७ वैशाख २०८१ शुक्रबार
अन्य

स्वार्थको अन्त्य

खुशीले म गद्गद् भइरहेकी छु । नहोऊँ पनि कसरी ? आज बाह्र वर्षपछि छोरा विराट घर फर्किरहेको छ । बाह्र वर्षमा खोला त फर्कन्छ, छोराको मन के नफर्कियोस् !

गद्गदीको अर्को कारण चाहिँ ऊ एक्लै स्वदेश फर्किएको होइन, पूरै परिवार नै उसले सधैँका लागि ल्याउने कुरा गरिरहेको थियो । कति फराकिलो मन बनाएछ उसले ! सँगसँगै मनमा धेरै प्रश्नहरु पनि उठिरहेका छन्, अलिकति डरजस्तो केही भाव पनि नपलाएको होइन ।
तर उनीहरु आउने भन्नेबित्तिकै मेरो तयारी शुरु भइसकेको छ । छोराको रुचि केमा छ ? नातीलाई के मन पर्छ ? बुहारीले के रोज्छे ?

अँ, बुहारी भन्नेबित्तिकै मेरो मन एक तमासको भइहाल्छ किनभने विराटले कुनै नेपालीलाई बिहे गरेको थिएन । क्याटलिनको मोहमा ऊ छपक्क भिजेको छ भन्ने थाहा पाउँदा मन अलिकति खिन्न भएको थियो । फेरि कुरा नमिल्ने होला कि भन्ने भावले पनि डेरा जमाइरहेको थियो ।

जब छोरो यतै फर्कन्छु भन्दै थियो, मेरालागि त्यो निर्णय नै लाख थियो । त्यसैले बरु क्याटलिनलाई म मायाले जित्छु भन्ने सोचिरहेकी थिएँ । उसलाई यहाँको वातावरणमा भिजाउन भूमिका खेल्छु, उसलाई सिकाउनुपर्ने केही भए सिकाउँछु, उसलाई मायाले छपक्कै छोप्छु । उसलाई बुहारीको होइन, छोरीको माया दिन्छु । यति गरेपछि उसले मेरो मायाको मोल कसो नबुझ्ली !

अँगालो भरिको खुसीको अर्को कारण नाति पनि त हो ! ऊ ‘ग्र्यानी’ भन्दै मलाई पछ्याउँछ । मलाई यता तान्छ, उता लैजान्छ ! उफ्, म थाकेर चूर हुन्छु होला !
अहो ! मलाई आज ईश्वरले एकैचोटि यति धेरै खुसी मेरो पोल्टामा किन हालिदिएको होला ! कतै यही खुसीले मेरो ज्यान नलियोस् !

आजको मेरो व्यस्तता र खुसी देख्दा, विराटको आजको आगमनमा विशाल कति खुसी हुनुहुन्थ्यो होला ! जीवनको अन्तिम क्षणमा पनि विराटलाई सम्झँदै उहाँको प्राण गयो । विराट अन्तिम संस्कारमा नआएको होइन तर अन्तिम क्षणमा छोरो हेर्ने रहर भने पूरा हुन सकेन ।
आज उहाँ बाँच्नु भएको भए, छोरा–बुहारी–नातिको सानोतिनो हुल नै देख्दा शुरुमा त विशालको आँखा खुसीले पक्कै छचल्किन्थ्यो होला !

विशालको बिदाईपछि मेरो घरको घेरो र मनको मझेरी दुवै खाली र अँधेरिएका थिए । काल नआउञ्जेल जसोतसो जीवन त घिसार्नै पर्‍यो ! त्यसका लागि समाजसेवा एउटा गतिलै बहाना मैले पाएकी थिएँ ।
मान्छे जब संसारबाट साँघुरिएर घरमा छिर्छ, उसले संसारको महत्व बिर्सदै जान्छ । जब ऊ घरको निस्सारता बुझेर बाहिर निस्कन थाल्छ, यसले अँगाल्ने र दिने मायाले यसको वृहत्तता क्रमशः सम्झदै आइन्छ ।

