coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

करातेमा प्रशिक्षण विवाद

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका नेपाली राष्ट्रिय कराते टोलीको प्रशिक्षणका क्रममा सोमबार विवाद भएको छ।  राष्ट्रिय खेलकुद परिषद्् (राखेप) द्वारा नियुक्त गरिएका प्रशिक्षकले सोमबार प्रशिक्षण गर्ने तयारी गरिरहँदा नेपाल कराते महासंघका सदस्यद्वय ध्वजमान मोक्तान र रवि महर्जनले अवरोध पु¥याउन खोजेपछि विवाद सिर्जना भएको आरोप लागेको छ।

विवाद हुने भएपछि टोलीमा रहेका अन्य प्रशिक्षकले तालिम स्थल छोडे पनि दुई प्रशिक्षक कुशल श्रेष्ठ र तारा गुरुङबीच मोक्तान र महर्जनको विवाद भएको थियो। सोही क्रममा विवाद उत्कर्षमा पुगेपछि कराते प्रशिक्षक कुशल श्रेष्ठले आफ्नो ज्यानको सुरक्षा पाऊँ भन्दै सातदोबाटोमा प्रहरी विभागमा निवेदन दर्ता गराएका छन्। श्रेष्ठले प्रशिक्षण गर्ने क्रममा महासंघका सदस्य रवि महर्जनले आफूमाथि सुरक्षा चुनौती दिएपछि प्रहरी समक्ष निवेदन दर्ता गराएको स्विकारेका छन्।

विवाद उत्कर्षमा पुगेपछि कराते प्रशिक्षक कुशल श्रेष्ठले आफ्नो ज्यानको सुरक्षा पाऊँ भन्दै सातदोबाटोमा प्रहरी विभागमा निवेदन दर्ता गराएका छन्।

‘हामी नियमित जसो प्रशिक्षण गराउने तयारीमा थियौं। सोही समयमा ध्वजमान मोक्तान र रवि महर्जनले प्रशिक्षण रोक्न भनेका थिए। हामीसँगै भएका अन्य प्रशिक्षकले त्यहाँबाट केही नभनी जानुभयो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘हामीले राखेपबाट नियुक्तिपत्र पाएकाले प्रशिक्षण रोक्नुपर्ने अवस्था नभएको बताएका थियौं। सोही क्रममा रविले ममाथि खतरा हुन सक्ने भन्दै चुनौती दिए। सोही कारण प्रहरीसमक्ष निवेदन दर्ता गराएका हौं।’

रवि महर्जन पनि पूर्वखेलाडी तथा राष्ट्रिय टिमका व्यवस्थापकसमेत हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागले करातेको राष्ट्रिय टोली प्रशिक्षणका लागि कुशल श्रेष्ठसहित ७ जना प्रशिक्षक नियुक्त गरेको छ।  तर, ध्वजमानले भने महासंघबाट पठाएको प्रशिक्षकबाट प्रशिक्षण गर्न रोक्दा सामान्य विवाद भएको बताएका छन्।

‘नेपाल कराते महासंघबाट १२ जना प्रशिक्षक पठाएका छौं। हामीले पठाएको लिस्टमा तारा गुरुङको नाम समावेश छैन,’ ध्वजमानले भने, ‘त्यसैले हामीले तत्कालका लागि प्रशिक्षण रोक्न अनुरोध गरेका थियौं। सोही कारण विवाद सिर्जना भएका हुन्।’ महासंघकै अर्का प्रतिनिधि ओमकृष्ण प्रसाईले भने महासंघको बैठकबाट १२ प्रशिक्षक सिफारिस नगरिएको दाबी गरेका छन्।

ध्वजमानले भनेजस्तो एउटा पत्रमा १२ जना प्रशिक्षकको नाम सिफारिस भए पनि महासंघका  सहअध्यक्ष दावा गुरुङ र  महासचिव हरिशरण केसीको हस्ताक्षर भने छैन।  यता, महासंघभित्रै व्यक्तिगत स्वार्थका कारण १३औं सागको तयारीमा रहेका खेलाडीको प्रशिक्षण प्रभावित भइरहेको छ।

साथै प्रशिक्षकले पनि असुरक्षाको महसुस गर्नुपरेको छ। दशै बिदापछि १३औं सागको तयारीमा रहेको राष्ट्रिय टोली सोमबारदेखि पूर्ण प्रशिक्षणको तयारीमा थियो। गत शुक्रबार सामान्य प्रशिक्षण भए पनि चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा शनिबार र आइतबार प्रशिक्षण भएको थिएन।

सोमबारबाट पूर्ण रूपमा प्रशिक्षण गर्ने तयारीमा करातेका खेलाडी थिए। तर, सोमबारको बिहानी सत्रको प्रशिक्षणमै विवादसँगै प्रशिक्षण पनि अवरोध भयो। जसका कारण खेलाडीले मानसिक दबाब परेको भन्दै सोमबार बेलुका प्रशिक्षण गर्न अस्वीकार गरेका थिए। राष्ट्रिय टिम तयारी समितिका निर्देशक महेन्द्र राईले सामान्य विवाद भएकाले प्रशासनिक रूपमा सामाधान हुने दाबी गरेका छन्।

‘सामान्य विवाद भएको रहेछ। प्रशिक्षकद्वय कुशल र ताराले विभाग या राखेपमा जानकारी गराउनु भएको भए बिवाद बढ्ने थिएन,’ राईले भने, ‘समस्या समाधानतर्पm ध्यान नदिँदा ठूलो रूप लियो। यो समस्या छिटै समाधान हुन्छ।’ १३औं सागमा करातेबाट स्वर्णसहित धेरै पदक आशा गरिए पनि महासंघभित्रको विवादका कारण खेलाडीको लक्ष्यमा तुषारापात भइरहेको छ।

प्रकाशित: २८ आश्विन २०७६ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App