अजिंगर र हात्तीको नृत्यमा नेपाल

सोमबार, २७ असोज २०७६, १२ : ५८ रमेशनाथ पाण्डे

पैंसट्ठी वर्षसम्म आत्मकेन्द्रित भएर बसेको चीनले सी चिनफिङको नेतृत्वमा विश्वको दोस्रो आर्थिक महाशक्ति बनेपछि ६ वर्षअघि सुरु गरेको सक्रिय परराष्ट्र नीतिको अभ्यास दक्षिण एसिया आइपुगेको छ। दक्षिण भारतको मामल्लापुरबाट राष्ट्रपति सी नेपालतर्फ लागेपछि राति १० बजे भारतका लागि चिनियाँँ राजदूतले ट्विट गरे, ‘हात मिलाएर चीन र भारत सँगै उभिए, अजिंगर र हात्तीको नृत्य सुरु भयो।’ समय र बिम्ब चयनले कूटनीतिज्ञको अभिव्यक्तिलाई अर्थपूर्ण बनाएको छ। यसैले प्रश्न छ— वेगवान् लय र तेज गतिमा हुने दक्षिण अमेरिकी नृत्य टेंगोमा रमाउन थालेका अजिंगर र हात्तीको बीचमा बसेको नेपाल नृत्यमा सहभागी हुन्छ अथवा निरपेक्षी दर्शक बनेर बस्छ ? नेपालको आन्तरिक राजनीतिको चरित्र, राज्यको शासकीय शैली र दुईतिहाइ बहुमतको आड भएको सरकारको परराष्ट्र नीतिअगाडि दूरगामी महत्वको धारिलो प्रश्न खडा भएको छ।

विगत इतिहास हो, इतिहास भविष्य हो। इतिहासको शृंखलालाई अटुट राखेर मात्रै भविष्यलाई सुरक्षित बनाउन सकिन्छ। इतिहासको निरन्तरताका लागि नेपाल चीन सम्बन्धको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक विरासतका तीनवटा तथ्य सदा स्मरणीय हुन्छन्–

१) स्वयम्भू पुराणअनुसार इतिहासपूर्व काठमाडौं उपत्यका विशाल जलाशय थियो। चीनका चार पवित्र पहाडमध्येको माउन्ट उताईबाट तीर्थ गर्न आएका महामञ्जुश्रीले दैवीशक्तियुक्त अतिप्रज्वलित तलवारले चोभारको डाँडो काटेर पानीलाई निकास दिएपछि काठमाडौं उपत्यकामा मानव बस्ती सुरु भयो। मैले परराष्ट्र«मन्त्रीको हैसियतमा नेपाली जनताका तर्फबाट चिनियाँ जनतालाई महामञ्जुश्रीको एक हजार दुई सय किलोग्रामको अग्लो मूर्ति उपहार दिएको थिएँ। साङ जी प्रान्तको यु ताइसानस्थित युआन काओबिहारमा नवनिर्मित मन्दिरमा २०६२ साल भदौ ४ गते यो मूर्तिलाई मैले स्थापना गरेको थिएँ।

सोही समारोहमा प्रान्तका गभर्नर सोङ विसनले प्रत्येक वर्ष भदौ महिनामा महामञ्जुश्रीको मूर्तिलाई नगर परिक्रमा गराइने घोषणा गर्नुभएको थियो। यसले नेपाल चीन सम्बन्धको असाधारण पक्षप्रति भविष्यका पुस्ताहरूलाई सचेत गराइरहनेछ।

२) दौत्यसम्बन्ध जोडिएको पाँच वर्षपछि दोस्रो पटक नेपाल आएका चीनका प्रथम प्रधानमन्त्री चाउ एन लाई नेपालको पहिलो संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने एकमात्र विदेशी नेता हुनुहुन्थ्यो। उहाँले भन्नुभएको थियो, ‘भिन्न सामाजिक व्यवस्था भएका देशहरूबीच शान्तिपूर्ण सहअस्तित्वको आधारमा सम्बन्ध बनाउने उदाहरण नेपाल र चीनले प्रस्तुत गरेका छन्।’

३) क्रान्ति दिवस १ अक्टुबर १९६१ को जनप्रदर्शनमा तिनामेन स्क्वायरमा उभिएर अभिवादन लिँदा अध्यक्ष माओ त्से तुङल आफ्नो दायाँपट्टि राजा महेन्द्रलाई राखेर दिएको सम्मान जनवादी गणतन्त्र चीनले ७० वर्षसम्म अरू कुनै पनि विदेशी नेतालाई दिएको छैन।