समाजसेवाको निहुँले जब घरबाहिर निस्कन थालेँ, थाहा भयो– संसारमा म मात्र एक्ली रहिनछु । मेरो दुःख मात्र पहाड होइन रहेछ । यहाँ त हरेक मानिस आफ्नो दुःखको सगरमाथा बोकेर हिँड्दारहेछन् । बाहिरबाट हेर्दा सुखी देखिने मानिस भित्रभित्रै दुःखको पहाडले चिथेर निःस्सासिरहेको हुँदोरहेछ । त्यसैले त सानो सहानुभूतिले आँखाबाट भेल निस्कदारहेछन् !
थाहा भयो– दुनियाँ में कितना गम है, मेरा गम कितना कम है !
०००
प्लेन ल्यान्डिङ गर्न अझै दुई घण्टा बाँकी छ । भर्खर चार बज्यो । मेरो बेचैनी र हुटहुटीका कारण समय अगावै सबै कुरा तयार भइसकेको छ । यस्तो अत्यास र प्रतीक्षा त विशाल रहँदाका बेला, उहाँ बिरामी पर्दा र अस्पतालमा ज्यान जाँदा पनि भएको थिएन !

आजको पर्खाइ हेर्दा लाग्छ, मैले एक्लै यो पूरा दशक व्यतित गरेकै छैन । अबका केहीबेरबाट नै छोरा–बुहारी–नातिको कुल्बुलाहटले यो घर भरिनेछ । मेरो जिन्दगी अर्थपूर्ण हुनेछ । आखिर विशालको पनि त यही इच्छा थियो, एउटा पूर्ण परिवार भएर सबै हाँसीखुसी बसौँ !
विशाल रहुञ्जेल यो इच्छा पूरा नभएर के भो ! ढिलै भए पनि आखिर बुद्धि त फेरियो !
०००
कत्ति जिद्दीवाल थियो विराट ! उसले चाहेको हरेक कुरा पूरा हुनै पर्ने ! नपाइए आकाश–पाताल नै एक गरिदिन्छुझैँ गथ्र्यो । हामी पनि त उसका हरेक इच्छा, आकांक्षाका दास थियौँ ! उसको छोटो खुसी, उसका स–साना रहर आफ्ना रहर र खुसी ठान्थ्यौँ ! उसको खुसी हाम्रो खुसी हुन्थ्यो र उसको खुसीमा फुत्केका हाम्रा मुस्कान उसको मुस्कानमा गएर टाँसिन्थ्यो !

आज पनि सम्झना आउँछ, साथीको जन्मदिन मनाउन विराट साथीको घर गएको थियो । गृहकार्य धेरै भएकाले ऊ सिधै त्यता दौडियो । थाकेर आउला ऊ, गृहकार्य नभ्याउला भनेर उसका एक–एक कापी हामी दुई जना मिलेर सिध्याउँथ्यौँ । छोरो दंग पथ्र्यो, उसको दंग पराईमै हामी खुशी हुन्थ्यौँ । यस्ता धेरै खुशीहरु मेरो स्मृतिमा ताजा छन् । आखिर मानिस भन्नु नै यस्तै स्मृतिको सँगालो रहेछ, जसलाई सम्झँदै उसले आफ्नो जुनी काट्दो रहेछ !
विराट आँखाबाट ओझेल परेपछि यिनै स्मृति त मेरो बाँच्ने आधार मध्येको एक थियो !
०००
बाहिर गेटमा गाडीको हर्न बज्यो । मेरा कान चनाखा भए । दौडिएर बैठक कोठामा ठीक पारेका कलश, अक्षताको थाली र थालीमा फूलअक्षता टिपेँ ।

म मूलद्वारमा पुगिसक्दा उनीहरु पनि टुप्लुक्क आइपुगे । विराट त घरभित्रै छिर्न खोज्दै थियो । मैले उसलाई रोकेँ ।
‘पहिलो पटक आएकी बुहारीलाई शुरुमा स्वागत गर्नुपर्छ,’ मैले क्याटलिनलाई हेर्दै भनेँ ।
विराट मुस्कुरायो, नाति केटो चञ्चल आँखाले सजावट हेर्न थाल्यो ।

