। तराईको जंगल मासिनु र खागका लागि चोरीसिकार गर्नेहरू बढ्नुले गैंडाको संख्या घटेको उनी बताउँछन्। खानाको जोहो गर्न धेरै हिँड्नुपर्ने र पोथी गैंडाको खोजीमा धेरै चहार्नुपर्ने हुँदा तथा गैंडाको घनत्व धेरै भएर पनि गैंडा जुध्ने गर्छन्। ‘बासस्थान कसरी व्यवस्थापन भएको छ भन्ने महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘उपयुक्त बासस्थानमा थोरै क्षेत्रमा पनि धेरै गैंडा सहजै बस्न सक्छन्।’

ढिला भेटिन्छन् अवशेष

पछिल्लो वर्ष मृत भेटिएका ४३ गैंडामध्ये २० वटाको लिंग पहिचान हुन सकेन। २३ वटा गैंडा मर्नुको कारण नै खुल्न सकेन। प्राकृतिक रूपमा मृत भेटिएका आधाभन्दा बढी गैंडाको मृत्युको कारण खुल्न नसक्नुको पछाडि तिनीहरूको अवशेष ढिला भेटिनु रहेको छ। ४३ वटा गैंडामध्ये २६ वटा गैंडाको अवशेष गलिसकेको अवस्थामा फेला परेका छन्, जसमा एक वर्षभन्दा अघि मरेको गैंडा पनि रहेको अनुमान निकुञ्जले गरेको छ।

फागुन २१ गते देवीताल क्षेत्रमा भेटिएको अस्थिपञ्जर एक वर्षभन्दा अघि मरेको गैंडाको रहेको थियो। यस्तै, ६ महिनाभन्दा अघि मरेका गैंडा पनि धेरै नै छन्। यसरी मरेको लामो समयपछि अस्थिपञ्जर भेटिँदा मर्नुको कारण अनुमान र आँकलनसमेत गर्न सकिँदैन। प्रयोगशालाबाट अनुसन्धान गर्ने सम्भावना पनि नहुने वन्यजन्तुका चिकित्सक डाक्टर कमल गैरे बताउँछन्। हिउँदको चिसोमा डेढ÷दुई सातासम्म पनि गैंडाको शव कुहिसकेको हुँदैन। गर्मी मौसममा त एक सातामा नै गल्ने हुन्छ। यसरी सडीगली गएपछि मृत्युको कारण र भाले, पोथी पत्ता लगाउन नसकिने उनले बताए।

समयमै मृत शरीर भेटियो भने त्यसको परीक्षण र जाँचबुझ गरेर मृत्युको कारण पत्ता लगाउन सकिन्छ। ‘समयमा मरेको गैंडा पत्ता लागेन, देखिएन, भेटिएन भने मृत शरीर गल्दै जान्छ, कुहिएर नष्ट हुँदै जान्छ,’ उनी भन्छन्, ‘त्यसपछि मर्नुको कारण पनि पत्ता लगाउन कठिन हुन्छ।’ एक साताभित्रै भेटिए मृत्युको कारण आँकलन गर्न सजिलै सकिन्छ।

जनावरको मृत्युसँगै रोगव्याधिका कीटाणु, भाइरस पत्ता लगाउन समयमा नै नमुना लिइनुपर्छ। ३० वर्ष निकुञ्जमा काम गरेर अहिले सेवा निवृत्त भएका चिकित्सक डाक्टर गैरेको अनुभवमा गैंडा एउटा निश्चित ठाउँमा नबस्ने भई स्वतन्त्र रूपमा घुमफिर गरिरहन मन पराउने जीव हो।

बिरामी अथवा बूढो भएर थला पर्दा र घाइते भएर अशक्त हुँदा अरू गैंडाले पनि नभेट्ने एकान्त र एकै ठाउँमा बसिरहन रुचाउँछ। त्यस्तो बेला भित्री वन क्षेत्र, झाडीमा र पानीको घोलमा मरे समयमा नै भेटिन मुस्किल हुने उनले बताए। बूढो भएका, अशक्त कतिपय गैंडालाई निकुञ्जको सुरक्षा टोलीले निगरानी गरिरहेका हुन्छन्। निगरानीमा राखिएका गैंडा नदेख्दा तत्काल खोजी गर्दा तिनका मृत शरीर चाँडै भेटिन्छन्। निगरानीमा नपरेका, दुर्गम, सुरक्षा पोस्टनजिक नभएका स्थानमा भने गस्ती जाँदा र व्यापक खोजतलास गर्दा मात्र अवशेष फेला पर्न सक्ने सम्भावना हुने उनी बताउँछन्।