यी तथ्यहरूलाई व्यवहारमा अगाडि बढाउँदै चीनका प्रथम परराष्ट्रमन्त्री मार्सल चेन यीले २३ नोभेम्बर १९६२ मा घोषणा गरेका थिए, ‘आफ्नो सार्वभौमिकता रक्षा गर्ने नेपाली जनताको निरन्तरको संघर्षमा चिनियाँ जनताको हार्दिक सम्मान छ। नेपाली जनताले ६५ करोड चिनियाँ जनताको दृढतापूर्ण समर्थनमा सधैं भर गर्न सक्छन्।’ नेपाल आउने अघिल्लो दिन चीनका सातौं राष्ट्रपति सी चिनफिडले इतिहासको यो शृंखलालाई निरन्तरता दिँदै भने, ‘चीनले राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, अखण्डता रक्षा गर्न र देशको अवस्थाअनुरूप विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ।’ चिनियाँ भनाइ छ, ‘एउटा पुस्ताले बिरुवा रोप्छ, नयाँ पुस्ताहरूले छहारी पाउँछन्।’

२०२९ पुसमा बेइजिङको ग्रेट हल अफ द पिपुलमा भेट हुँदा प्रधानमन्त्री चाउ एन लाईलाई मैले तेस्रो पटक नेपाल भ्रमण गर्न आग्रह गरेको थिएँ। प्रत्युत्तरमा उहाँले ‘सोभैm हिमालयमाथिबाट उडेर आउने सुविधा भएपछि नेपाल आउने’ भनी परिष्कृत कूटनीतिक शैलीमा मलाई नेपालको भूस्थापन र चीनको सामरिक सोच बताउनुभएको थियो। यसैलाई आधार बनाएर २०४४ सालमा पर्यटनमन्त्रीको हैसियतमा मैले गरेको वार्तापछि तिब्बतमा सोझो विमान सम्पर्क भएको एकमात्र देश नेपाल बनेको थियो। चीनका चौथो प्रधानमन्त्री ली फङ २०४६ सालमा यही आकाश मार्गबाट नेपाल आउनुभएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङ पछिल्लो साता पाकिस्तानका प्रधानमन्त्रीलाई बेइजिडमा स्वागत गरेर, भारतका प्रधानमन्त्रीसँग हिन्दुहरूको पवित्र ग्रन्थ पुराण र महाभारतसँग जोडिएको मामल्लापुरममा ६ वर्षमा सत्रौं पटक भेटेपछि अस्ति नेपाल आउनुभयो। हिजो नेपालबाट सोझै चीन फर्किनुभयो। नेपालका लागि यसको कूटनीतिक अर्थ तथा सामरिक संलिप्तता (इम्प्लिकेसन्स) दूरगामी महत्वको छ।

चीनले विश्व आर्थिक महाशक्तिको आफ्नो हैसियतलाई विश्व राजनीतिको निर्णायक शक्तिको रूपमा स्थापित गर्ने अजेन्डा सी चिनफिडको नेतृत्वको सुरुमा नै खुलस्त भइसकेको थियो। चीन भारतसँगको सम्बन्धलाई प्राथमिकता दिन्छ। भारतका लागि चिनियाँ राजदूतले पछिल्लो साता गरेको ट्विटअनुसार अहिले भारतमा चीनका एक हजार कम्पनी सक्रिय छन्, आठ अर्ब डलरको लगानी छ र यसबाट दुई लाखभन्दा बढी भारतीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। भारतको गणितीय राजनीति र बजारको दृष्टिमा तीन अति प्रभावशाली प्रान्तको एकमात्र छिमेकी नेपाललाई चीन दक्षिण एसिया प्रवेशको ढोका बनाउन चाहन्छ। साथै विश्व नेतृत्वतिर अघि बढिरहेको चीनको पाइला रोक्न आतुर अमेरिकी खेमामा भारत नजाओस् भन्ने पनि बेइजिङको चाहना छ।

साबिकबमोजिमको कूटनीतिक ज्ञानले यसलाई परस्पर विरोधी चाहना मान्छ तर सामरिक योजनाअनुकूल विरोधात्मक नीति सञ्चालन गर्न शक्तिशाली देशहरू सक्षम हुन्छन्। दक्षिण भारतमा चिनियाँँ राष्ट्रपतिले ‘भारत र चीनले एकअर्काको विकासलाई सही रूपमा लिनुपर्छ र सामरिक पत्यारलाई बढाउनु पर्छ’ भन्नुभएको थियो। प्रधानमन्त्री मोदीले ‘भारत र चीनबीच सामरिक सचार सम्पर्क बढेको’ जानकारी दिनुभएको थियो। यी दुई भनाइले एसियाको शताब्दी बन्न थालेको २१औं शताब्दीलाई सर्वाधिक प्रभाव पार्ने हैसियत भएका यी दुई नेता आफ्नो सामरिक योजनामा अर्कोलाई सकेसम्म सहयोगी बनाउने सोचबाट निर्देशित रहेको संकेत गरेका छन्। यसमा सहयोग र प्रतिस्पर्धा, साझेदारी र अविश्वास एकसाथ बसेका छन्। दुवैको सामरिक हित दाउमा परेको नेपालका लागि विकसित भइरहेको स्थिति विचारणीय छ। यसमा नेपालको भविष्यको हित हुने अवसरसँगै इतिहासलाई जोखिममा पार्ने खतरा पनि समावेश छ।