मैले बुहारीको अनुहारको छेको पारेर आरति गरेँ । रातो टीका लगाइदिएँ र फूललाई कपालमा सिउरीदिएँ । उसले टाउको निहुर्‍याई । मैले माला लगाइदिएँ । ‘विदेशी नै भए पनि कति शिष्ट !’ मेरो मनले भन्यो ।
यो क्रम छोरा र नातिसम्मलाई चल्यो ।

दशैँतिहार आउन केही समय बाँकी थियो तर मेरो घरको दशैँ शुरु भइसकेको थियो ।
नातिको नाउँ कृष्ण राखेका रहेछन् छोराबुहारीले ! नामजस्तै नटखट ! एकछिन थिरमा नबस्ने ! अब म नातिकै कारण बढी व्यस्त हुने भएँ भन्ने लाग्यो ।

मेरालागि उनीहरुको आगमन नै दशैँ थियो । उनीहरुको खुसीका लागि यसो गरौँ कि त्यसो हुने । यो गर्दा राम्रो कि त्यो गर्दा भन्ने कुरा खेलिरहने ।

हरेक कुरा गर्दा छलफल र चर्चा । बुहारी भनुँ कि छोरी, आउनेबित्तिकै क्याटलिनले जुन माया गरी, जसरी अँगाली, उसको त्यो आदर र आत्मियताले यो नाताको जग अझ बलियो भएर आयो । यस्तो लाग्न थाल्यो कि क्याटलिनसँगको संगत अहिलेको होइन, वर्षौेंदेखिको थियो । ऊ आएको केही घण्टा भएको छैन, वर्षौंदेखि हामी सँगै छौँ !

खुशी त अक्सिजनजस्तो रहेछ ! यसले दिने ऊर्जाले सारा दुःख मानसपटलबाट कोसौं टाढा हराउने ।
अबको मेरो दैनिकी पनि केही फरक थिएन । उसै गरी समाजसेवा चलिरहेको थियो । अँ, घरमा पहिला एक्लै खाने, एक्लै पकाउने हुन्थ्यो । अहिले भने त्यस्तो छैन । एउटा परिवार हुनु र नहुनुमा शायद यही फरक होला !
नाति स्कुल जान्थ्यो, विराट र क्याटलिन अफिस जान्थे । म समाजसेवामा निस्कन्थेँ ।
बिहान–बेलुकी केट र म सँगै भान्सामा कुरा गर्दै काम गरिरहेका हुन्थ्यौँ ।
०००
केही दिनदेखि मलाई ज्वरोले सताउन थालेको थियो । दुई हप्तासम्म त कसैलाई केही भनिनँ तर एकदिन अचानक भान्सामा काम गर्दागर्दै म लडेँ । क्याटलिनले मलाई क्लिनिकमा पुर्‍याई र जाँच गर्दा टाइफाइट भएको थाहा भयो । यसपछि क्याटलिनले बरु अफिस छाडेर मेरो रेखदेख गर्न थाली । अफिस छाडेर क्याटलिन घरैमा बस्न थालेको कुरा विशाललाई चित्त नबुझेको मैले केही दिनमै थाहा पाएँ ।

विराटको महत्वाकांक्षा मलाई थाहा थियो । ऊ आफ्नो लक्ष्य प्राप्तिका लागि जे गर्न पनि तयार हुन्छ भन्ने मैले बुझेकी थिएँ । ऊ यही कारणले विदेश गएको थियो र यही कारणले स्वदेश फर्किएको छ भन्ने पनि राम्रोसँग थाहा थियो । हाम्रो आपत्तिका बाबजुद पनि उसले विदेशी केटी रोज्यो ।

र, एक दिन मलाई थाहा भयो– क्याटलिनको मप्रतिको समर्पण उसलाई मन परिरहेको छैन । ऊजस्ती पढेलेखेकी महिलाले लोग्नेको महत्वाकांक्षालाई सघाउनु पर्छ, घरका ‘सानातिना’ समस्यालाई ध्यान दिने होइन भन्ने उसको धारणा थियो ।