चितवन निकुञ्जमा रोग नै लागेर गैंडा मर्ने भनेको ज्यादै न्यून मात्र देखिएको डाक्टर गैरेको भनाइ छ। संक्रमण खालको खतरनाक रोगहरू खासै नदेखिएको उनले बताए। ‘वन्यजन्तु मरेपछि समयमा नै फेला पर्दैनन्, समयमा नै नमुना संकलन भएमा मात्र परीक्षण गर्न सम्भव हुन्छ,’ उनी भन्छन्, ‘राम्रा प्रयोगशालाको सहयोग भए मात्र बेलैमा पत्ता लगाउन सम्भव छ। नेपालमा पशुपन्छीको प्रयोगशाला कमजोर नै छ, त्यसमाथि पनि वन्यजन्तुको रोगव्याधि जाँच गर्ने त निकै कम छ।’ चितवन निकुञ्ज सुरक्षाका लागि विभिन्न स्थानमा ५५ वटा नेपाली सेनाका सुरक्षा पोस्ट छन्। रातको समयमा थप ५० वटा स्थानमा अस्थायी पोस्ट राख्ने गरिएको छ।

वन्यजन्तु संरक्षणकै लागि राज्यको तर्फबाट लगानी ठूलो रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्। हात्ती चढेर र पैदल गस्ती गरेर निकुञ्जमा वन्यजन्तुको निगरानी र खोजी गर्ने गरिन्छ। यसपटक देवीताल सफा गर्दा पुराना हाडखोरसमेत भेटिएको उनले बताए। गैंडा मरेको लामो समयपछि भेटिनुमा निकुञ्जकै कमजोरी भएको उनी स्वीकार्छन्। ‘स्मार्ट खालको गस्ती हुनुपर्छ भनेर निर्देशन पनि भएको छ तर सबै ठाउँमा गस्ती पुग्न नसकिने अवस्था अझै पनि छ,’ उनले भने, ‘कुनै वन्यजन्तु मरेको भए समयमा नै भेटियोस् भनेर गरिने स्विपिङ नियमित बनाउने प्रयास भइरहेको छ।’

गैंडालाई घोल र घाँस

गैंडा आहाल बस्न र पानीमा खेल्न मन पराउने जीव हो। ४० प्रतिशतभन्दा बढी काँस पाइने घाँसे मैदान क्षेत्रमा गैंडा बस्न रुचाउँछ। निकुञ्ज स्थापनाताका निकुञ्जमा २० प्रतिशत क्षेत्र घाँसेमैदान थिए। अहिले त्यो घटेर १० प्रतिशतमा सीमित भएको छ। निकुञ्जको नौ सय ३२ वर्गकिलोमिटर मध्ये करिब चार सय ५० वर्ग किलोमिटर मात्रै गैंडाका लागि उपयुक्त बासस्थान भएको गैंडाको अध्ययनकर्ता डाक्टर सुवेदीले जानकारी दिए।

‘सन् २००९ देखि २०१५ सम्म अध्ययन र निरीक्षण गर्दा चितवनको गैंडामा बह्रास र माइकेनियाको कारणले पारेको असर हेरेको थिएँ,’ उनले भने, ‘मेरो अध्ययनमा माइकेनिया (मिचाहा प्रजातिको झार) ले रैथाने घाँस प्रजाति सबै हराइदिएको छ। यसले बासस्थान बिग्रिराखेको छ।’ पहिले कसराबाट पूर्वपट्टि धेरै गैंडा बस्थे। निकुञ्जको करिब ६६ प्रतिशत गैंडा त्यतै रहेका थिए। तर अहिले पूर्वको बासस्थान बिग्रेर गैंडा कम भएका छन्। निकुञ्जको पश्चिम क्षेत्रमा गैंडा सरेका छन्। पहिलेको ठ्याक्कै उल्टो भएको छ, अर्थात् अहिले ६६ प्रतिशतजसो गैंडा पश्चिम क्षेत्रमा बसोबास गर्छन्।

