८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषध कारोबारीसँग हतियार पनि भेटियो

धरान– धरानमा डेरा जमाएर लागुऔषध कारोबारमा संलग्न एक कारोबारीलाई ठूलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानले आइतबार राती धरान १० विशाल पथस्थित डेराबाट २३ बर्षीय निरजकुमार राउतलाई पक्राउ गरेको हो। उनको साथबाट ठूलो परिणाममा लागुऔषधसँगै पेस्तोल, म्याग्जिन र गोलीसमेत बरामद भएको छ। करिब ३ महिनाको अवधिमा लागुऔषध कारोबारीसँग हतियार पनि फेला परेको यो दोस्रो पटक हो। लागुऔषध कारोबारीसँग हतियार पनि भेटिनु प्रहरीको लागि पनि रहस्य बनेको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। ‘लागुऔषध कारोबारमा संलग्नसँग हतियार पनि भेटिएको छ, यसको कनेक्सनबारे हामी गम्भीर भएर अनुसन्धानमा जुटेका छौं’, धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने।

आइतबार पक्राउ परेका राउतको खास घर सुनसरीको कोशी गाउँपालिका ३, पश्चिम कुसाहा हो। उनी यसअघि पनि २ पटक लागुऔषधसहित पक्राउ परिसकेका थिए। उनलाई पहिलो पटक २०७२ माघ २२ गते लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर मुद्दा चलाएको थियो। त्यो बेला राउत धरौटीमा रिहा भएका थिए। उनी पुनः २०७४ असोज ७ गते जिल्ला प्रहरी कार्यालयबाट नै लागुऔषधसहित पक्राउ परेका थिए। दोस्रो पटक भने उनी १८ महिना कैदमा बसेर छुटेका थिए। ‘भारतको वीरपुरबाट पेस्तोल १२ हजारमा किनेको स्वीकार गरिसकेको छ, तर उसले किन किनेर ल्यायो भन्ने अनुसन्धानको क्रममा छौं’, डिएसपी न्यौपानेले भने। 

यसअघि, गत असार १२ गते धरान ११ र १५ बाट प्रहरीले धरान १५ सरोज गुरुङ, विजय राई र सुरेश राईलाई हतियार, गोली र लागुऔषधसहित पक्राउ गरेको थियो। उनीहरुबाट भारतमा बनेको ह्याण्डमेड अटोमेटिक पेस्तोल २ थान, म्यागजिन एक थान, ०७ लेखिएको पेस्तोलको गोली १० थान, ७.६२ लेखिएको एसएलआरमा प्रयोग हुने गोली १४ थान र ७.६५ लेखिएको गोली एक थान बरामद भएको थियो। 

डेराबाट नै लागुऔषध कारोबार

आइतबार राती पक्राउ परेका राउत धरान १०, विशाल पथस्थित बलबहादुर तामाङको घरमा डेरा गरी बसेका थिए। राउतले त्यहीँबाट लागुऔषधको कारोबार गर्थे। डिएसपी न्यौपानेका अनुसार क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालयबाट ५ दिनको रेकी पछि राउतलाई पक्राउ गरिएको हो।

राउतको डेरा कोठामा खानतलासी लिँदा बक्स पलंगको भित्रपटी रहेको बक्स कोठाहरुमा कालो प्लाष्टिक झोलामा लागुऔषध र हतियार लुकाएको अवस्थामा वरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए। ‘धरानमा लागुऔषध सेवनकर्ता धेरै छन्, तर यो परिणाम हेर्दा यहाँ संकलन गरेर कारोबार गर्ने गरेको हो कि भन्ने अनुमान गरेका छौं, उसको कारोबारबारे पनि अनुसन्धान हुन्छ’, डिएसपी न्यौपानेले भने,‘पटक पटक गरेर संकलन गरेको देखिन्छ।’

प्रहरीका अनुसार फलामलाई बेरेर काठको बिड लगाएको, नम्बर र बनेको देशको नाम केरमेट गरेको अवस्थाको एउटा पेस्तोल, एक थान म्याग्जिन  ७.६५ लेखिएको १३ राउण्ड गोली वरामद भएको छ। यस्तै, डाइलक्स डिसि १०० एमएलको २२५ बोतल, नाइट्रोसन १० लेखिएको ६४० ट्याब्लेट, खैरो हेरोइन ७ ग्राम र स्पास्मो प्रोक्सिभन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए। 

यसैगरी, तौल गर्ने सानो मेशिन १ थान, मोटरसाइकलको भारतीय नम्बर प्लेट १ थान, डायरी १ थान, मोवाइल, ट्याब र नगद ११ हजार ३ सय ३० रुपैया पनि बरामद भएको प्रहरीले जनाएको छ। राउतलाई लागुऔषध र हातहातियार तथा खरखजना मुद्दा चलाइने डिएसपी न्यौपानेले बताए।

प्रकाशित: २७ आश्विन २०७६ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App