हुन त विराटले यी कुरा प्रकट रुपमा बोलेको थिएन तर दिनदिनै झर्कोफर्को गर्ने व्यवहार देखेर लख काट्न मलाई कुनै गाह्रो भएन । घर ढिला आउने, आए पनि कसैसँग व्यवहार नगर्ने, बिहान चाँडै उठ्ने र अनुहार पनि नदेखाई बाहिर निस्कने उसको व्यवहारले केही समस्याले उसलाई गाँजेको छ भन्ने अनुमान जो कसैले पनि गर्न सक्थ्यो ।
मलाई लागेको थियो, उसको यो चिढचिढाहट मेरो चिन्ताको कारणले हो ।

त्यसैले मैले अत्ति भएर सोधेँ, ‘यो तिम्रो के चाला हो ? न राम्रो बोली–व्यवहार छ न त भएका समस्याबारे छलफल छ । किन यस्तो ?’
ऊ केही बोलेन ।
‘तिम्रो समस्या म समाधान गर्न सक्छु कि ?’ मैले उसलाई नरम भएर सोधेँ ।
ऊ फेरि पनि चुप रह्यो ।

‘मेरो जीवनको उद्देश्य नै तिमीहरुको खुसी हो,’ मैले भनेँ, ‘म मेरो छोरोको हराएको खुसी फिर्ता चाहन्छु ।’
मैले यसो भन्दा क्याटलिनको घुँक्क आवाज सुनेँ । ऊ ढोकाको कापबाट मेरो कुरा सुनिरहेकी रहिछ ।
के उसले मेरो छोरो प्रतिको भाव बुझेर रोई ? या अरु नै कारणले ऊ रोई ? तर मलाई त्यो सोच्ने वा जान्ने फुर्सद थिएन । म मेरो छोरोको पीडा बुझ्न चाहन्थेँ ।

विराटले बडो सकसका साथ मतिर हेर्‍यो र विस्तारै ढोकातर्फ अघि बढेर ढप्कायो ।
लामो श्वास तान्यो र भन्यो, ‘आमा, अहिले विकसित देशहरुमा आफ्ना केटाकेटीलाई राम्रो शिक्षादीक्षा दिन र उचित स्याहार गर्न होस्टलमा राखिन्छ ।’

‘हो, मलाई थाहा छ,’ जवाफमा मैले भनेँ, ‘तर मैले त कहिल्यै पनि तँलाई टाढा पुर्‍याउन चाहिनँ ।’
उसले थप्यो, ‘त्यहाँ बच्चाहरुको राम्रोसँग हेरविचार हुन्छ । त्यस्तै गरी अशक्त र बूढाबूढीलाई पनि तिनको राम्रो हेरचाह र स्याहारका लागि वृद्धाश्रममा राखिन्छ ।

त्यहाँ भनेको बेलामा डाक्टर उपलब्ध  हुन्छन् । तिनको उमेर, रुचि र रोगअनुसार के–के खुवाउँदा ठीक हुन्छ सबै ख्याल गरिन्छ । हामी पनि बेलाबेलामा भेट्न आउँछौँ, फोन गर्छौं । यहाँ पनि राम्रा वृद्धाश्रम छन् । फेरि कृष्ण पनि होस्टेलमै बस्छ । म र क्याटलिन त कामको सिलसिलामा देशमा भन्दा विदेशमै बढी समय व्यतित गर्नुपर्ने हुन्छ ।’

अब उसले बुझाइरहनुपर्ने आवश्यकता रहेन । मैले सबै कुरा बुझेँ ।
मुटु त भक्कानिएर आयो तर भक्कानिन मन लागेन । सोचेँ, ‘मेरै लालनपालनमा कुनै कमी भयो होला !’
समाज बिस्तारै बद्लिँदै छ । यो मेरो मात्र पनि त कथा होइन ! अरुका कथा र यस्तै व्यथा सुन्दा यस्तो पनि हुन्छ र भन्थेँ तर आज आफूमाथि नै यस्तो आइपर्‍यो ।

