४ वैशाख २०८१ मंगलबार
अर्थ

नाम चलेकै होटल–रिसोर्टको सरसफाइमा लापरवाही

बनेपा – अघिल्लो वर्ष फागुनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छताका आधारमा धुलिखेलस्थित द्वारिकाज सांग्रिला भिलेज रिसोर्टलाई पहिलोपटक अति उत्तम भएको प्रमाण स्वरूप स्तरीकरण गर्दै तीन तारा स्टिकर प्रदान ग-यो।

तर, दसैंअगाडि विभाग मातहतको धुलिखेलस्थित डिभिजन, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासनको संयुक्त टोलीले सोही रिसोर्टमा आकस्मिक अनुगमन गर्दा सरसफाइमा लापरवाही गरेको भेटियो।

‘हामीले अनुगमन गर्ने क्रममा रिसोर्टले खानेकुरा र सरसफाइका सामान एकै ठाउँमा भण्डारण गरेको पायौं। यसरी ‘फुड आइटम’ र ‘स्यानिटेसन आइटम’ एकै ठाउँमा राख्न पाइँदैन। खानेकुरामा सरसफाइका सामान मिसिन सक्ने भएकाले अलग–अलग भण्डारण गर्न निर्देशन दिएका छौं,’ घरेलु अधिकृत केशव पुडासैनीले भने, ‘फेरि अनुगमनमा यही क्रम दोहरिए कानुनअनुसार कारवाही चलाउनेछौं,’ उनले थपे।

अनुगमन टोलीकै सदस्य एवं खाद्य डिभिजन, धुलिखेलका प्रमुख शिवप्रसाद भण्डारी विभागले अति उत्तम स्तरीकरण गरेको रिसोर्टले खाद्य स्वच्छतालाई निरन्तरता नदिएको खण्डमा साबिकको स्तरीकरणबाट तल्लो स्तरमा झर्न सक्ने बताउँछन्।

अघिल्लो वर्ष ‘अति उत्तम’ स्तरीकरण भएको धुलिखेलस्थित द्वारिकाज सांग्रिला भिलेज रिसोर्टको यस वर्ष अनुगमन गर्दा सरसफाइमा लापरवाही गरेको भेटिएको छ।

विभागद्वारा जारी ‘खाद्य स्वच्छताका आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गर्ने निर्देशिका २०७४’ मा उल्लेखित ५० वटा सूचक पूरा गर्ने होटल तथा रिसोर्टले स्तरीकरण प्रमाणपत्र र खाद्य स्वच्छता स्तरीकरण लोगोयुक्त स्टिकर पाउँदै गरेका छन्। ‘स्तरीकरणमा परेका अरु होटलले पनि सूचकको पालनामा निरन्तरता नदिएको अनुगमनका क्रममा पायौं,’ उनले भने।

अनुगमन टोलीले गत फागुनमै खाद्य स्वच्छताका आधारमा उत्तम स्तरीकरणसहित एक तारा लोगोयुक्त स्टिकर प्रदान गरेको गाया होलिडे होमले समेत किचेनमा लापरवाही गरेको पाएको थियो। ‘उक्त होटेलको किचेनमा काम गर्ने सेफले एप्रोन लगाएका थिएनन्। रेफ्रिजरेटरमा राखिएका खानेकुरा खुलै थिए। त्यसलाई प्याक गरेरमात्रै भण्डार गर्नु पर्ने थियो, गरेको रहेनछ। एकपटकलाई सचेत गराएका छौं,’ भण्डारीले थपे।

यस्तै, सोही टोलीले केही महिनाअघिबाट धुलिखेलमै सुरु भएको होटल सारथिलाई पनि सचेत गराएको छ। ‘होटलको रेफ्रिजरेटरमा राखिएका खानेकुरा खुलै थिए। त्यसरी राख्न पाइन्न। यसलाई सुधार्न भनेका छौं,’ घरेलु अधिकृत पुडासैनीले भने। अनुगमन टोलीले साना होटललाई मात्रै अनुगमन गरेर ठूलालाई उन्मुक्ति दिएको भन्ने चौतर्फी गुनासो आएपछि पछिल्लो समय ठूला रिसोर्टमा पनि अनुमगन थालेको हो। ‘दसैं बिदा सकिनासाथ जिल्लाका अन्य रिसोर्ट तथा होटलमा अनुगमन गर्दैछौं। यसैबीचमा आउने तिहारको अवसरमा मिठाइलगायतका मरसमलामा समेत कैफियत हुन सक्ने भएकाले त्यस्ता सामग्रीका पसलमा पनि अनुगमन जारी रहनेछ,’ उनले थपे।

प्रकाशित: २७ आश्विन २०७६ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App