४ वैशाख २०८१ मंगलबार
अर्थ

बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली– मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ। चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो। 

असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप रहने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं आन्तरिक भ्रमण वर्ष जिल्लास्तरीय उपसमितिका सदस्य वैश गुरुङले जानकारी दिए।

भदौसम्म विदेशी पर्यटक नआउने बन्दीपुरमा असोज मध्यदेखि भने दैनिक तीन÷चार सय पर्यटकको आगमन भइरहेको गुरुङले बताए। ‘भदौसम्म स्वदेशी पर्यटकको मात्रै चहलपहल हुन्छ, असोजदेखि भने विदेशी पर्यटक राम्रै सङ्ख्यामा बन्दीपुर आउँछन्’, गुरुङले भने। 

गुरुङका अनुसार चाडपर्वका कारण घुम्ने संस्कृतिको विकास भएकाले स्वदेशी पर्यटकको चाप पनि उल्लेखनीय रहेको छ ।

‘दशैँ, तिहारलगायत सार्वजनिक बिदाका कारण बन्दीपुरमा यतिबेला दैनिक ५०० भन्दा बढी स्वदेशी पर्यटक आइरहेका छन्,’ गुरुङले भने।

बन्दीपुर घुम्न आएकामध्ये अधिकांश पर्यटकले बन्दीपुरमा बास बस्ने गरेका छन्। बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन्।

बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिलेजलगायत साना ठूला गरी ५७ होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ।

ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन्। बन्दीपुरका होटलमा करीब १५० भन्दा बढीले रोजगारी पाएका छन्। 

घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलका बारेमा जानकारी दिने गरिएको छ। यहाँ ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन्।

बन्दीपुरबाट अन्नपूर्ण, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ। भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ। 

कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यका रुपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। रासस

प्रकाशित: २७ आश्विन २०७६ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App