काठमाडौं आएपछि दुई घन्टाभित्रै दिएको सार्वजनिक वक्तव्यमा उहाँले भूपरिवेष्ठित मुलुक हुनुको पीडाबाट मुक्त हुने नेपालको सपना पूरा गर्न सहयोग दिने प्रतिबद्धता जनाउनु यो भ्रमणको सबैभन्दा ठोस र दूरगामी महत्वको परिणाम हो। यसलाई एकलकाटे सोचबाट बुझ्नुहुँदैन। यो प्रतिबद्धतामा दक्षिण एसियाको बजारमा पुग्न नेपाललाई ढोका बनाउने चिनियाँ सोचको अभिव्यक्ति आधिकारिक रूपमा प्रकट भएको छ। यसलाई संयमी र सिपालु कूटनीतिद्वारा विश्वका दुई ठूला बजारहरूको पुल बन्ने नेपालको सपना साकार तुल्याउन सकिन्छ। तर यसलाई आत्मप्रशंसा र अनर्गल प्रपोगान्डाको विषय बनाइयो भने जोखिम तिखारिन थाल्नेछ।

दक्षिण एसियाका सबै देशको भ्रमण गरिसकेको धेरैपछि विश्वको आर्थिक महाशक्ति राष्ट्रको प्रमुखलाई स्वागत गर्ने अवसरको भावनात्मक उत्तेजनामा कूटनीतिको परिष्करणलाई ओझलमा पार्नु हुँदैन भन्ने कुरामा नेपाल सरकारले हेक्का राखेन। समकालीन विश्वको कूटनीतिक व्यवहारमा कर्मकाण्डी प्रवृत्तिलाई परिणाममुखी प्रत्यक्ष कूटनीतिले विस्थापित गरेको तथ्य चटक्कै बिर्सियो। शीर्षस्थ नेताहरूबीच अनौपचारिक वातावरणमा सहायकहरूबिना हुने कुराकानी, यसबाट हुर्किने निकटता, वृद्धि हुने पत्यारको सञ्चिति दुई देशलाई घनिष्ट बनाउन प्रभावशाली हुन्छन्। विगतमा राष्ट्रप्रमुखको भ्रमण कार्यक्रम पन्ध्र दिनपहिले सार्वजनिक हुन्थ्यो, तेईस वर्षअघि चिनियाँ राष्ट्रपतिको तीनदिने भ्रमण कार्यक्रम पन्ध्र दिनअघि सार्वजनिक भएको थियो।

यसपटक २० घन्टाको भ्रमणको तिथि दुई दिनअघिमात्र घोषित भयो। यसमा सुरक्षा सतर्कताको बन्देज त थियो नै तर स्वागत गर्न आतुर रहेको वर्षौंदेखि दोहो-याउँदै आएको नेपालले विशिष्ट पाहुनाको सुरक्षा गर्न आफू सक्षम रहेको विश्वास दिलाउन नसकेर चिनियाँ सेनाद्वारा काठमाडौंमा गस्ती गराउनुप¥यो। यसले नेपालको शिर निहुरिएको छ। साथै यसबाट एउटा गलत परम्पराको थालनी पनि भएको छ। अर्कोतिर औपचारिकता निर्वाहमा सीमित कर्मकाण्डी शैली र पद्धतिलाई ठोस प्रयास र भरपर्दो परिणाममुखी बनाउने विधिप्रति बेवास्ता गरियो। दक्षिण भारतमा हालै प्रधानमन्त्री मोदी र राष्ट्रपती सी चिनफिडबीच २२ घन्टामा सात घन्टा एक्लाएक्लै, ४५ मिनेट प्रतिनिधिमण्डलबीच र चार घन्टा एक्लाएक्लै रात्रीभोज र दिवाभोजमा कुरा भयो।

चिनियाँ राष्ट्रपतिको शब्दमा ‘दिल खोलेर कुरा भयो, साथी भएर राम्रो कुरा भयो।’ भारतीय प्रधानमन्त्रीको शब्दमा ‘भारत र चीनबीच सामरिक सञ्चार समीपता बढेको छ।’ नेपालले सी चिनफिडको २० घन्टाको नेपाल बसाइको अधिकांश समय कर्मकाण्ड निर्वाहमा खर्च ग-यो। राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको ३० मिनेटभन्दा कम, दुई प्रतिनिधिमण्डलबीच ४० मिनेट कुरा भयो। बाँकी सम्पूर्ण समय औपचारिकता निर्वाहमा खर्च भयो। यो संक्षिप्त भेटले कूटनीतिको वर्णमाला फेरिएको नेपालले अनुभूत नै गरेको रहेनछ भन्ने खुलस्त भयो।
(लेखक पूर्वपरराष्ट्रमन्त्री हुन्।)








यसमा तपाईको मत

अन्य समाचार

पोर्ट नै नभएको आइफोन आउँदै !

पोर्ट नै नभएको आइफोन आउँदै !

विश्लेषक मिंगसी कुओका अनुसार सन् २०२१ मा रिलिज हुने आइफोनमा कुनै पनि पोर्ट हुने छैन! ...

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

Ncell Footer Ad