१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक महिनामा १० अर्ब जीवन बिमा शुल्क

काठमाडौं – चालु आर्थिक वर्ष ०७६/७७ को साउनमा मुलुकका जीवन बिमा कम्पनीहरुले १० अर्ब ५१ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क (प्रिमियम) संकलन गरेका छन्। १९ वटा जीवन बिमा कम्पनीले ७३ लाख ७८ हजार पाँच सय ६५ बिमालेख बिक्री गरी उक्त प्रिमियम रकम संकलन गरेको बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले जनाएको छ।

समितिका अनुसार हाल आजीवन जीवन बिमा, सावधिक जीवन बिमा, म्यादी जीवन बिमालगायत बिमा योजना सञ्चालनमा छन्। गत साउनमा सबैभन्दा बढी बिमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ। नेपाल लाइफले गत साउनमा चार अर्ब एक करोड ४६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। कम्पनीले १७ प्रकारका जीवन बिमालेख जारी गरेको छ।

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (एलआइसी) नेपाल एक अर्ब ११ करोड ३९ लाख रुपैयाँ बिमा शुल्क रकम संकलन गरी दोस्रो नम्बरमा छ। एलआइसी नेपालले १३ प्रकारका जीवन बिमालेख बिक्री गर्छ।

समितिका अनुसार तेस्रो बढी बिमाशुल्क संकलन गर्ने कम्पनीमा नेसनल लाइफ इन्स्योरेन्स छ। १९ प्रकारका जीवन बिमा गराउँदै आएको यो कम्पनीले साउनमा ८२ करोड ४९ लाख रुपैयाँ बिमाशुल्क रकम संकलन गरेको छ।

चौथो स्थानमा रहेको आइएमई लाइफ इन्स्योरेन्सले ६३ करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको समितिले जानकारी दिएको छ। यो कम्पनीले ११ प्रकारका जीवन बिमालेख बिक्री गर्छ। त्यसैगरी, प्रभु लाइफइन्स्योरेन्स ६२ करोड ५१ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरी पाँचौं स्थानमा छ। प्रभु लाइफले आठ प्रकारका जीवन बिमालेख बिक्री गर्छ।

समितिका अनुसार छैटौं स्थानमा रहेको अमेरिकन लाइफ इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ। यो कम्पनीले १२ प्रकारका जीवन बिमा गराउँदै आएको जनाएको छ।

सातौं स्थानमा रहेको सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानले ३३ करोड १८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। संस्थानले १० प्रकारका जीवन बिमालेख बिक्री गर्छ।

२० प्रकारका जीवन बिमालेख बिक्री गर्ने एसियन लाइफ इन्स्योरेन्स २७ करोड ४० लाख २० रुपैयाँ बिमाशुल्क आर्जन गरी आठौं स्थानमा रहेको छ। नवौं स्थानमा रहेको प्राइम लाइफ इन्स्योरेन्सले २७ करोड ७६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको जनाएको छ। प्राइम लाइफले १५ प्रकारका जीवन बिमालेख जारी गरेको छ।

युनियन लाइफ इन्स्योरेन्सले २६ करोड २१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरी दसौं स्थानमा छ। यो कम्पनीले १० किसिमका जीवन बिमालेख बिक्री गर्छ।

प्रकाशित: २८ आश्विन २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App