गैंडालाई प्रशस्त मात्रामा घाँस चाहिन्छ। गैंडाको ४० प्रतिशतभन्दा बढी खान्की काँस हो। काँस, सिरु, नरकटलगायत घाँस नै यसको प्रमुख खान्की हो। सुक्खा समयमा घाँसको अभाव हुन्छ। त्यतिबेला कुटमेरोलगायत डाले घाँस पनि खान्छ। अहिले माइकेनियाले घाँस पनि नासेको छ। खानाकै लागि धेरै हिँड्नुपर्ने भए बढी तनाव हुने र गैंडाहरूबीच झगडा हुने क्रम बढ्ने डाक्टर सुवेदीले बताए। गैंडाले ४० प्रतिशत समय करिब खाना खान बिताउँछ। ३० प्रतिशत समय सुत्न उपयोग गर्छ।

चिसो मौसममा तीन प्रतिशत र सुक्खा समयमा २१ प्रतिशत समय आहाल बस्ने गैंडाका लागि घाँसजत्तिकै महŒव घोलले पनि राख्छ। गैंडाले १८ महिनासम्म गर्भमा राखेर बच्चा जन्माउँछ। खाने–सुत्ने धेरै गर्न पायो भने गैंडा स्वस्थ हुन्छ र बच्चा पनि धेरै पाउँछ। खानेकुरा खोज्न डुल्नमै अहिले गैंडाको समय र परिश्रम धेरै लागिरहेको उनले बताए।

गैंडाको प्राकृतिक र अस्वाभाविक मृत्यु धेरै बढेपछि चितवन निकुञ्जले आफ्नो क्षेत्रका पोखरी, घोल र घाँसे मैदान व्यवस्थापनमा ध्यान दिन थालेको छ। गत आर्थिक वर्षमा निकुञ्जले पानी भएका घोल र पोखरीलाई सरसरफाइसहित फराकिलो बनाउँदै ७१ वटा पोखरी सुधार गरेको छ। एक करोड ३६ लाख ५० हजार रुपैयाँ खर्च गरेर पोखरी सुधार गरिएको हो। निकुञ्जभित्रको टेम्पल, कसरा, देवीताल र इचर्नीमा दुई गरी पाँचवटा सिमसारसमेत यो वर्ष व्यवस्थापन गरिएको निकुञ्जका सूचना अधिकारी घिमिरे बताउँछन्।

२५ लाख रुपैयाँको बजेटमा सिमसार व्यवस्थापन गरिएका हुन्। निकुञ्जभित्रको टेम्पल, सुखीभार, कछुवानी, डुमरिया, भिम्ले क्षेत्रमा ८४ लाख १८ हजार रुपैयाँ खर्च गरेर करिब दुई सय हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको निकुञ्जले जनाएको छ। गैंडाको बासस्थान व्यवस्थापनमा ध्यान नदिँदा नै अहिलेको अवस्था आएको चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल बताउँछन्। यसअघि चोरीसिकार नियन्त्रणबाहेकका विषयमा खासै ध्यान नपुग्ग्दा घाँसे मैदान, पोखरी, घोल घट्ने र सुक्ने भएका थिए। यो वर्ष भने गैंडाको बासस्थान व्यवस्थापन घोल, पोखरी र घाँसे मैदान सुधारमा केही काम भएका छन्।

यो पर्याप्त नभए पनि बासस्थान सुधार हुँदा प्राकृतिक कारणले हुने गैंडाको अस्वाभाविक मृत्यु केही कम हुने उनको अपेक्षा छ। यस्तै कामलाई हरेक वर्ष प्राथमिकता दिनुपर्ने उनले बताए। २०७४ सालमा निकुञ्जमा बाढी आएको कारणले पनि गैंडाको बासस्थानमा धेरै क्षति पुगेको प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन्। ‘गत वर्षजस्तो अस्वाभाविक मृत्यु यो वर्ष नहोला,’ उनी भन्छन्, ‘यो वर्ष पनि यही संख्या दोहोरियो भने समस्या चुनौतीपूर्ण नै छ भनेर बुझ्नुपर्ने हुन्छ।’

