coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चिनियाँ पर्यटक बढ्ने आस

पोखरा घुम्न आएका चिनियाँ पर्यटक। तस्बिर : सन्तोष/नागरिक

पोखरा – नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा बढीभन्दा बढी चिनियाँलाई नेपाल घुम्न आउन उत्प्रेरित गर्ने प्रतिबद्धता जनाए। सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष मनाउँदैछ। पर्यटन व्यवसायीले पनि पछिल्लो समय चिनियाँ पर्यटकबाट बढी नै आशा गरिरहेका छन्। तर भूकम्पपछि चिनियाँ पर्यटकको नेपाल आगमन ओरालो लाग्दा व्यावसायी निराश बनेका थिए। 

पछिल्लो समय चिनियाँ पर्यटकको आगमन सुधारिँदै गए पनि सोचे जस्तो वृद्धि नभइरहेको बेला राष्ट्रपति सीको आगमन र प्रतिबद्धताले भविष्यमा नेपाल आउने चिनियाँको संख्या बढ्नेमा यहाँका व्यवसायी आशावादी देखिएका छन्। अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा मुक्तिनाथसम्म उक्लिँदाको प्रभावले भारतीय पर्यटकको आगमनमा सुधार अनुभव गरेका व्यवसायी चिनियाँ राष्ट्रपति सीको भ्रमण र प्रतिबद्धताले चिनियाँ पाहुनाको नेपाल आगमन बढ्नेमा आशावादी देखिएका हुन्।

चिनियाँ पर्यटकले प्रयोग गर्ने मुख्य स्थलमार्ग अरनिको राजमार्ग सञ्चालन सुनिश्चित गरी स्तरोन्नति गर्ने राष्ट्रपति सीको प्रतिबद्धताले पनि पाहुना भित्र्याउन सहज हुने व्यवसायीको अनुमान छ। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘शक्तिशाली मुलुकका राष्ट्रपतिको भ्रमणले नेपाल सुरक्षित छ भन्ने सन्देश चिनियाँ पर्यटनमाझ फैलाउँछ। त्यसले हामीलाई निकै हौस्याएको छ। नेपाल सरकारले मनाउन थालेको नेपाल भ्रमण वर्ष २०२० लाई नै इंगित गर्दै चिनियाँ पर्यटक नेपाल पठाउँछु भन्नु हाम्रा लागि उत्साहजनक शब्द हो।’

चीनले बढीभन्दा बढी नागरिक नेपाल पठाउने आश्वासन दिएका बेला स्थल र हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा पर्यटन व्यवसायीको जोड।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि भारतीयको आगमन बढेको अनुभव गरेका व्यवसायी चिनियाँ राष्ट्रपति सीको भ्रमण र भनाइकै आधारमा तत्कालै पाहुना नबढे पनि सकारात्मक सन्देश फैलिनेमा ढुक्क रहेको पराजुलीले बताए। ‘भारतसँग हाम्रो सहज आउजाउ छ। त्यसले गर्दा भारतीय प्रधानमन्त्रीको भ्रमणलगत्तै सकारात्मक प्रभाव देखिएको थियो,’ उनले भने, ‘तर चिनियाँ राष्ट्रपतिको भ्रमण र प्रतिबद्धताले तत्कालै पाहुना नआए पनि दीर्घकालसम्म प्रभाव पार्नेछ।’ चिनियाँ पर्यटक तत्कालै आउनका लागि स्थलमार्ग सहज नभएको र हवाइ यातायात महँगो रहेको उनले बताए।

‘भूकम्पअघिको जस्तै चिनियाँ आगमन दर तीव्र गतिमा बढ्न सक्नेमा हामी विश्वस्त छौं। तर अहिलेलाई कनेक्टिभिटी सहज छैन,’ पराजुलीले भने, ‘धेरै आशा र उत्साह हुँदाहुँदै पनि चिनियाँ पर्यटक नेपाल भित्र्याउन सहज छैन।’ चिनियाँ पर्यटक बढाउन सहज स्थलमार्ग र चिनियाँ सहरसम्म नेपाली वायुसेवाको सिधा उडान हुनुपर्ने उनको धारणा छ। तातोपानी नाकाबाट आउन नसक्दासम्म कोरला र रसुवागढीको बाटो भित्र्याउन सकिने उनले बताए।

‘चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपालको पर्यटनमा दीर्घकालमा प्रभाव पार्नेमा शंका गर्नु पर्दैन,’ उनले भने, ‘तर २०२० आउनै थालेकोले तत्कालै चिनियाँ आउलान र त्यसको लाभ हामीले तुरुन्तै पाउँछौ भन्नु गलत हुन सक्छ।’ अहिले नेपाल र चीनबीच पर्यटक भित्र्याउने पूर्वाधार कमजोर रहेको उनको भनाइ छ।

पर्यटन व्यवसायीले चीनबाट ठूलो अपेक्षा गरे पनि पूर्वाधार अभावमा पाहुना ल्याउन नसकेको उनले बताए। ‘छोटो समयमा धेरै खर्च गर्ने पाहुना चिनियाँ हुन्। त्यसैले पनि चिनियाँको आगमन बढ्दा पर्यटन व्यवसायी खुसी हुन्छन्,’ पराजुलीले भने।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा नेपालमा एक लाख ५४ हजार चिनियाँ आएका थिए। चालु वर्ष सन् २०१९ को अगस्टसम्म एक लाख ६ हजार आएका छन्। कुनै अवरोध नभए यो वर्ष पनि पोहोर जत्तिकै चिनियाँ नेपाल भित्रिने अनुमान व्यवसायीको छ।