सम्हालिँदै भनेँ, ‘यति सानो कुराका लागि यत्रो दिन किन तनाव मानिरहेको ? त्यै बेला भनेको भए, भइहाल्थ्यो नि !’
मैले उसलाई आश्वस्त बनाउँदा उसमा कुनै परिवर्तन देखिएन । सोचेँ, ‘भित्री मनले ऊ पनि मलाई कहाँ पठाउन चाहेको हुँदो हो ? बाध्यता जो छ उसलाई !’
‘बरु कुन ठाउँ हो, कस्तो व्यवस्था छ ?’ मैले अवस्था सामान्य बनाउने प्रयास गर्दै भनेँ, ‘बरु आजै जाउँ न !’
०००
मैले भनेजस्तै भएन । केही दिन घरमा एउटा उत्सवको माहोल बन्यो । माहोलमा नाति होस्टल जाने समय, विदेशमा कम्पनीको शाखा खोल्ने मिति एउटै बनाइयो । यसरी एउटा संक्रमणकालीन समयलाई सामान्य बनाउने प्रयास गरियो ।

उत्सव सकिएको भोलिपल्ट जब मलाई वृद्धाश्रम लैजान गाडी तयार भयो, कृष्ण रुन थाल्यो, ‘म पनि आमासँगै जान्छु ।’ साडीको फेर समातेर औधि गरेपछि उसलाई चकलेट दिएर फकाएँ ।
गाडी गुड्न थाल्यो । यात्राभर कुनै कुरा भएन । विराटको ढुकढुकी म सुन्न सक्थेँ र उसले मेरो । अब परिवारप्रति मेरो कुनै कर्तव्य थिएन, कुनै मोह थिएन ।

गाडी रोकियो । यसो हेर्दा आँखै अगाडि एउटा सुन्दर घर देखियो, जहाँ लेखिएको थियो– आमाबाबा आश्रम । एउटा समूह नै स्वागतका लागि तम्तयार भएर बसेको थियो । यो त्यही ठाउँ थियो, जहाँ म दिक्क लागेका बेला यहाँका वृद्धवृद्धा र बेसहारा युवतीलाई कथाकुथुङ्ग्री सुनाउन आउँथे । सकेको सहयोग गर्थें ।
‘हजुरका छोराबुहारी आएदेखि त हामीलाई बिर्सिसक्नु भएको थियो !’ एउटी युवतीले भनी ।
‘हजुर नआउँदा त हामीलाई साह्रै शून्य लागेको थियो,’ अर्कीले थपी ।

आश्रमका सबैले आफ्नो माया दर्शाइरहेका थिए । अनि मैले  भनेँ, ‘साँच्चिकै आफन्त त तपाईंहरु हो । केही समय सापटी नातामा अल्झेकी थिए र अब सधैँका लागि यहाँ आएकी छु ।’
यसरी सबैले माया, प्रेम, सद्भाव, श्रद्धा देखाएको परैबाट विराटले देखिरहेको थियो । उसले अचम्म मानेर एक जना बहिनीलाई सोध्यो, ‘उहाँलाई कसरी चिन्नु हुन्छ ?’

बहिनीले भनेकी सुनेँ, ‘उहाँ नै त हो हाम्रो भगवान् ! यो संसारमा यदि भगवान छ भने उहाँ हो । उहाँले हामी सबैको केही न केही उद्धार गर्नु भएको छ । तपाईंलाई थाहा छैन होला, तीस पैँतीस वर्षअघि नालीमा फ्याँकिएको एउटा अनाथ बच्चा उठाएर आफ्नो छोरा बनाई उच्च शिक्षा दिलाएर सक्षम बनाउनु हुने उहाँ महान् हैन त ? हेर्नुस्त, अहिले आमालाई स्याहार्न भनेर विदेशका सारा कुरा त्यागेर यहीँ आएका छन् रे, परिवारसहित । अनि त उहाँले हामीलाई बिर्सिहाल्नु भयो नि !’

मैले पुलुक्क विराटतिर हेरेँ । उसले आँखा जुधाउन सकेन । ऊ गएँ पनि नभनी फटाफट बाहिर निस्क्यो ! परैबाट मैले उसको गाडी हुइँकिएको आवाज सुनेँ ।

 

प्रकाशित: २७ आश्विन २०७६ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App