coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेतृत्वमा पन्त र आचार्यबीच प्रतिस्पर्धा

गैरआवासीय नेपाली संघका अध्यक्ष पदका प्रत्यासी कुल आचार्य र कुमार पन्थ (बायाँबाट क्रमशः)

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा महाअधिवेशन मंगलबार काठमाडौंमा सुरु हुँदैछ। संघले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी सम्मेलनको तयारी पूरा भएको जनाएको छ।

संघका महासचिव बद्रि केसीले सम्मेलनमा २५ सय प्रतिनिधि सहभागी हुने बताए। ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ नारासहित आयोजना गरिएको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी हुने संघले जनाएको छ। राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन ३० गतेसम्म चल्नेछ। सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीलाई समेट्ने क्रममा संघले ८१ मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषद् गठन गरिसकेको छ।

यो महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्वसमेत चयन गर्नेछ। आगामी नेतृत्वका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन्। पन्तको जन्म घर गोरखा हो। आचार्य पर्वतका हुन्।

आचार्यले  सोमबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्यानल घोषणा गरेका छन्। आचार्य प्यानलबाट महासचिवमा जानकी गुरुङ (बेल्जियम), उपाध्यक्षमा केशव पौडेल (अमेरिका), मन केसी (अस्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र महिला उपाध्यक्षमा रबिना थापा (अमेरिका)ले उम्मेदवारी दिने घोषणा गरेका छन्। कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिनेछन्।

अध्यक्षका अर्का प्रत्यासी पन्तले आफ्नो उम्मेदवारी घोषणा गरे पनि औपचारिक रुपमा प्यानल घोषणा गरेका छैनन्। यद्यपि पन्तको प्यानलबाट महासचिवमा हेमराज शर्मा (बेलायत), उपाध्यक्षमा बद्रि केसी (रसिया), स्वनाम लामा (अमेरिका), महिला उपाध्यक्षमा सपिला राजभण्डारी (रसिया),  सचिव गौरी जोशी (अमेरिका) र कोषाध्यक्षमा महेश श्रेष्ठ (जापान)ले उम्मेदवारी दिने तयारी गरिरहेको बताइएको छ। औपचारिक रुपमा घोषणा भने भएको छैन।

यसैबीच, संघले बालुवाटारस्थित भवन निर्माणका लागि खरिद गरिएको जग्गामा सर्वसाधरण नेपाली जस्तै गैरआवासीय नेपाली ठगिएको बताएको छ। पत्रकार सम्मेलनमा संघका महासचिव बद्रि केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफूहरु ठगिएको बताएका हुन्। विदेशमा बस्ने भएकाले नेपालका कानुनबारे धेरै जानकार नरहेको भन्दै उनले संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा जग्गा खरिद गरेको र सो क्रममा नेपाल सरकारले ५० लाखभन्दा बढी मिनाहा दिएको पनि जानकारी दिए। तर, जग्गा खरिद गर्ने क्रममा आफू ठगिएको गुनासो गरे। उनले भने ‘जसरी सर्वसाधरण जनता ठगिन्छन् त्यसैगरी आज नेपालमा गैरआवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्न चाहन्छु।’

प्रकाशित: २८ आश्विन २०७६ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App