८ वैशाख २०८१ शनिबार
विचार

एनआरएनए सम्मेलनसँग अपेक्षा

नवौं गैरआवासीय नेपाली(गैआने)विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन ‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ मूल नारासाथ यही असोज २८–३० गतेसम्म काठमाडौंमा हुँदै छ।

सो सम्मेलनमा विभिन्न देशमा छरिएर रहेका २५ सयभन्दा बढी  प्रवासी नेपालीको जमघट हुनेछ। तन विदेश भए पनि मन नेपालमै भएकाहरूको यो जमघटलाई कतिपयले कुम्भमेला भनेका छन् भने कतिपय यसलाई भिन्न संस्कृति जमघटको अवसर मञ्च पनि भन्ने गर्छन्।

जे होस्, योे प्रवासी नेपालीको सबभन्दा ठूलो र साझा मञ्च हो। यो मूलतः व्यवसायी, आर्थिक हैसियत राख्ने र सार्वजनिक पहिचानको खोजीकर्ताहरूको संगठन हो।

विश्वकै धनीमानी र चर्चित व्यक्तिदेखि म्यानपावर व्यवसायीसम्म आबद्ध गैआने संघ आलुले भरिएको बोराजस्तो हो, जसभित्र अनेकौं आकार–प्रकारका आलु हुन्छन्।

लाहुरेको कुम्भमेला र गाउँमा हुने रामरमिता तथा भोजभतेरभन्दा यो सम्मेलन फरक, मातृभूमिलाई केही दिन सक्ने बनोस्।

यस संगठनमा नेपाली राजनीतिको छाया त छ नै, रसियन लबीको दबदबा पनि छ। रसियन लबी र एसिया–प्यासाफिक एवं युरोपियनहरूको टकराव नै नयाँ नेतृत्व चयनको सदाको प्रतिस्पर्धा हो। सामान्य हैसियत राख्ने वा भिन्न सार्वजनिक पहिचान बनाइसकेका प्रवासी नेपाली भने गैआने संघसँग खासै जोडिएको देखिँदैन।

लाहुरे संस्कृतिको निरन्तरता
लाहुरे संस्कृति नेपाली समाजको एउटा अभिन्न अंग हो भने विदेशी संस्कृतिको चास्नीसमेत। नेपालीजनको विदेशिने चलन एग्लो–नेपाल युद्धकालदेखि भएकाले समाजमा लाहुरे र कलकत्ते शब्दले विशेष अर्थ राख्दै गयो। लाहोर अहिले पाकिस्तानी भूभागमै रहे पनि नेपालमा भने भारतीय लाहुरे, ब्रिटिस लाहुरे, मलाया लाहुरे, हङकङ लाहुरे, अब त विभिन्न देशका लाहुरे बन्दै गए। कालान्तरमा कमाउन र भाग्य अजमाउन विदेश जाने जोकोहीलाई जनभाषामा लाहुरे भनिन थालियो।

समय बित्दै जादाँ कुनै बेला विदेशी सेना र फोरडीमा (डेन्जर, डर्टी, डिफिकल्ट र डिर्मोलाइज्ड) मात्र विदेशिने नेपाली श्रमशक्ति बजारमा अहिले भने कुशल खेलाडी, व्यापारी, वैज्ञानिक, डाक्टर, वकिलजस्ता दक्ष जनशक्तिमा समेत देखापरे। सीमित विदेशी भूमिको बदला विश्वकै कुनाकाप्चामा गैआने सगंठित भएका छन्।

गैआने संघको दाबीअनुसार अहिले ८० भन्दा ज्यादा मुलुकमा गैआने संगठित छन् र उनीहरूको आवाज एकीकृत छ। त्यसैले  राज्य उनीहरूको आवाज सुन्न र माग सम्बोधन गर्नसमेत बाध्य भयो। पहिलाका लाहुरे अन्य देशमा श्रम गर्थे, सीमा रुँग्थे, सम्बन्धित राष्ट्रका शत्रुलाई आफ्नै शत्रु ठानेर व्यवहार गर्थे। तर अहिलेका गैआने एकातर्फ कर्मभूमिको नागरिक अधिकार र दायित्व वहन गर्छन् भने अर्कातर्फ पुख्र्याैली भूमिसँग पनि भावनात्मक सम्बन्ध राख्छन्।

दुई÷चार शीर्षकमा घोषणा तथा दान गरेर, मिडियामा चर्चा गराएर, राजनीतक शक्ति केन्द्रसँग मात्रै सम्बन्ध बढाएर गैआनेको भूमिका पूरा भएको भन्न र मान्न सकिँदैन।

