coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा.केसीको समर्थनमा भरतपुरका चिकित्सकहरुको र्‍याली र सभा

भरतपुर चौविसकोठीमा चिकित्सकहरुले सोमबार बिहान डा.केसीको मागको समर्थनमा निकालेको र्‍याली।

चितवन–चिकित्सा शिक्षामा सुधारको माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको मागको समर्थनमा सोमबार बिहान भरतपुरमा चिकितसकहरुले र्‍याली र सभा गरेका छन्। अनशन बसेको लामो समय हुँदा पनि सरकारले मागको सम्बन्धमा ठोस कदम नचालेको हुँदा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतवानी चिकित्सकहरुले दिए।

‘डा.केसी अनशन बसेको आज आधा महिनाभन्दा बढी भयो। उहाँका मागहरु जायज छन्। तर सरकार माग पूरा गर्न आलटाल गरेर उहाँकै जिवन जोखिममा पारेको छ। यो अवस्था हामी हेरेर मात्रै बस्न सक्दैनौं’, नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा.कृष्ण पौडेलले भने। डाक्टर केसी १० औं पटक अनशनमा छन् । उनले अनशन सुरु गरेको सोमबार १६ औं दिन पूरा भएको छ।

‘यहाँको माग गरिबले पनि गुणस्तरीय स्वास्थ्य सुविधा पाउनु पर्छ । क्षमता हुनेले पैसा नभए पनि मेडिकल शिक्षा पढ्न पाउनु पर्छ भन्ने विषयसँग् सम्बन्धित छ। यस्तो जनमुखि माग सरकारले पूरा गर्नै पर्छ’, नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा.प्रकास खतिवडाले भने। जनताको मागसँग जोडिएको विषय नसुन्ने सरकारका विरुद्ध दवाव बढाउनु आवश्यक रहेको उनले बताए।

‘ढुंगा मुढा, चक्का जाम तोडफोडको भाषा नबोलेर जनताको सरोकारको विषयमा सत्याग्रहलाई साथ लिएर अनशनमा बसेका डा.गोविन्द केसीका पक्षमा युवाले पनि शालिन रुपमा सशक्त दवाव सिर्जना गर्ने बेला आएको छ’, सभामा बोल्दै डा.कालिदास अधिकारीले भने। ‘सवै युवाले राजनीतिक आन्दोलनमा साथ दिएकै हुन अब सामाजिक अभियानमा पनि शालिन्ता पुर्वक लागौं’, उनले भने।

नेपाल चिकित्सक संघ चितवनका सचिव डा.भोजराज अधिकारीले डा.केसीको माग पूरा गरे स्वास्थ्य शिक्षा र सेवा सवैको पहुँचमा पुग्ने बताए । ‘डा.केसीको माग र अभियान प्रति वेवासता गर्नु भनेको माफियाहरुको चाहना पूरा गराउने तर्फ लाग्नु हो’, डा.अधिकारीले भने । समाजसेवी प्रेम रिमालले डा.केसी नरहे माफिया तन्त्र मौलाउने खतरा बढ्ने बताए ।

चिकित्सक संघले मंगलबार बिहान पनि प्रदर्शन गर्ने भएको छ । मंगलबार बिहान भरतपुरदेखि नारायणगढसम्म प्रदर्शन र सभाको आयोजना गरेको संघका जिल्ला उपाध्यक्ष डा.केशव पौडेलले जानकारी दिए। डा.केसीको अभियान र उनको मागको सम्बन्धमा जनसर्मथन बढाउँदै लैजाने अभियानमा संघ लागेको उनले बताए।

डा.केसीको मागको सम्बन्धमा नागरिक स्तरबाट पनि प्रदर्शन हुँदै आएको छ।  माग पुरा नहुँदासम्म सोलिडारिटी फरक डाक्टर गोविन्द केसी एलाइन्सले चौबिस कोठीमा साँझ पाँच बजेदखि आधा घण्टासम्म प्रदर्शन गर्दै आएको छ। एलाइन्सले डा.केसीको आठौं अनशनदेखि नै प्रर्दशन गर्दै आएको छ । डा.केसीको माग जनताको पक्षमा भएका कारण सरकारले पुरा गर्नु पर्ने संयोजक घिमिरेले बताए।

प्रकाशित: १३ मंसिर २०७३ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App