सन् २०१४ मा एक लाख २४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए। यो संख्या भूकम्पका कारण घटेर सन् २०१५ मा ६५ हजारमा झ¥यो। सन् २०१६ र २०१७ मा आगमन बढेर एक लाख चार हजारमा उक्लियो। 

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘पर्यटन क्षेत्रका लागि चिनियाँ राष्ट्रपतिको सम्बोधन नै काफी छ। राष्ट्रपतिले भने झैं चीन सरकारले नेपाल घुम्ने गरी चिनियाँ पर्यटकका लागि विशेष नीति बनाइदिने हो भने आगमन बढ्छ।’ चिनियाँ पर्यटक आगमन बढ्ने अपेक्षा गर्ने ठाउँ राष्ट्रपति सीले देखाएको उनले बताए। शक्तिशाली मुलुकका राष्ट्रपतिको भ्रमणलाई त्यो मुलुकका जनताले नजिकबाट नियाल्ने हुँदा सीको भ्रमण पर्यटनका लागि आफैंमा सकारात्मक सन्देश हुने उनले बताए।

‘राष्ट्रपतिले घुमेको मुलुक भनेर चीनका पर्यटकले नेपालबारे बुझ्न पाउनेछन्, त्यसले पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने। उनले पनि नेपाल र चीनबीच हवाइ कनेक्टिभिटीको सीमितता र कमजोर स्थलमार्गलाई चिनियाँ पर्यटक पर्याप्त मात्रामा आउन नसक्नुको कारण माने।

चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। उनीहरु समूहमा हिँड्छन्। अधिकांश प्याकेजमा मात्र यात्रा गर्छन्। किनमेल र आकासमा हुने साहसिक गतिविधि (अल्ट्रालाइट, प्याराग्लाइडिङ) मा निकै नै रमाउँछन्। पोखरामा अहिले चिनियाँ पर्यटकलाई मात्र सेवा दिने होटल र रेस्टुरेन्ट १७ वटा छन्।

पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया राष्ट्रपति सीको भ्रमणलाई ‘फोकस’ गरेर रणनीतिक हिसाबले आफ्ना नागरिकलाई नेपाल घुम्न जानुस् भनेर चीनले भनिदियो भने पर्यटनमा सकारात्मक प्रभाव पर्ने बताउँछन्।

‘शक्तिशाली र प्रभावशाली शासक सीको भ्रमणपछि चिनियाँ नागरिक नेपालप्रति सकारात्मक बन्न सक्छन्,’ उनले भने, ‘त्यसले गर्दा आगामी दिनमा चिनियाँको आगमन बढाउन सकिन्छ। यसमा चीनको सहयोग र नेपालको पहल चाहिन्छ।’

चिनियाँ पर्यटकलाई सहुलियत र आकर्षक प्याकेज दिनुपर्ने उनले बताए। ‘सन् २०१८ मा चीनका १५ करोड नागरिक विदेश घुम्न निस्केका छन्। त्यसैले नीतिगत रुपमै चीनले नेपाल घुम्न जाऊ भनेर आफ्ना नागरिकलाई भनिदिने हो भने ठूलो प्रभाव पर्छ,’ उनने भने

चीनले आफ्ना नागरिक घुम्न जाने देशका लागि विशेष अनुमति दिने गरेको छ। चिनियाँको ‘एप्रुभ्ड डेस्टिनेसन स्टाटस (एडिएस)’ मा नेपाल पनि छ। एडिएसमा पर्नु भनेको त्यो मुलुकमा घुम्न जान आफ्ना नागरिकलाई अनुमति दिएसरह हो। न्यून संख्यामा चिनियाँ नागरिक नेपाल भित्रिरहेको बेला चीनले सन् २००२ मा नेपाललाई ‘एडिएस’मा राखेको थियो। एडिएस मुलुकमा घुम्न चीनले नागरिकलाई विशेष प्रोत्साहन दिन्छ। एडिएस नपाएको देशमा घुम्न जान चिनियाँ नागरिक अलि हिच्किचाउँछन्।

‘नेपालले चिनियाँ पर्यटकका लागि एडिएस पाइसकेकोले पाहुना ल्याउन खासै चुनौती होइन,’ बोर्डका प्रबन्धक थपलिया भन्छन्, ‘तर नीतिगत रुपमा योजना बनाउनुपर्छ।’ सन् २००२ मा नेपालले एडिएस पाएपछि मात्र चिनियाँ नागरिकले पर्यटकको रुपमा नेपाल आउन थालेका थिए। सन् २००० अघि चिनियाँ नागरिकलाई पर्यटकको रुपमा नेपाल घुम्ने अनुमति थिएन। सन् २००० अघि ‘अफिसियल’ भ्रमणमा सीमित चिनियाँ नेपाल आउने गरेका थिए।

प्रकाशित: २७ आश्विन २०७६ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App