विस्तृत अध्ययन र अनुसन्धान आवश्यक

पछिल्लोपटक सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा रहेको पाइएको थियो, जसमा एक सय ७८ वटा भाले, दुई सय ३७ वटा पोथी र दुई सय ३० वटाको लिंग छुट्टिएको थिएन। सो गणनामा एक सय २३ वटा केटो रहेको पाइएको थियो। चितवन निकुञ्ज र वरिपरिको क्षेत्रमा ६ सय पाँचवटा रहेकोमा एक सय ७० भाले, दुई सय २५ पोथी र दुई सय १० वटाको लिंग खुल्न नसकेको पाइएको थियो। निकुञ्ज क्षेत्रमा एक सय १६ वटा केटो भेटिएका थिए।

त्यसअघि सन् २०११ मा गरिएको गणनामा नेपालमा पाँच सय ३४ वटा गैंडा रहेकामा चितवन निकुञ्ज क्षेत्रमा पाँच सय तीन वटा गैंडा भेटिएका थिए। सन् २००८ को गणनामा नेपालमा दुई सय ४४ गैंडा रहेको पाइएकोमा एक सय ३८ वटा पोथी र एक सय ६ वटा भाले भेटिएको थियो। अरूको लिंग पहिचान हुन सकेको थिएन। चितवन निकुञ्ज क्षेत्रमा चार सय आठवटा गैंडा रहेको थियो। देशभर ८८ वटा केटो गैंडा भेटिएकोमा चितवन निकुञ्ज क्षेत्रमा ८० वटा केटो रहेका थिए।

यस्तै, सन् २००५ को गणनामा नेपालमा चार सय नौ गैंडा भेटिएकामा चितवन निकुञ्ज क्षेत्रका तीन सय ७२ रहेका थिए। सन् २००० मा नेपालमा ६ सय १२ गैंडा रहेकोमा चितवन निकुञ्जमा पाँच सय ४४ भेटिएका थिए। चितवन निकुञ्ज र यसवरपरका क्षेत्र नेपालमा गैंडाको प्रमुख बासस्थान हो। यसबाहेक पर्सा, बर्दिया निकुञ्ज र शुक्लाफाँटा आरक्षमा पनि केही संख्यामा गैंडा रहेका छन्। गैंडाको प्रमुख बासस्थानमै अस्वाभाविक रूपमा धेरै संख्यामा गैंडा मर्नुले गैंडा संरक्षणमा नयाँ प्रश्न उब्जिएको छ। त्यसमा पनि कम उमेरका केटो र पोथी गैंडा धेरै हुनुले गैंडाको संख्या वृद्धिमा नै प्रभाव पर्ने डाक्टर सुवेदी बताउँछन्।

गैंडाका लागि उपयुक्त बासस्थान बनाउन, नयाँ स्थानमा घोल बनाउन, घाँसे मैदान बन्न केही वर्षको फरकमा बाढी आएर नदी घुम्नुपर्ने उनले बताए। यसरी बाढी आउँदा ठाउँठाउँमा बन्ने घोल, दलदल गैंडालाई आवश्यक पर्छ। गैंडा बाढीमा आश्रित हुने प्रजाति भए पनि दुई वर्षअघि निकुञ्जमा गएको बाढीलाई नै अहिले प्राकृतिक रूपमा गैंडा मर्नुको कारक मानिनुलाई त्यसभित्रको सत्यता विस्तृतमा अध्ययन गरिनुपर्ने उनले बताए।

चितवन निकुञ्जमा मात्रै हेर्दा पनि निकुञ्जको पूर्वी क्षेत्रबाट पश्चिम क्षेत्रमा गैंडा किन सर्न थाले भनेर विस्तृत अध्ययन हुनुपर्ने आवश्यकता रहेको उनले बताए। प्राकृतिक कारणले यति धेरै संख्यामा गैंडा क्षति हुनु आफैंमा गहिराइमा पुगेर अध्ययन गरिनुपर्ने विषय हो। हुर्कंदै गरेको केटो र प्रजनन गर्ने पोथी धेरै संख्यामा मर्दा यसको प्रत्यक्ष असर दीर्घकालसम्म पर्ने सम्भावना अधिक रहने सुवेदीको भनाइ छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार अहिले राष्ट्रिय निकुञ्ज विभागको विज्ञ टोलीले यसबारे अनुसन्धान र अध्ययन गर्ने काम थालेको छ।

प्रकाशित: २८ आश्विन २०७६ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App