फिरन्ते जाति अर्थात् मानव
आहारा खोज्न, प्रकृतिसँग सर्घष, आध्यात्मिक यात्रा, नयाँ बजार खोजी तथा विस्तार, उपनिवेशकालीन सांस्कृतिक अवस्था, रहस्य खोज तथा अनुुसन्धानका लागि मानव जाति हरेक कालखण्डमा घुमन्ते र फिरन्ते बनिरह्यो। खाना, नाना र छानाको संर्घषपछि मान्छेले खोज्ने भनेकैे मौलिक परिचय र पहिचान हो।

त्यो परिचय कसैको व्यक्तिप्रधान हुन्छ भने कसैको समूह र दायित्वप्रधान। त्यसैले ऊ सधैं क्षमताको भरपुर उपयोग र उपभोग गर्ने वातावरणको खोजीमा लागिपर्छ। त्यही संर्घष र सन्तुष्टिको खोजीले नै केही मान्छेलाई आम समुदायबाट अलग गराइदिन्छ। जन्मथलो वा कर्मथलो एउटैले मात्र यो चाहना पूरा हुन सक्दैन।

अझ विकसित मुलुकका ठूला बजारमा सानो पुँजी, औकात र परिचय त्यसैे हराउने भएकाले खुसी बेचेर सुख खोज्न जानेहरूको ध्यान पुख्र्यौली थलोतर्फ मोडिन्छ। सिद्धान्त राजनीतिका ठाँउ अर्थराजनीति र कूटनीतिले लिएपछि हरेक मुलुकका आप्रवासी मूल देशका लागि ठूलो महŒवको विषय बन्ने गरेकाले नेपाललाई पनि नबन्ने कुरै आएन।

गैरआवासीय चिनियाँले स्वदेश भिœयाएका रकम र प्रविधिले आधुनिक चीनको विकासमा आश्र्चयजनक प्रगति गरेपछि विकासशील र गरिब मुलुकको समेत ध्यान त्यता तानियो। विभिन्न कालखण्डमा विभिन्न कारणले परदेशिएका व्यक्तिलाई विदेशमा बनाएको परिचय, सिकेको सीप, कमाइ, भौतिक सुविधा र शानले मात्र आत्मिक शान्ति दिँदैनथ्यो। तीव्र प्रतिस्पर्धामा रहेको ठूलो मण्डीको सामान्य परिचय पनि मूलथलोमा भने विशिष्ट बन्न पुगेपछि समाजले सम्मान गर्छ भन्ने सोच हुन्छ।

परदेशको बजारअनुसारको सम्बन्ध, कारोबार र व्यवहार  भए पनि आफ्नै माटोको सुगन्ध र रगतको साइनो, संस्कार र संस्कृतिले सबैको दिल–दिमागलाई असर पारिरहेको हुन्छ। जुन चिज जति टाढा हुन्छ, त्यसको महŒव र सम्झना उति नै बढी हुन्छ। त्यसकै यादले छटपटी हुन्छ। अहिले हुन लागेको गैआने वार्षिक जमघटका गतिविधि तथा सरोकारवालाको धारणाले यस्तै संकेत र सन्देश दिइरहेका छन्। यो मूलवासी र प्रवासी दुवैको आवश्यकता हो।

गैआनेले कर्मथलोमा आफ्ना योग्यता, दक्षता र क्षमता त प्रर्दशन गरे, सुख–सुविधा पनि पाए। तर सोहीस्तरको आत्मिक शान्ति भने पाउन सकेका छैनन्। त्यो किनेर पाउने कुरा पनि होइन। माइतीको इज्जतले घरमा बुहारीको सम्मान बढेजस्तै मूल राष्ट्रको गरिमा बढे मात्रै प्रवासीको पनि सम्बन्धित मुलुकमा औकात बढ्नेरहेछ। गरिब देशका धनी व्यक्तिलाई पराईले पनि मूल देशकै आँखाले हेर्ने भएपछि उसमा जाति र नागरिकताको अर्थ, मर्म र महŒव जाग्दोरहेछ।

विश्वव्यापी जातीय अन्धता र अन्धराष्ट्रवाद हावी हुँदै जाँदा पुख्र्यौली थलोप्रति आकर्षण पनि बढ्दो छ। अहिले गैआनेको विकसित संवेदना र दोहोरो नागरिकताको मागको कारण पनि यही हो।  आर्थिक सुरक्षा र राजनीतिक महŒवाकांक्षा पनि यसको अर्काे मूल पाटो हो। यो गैआनेको मात्रै आत्मिक पीडा नभएर अन्य मुलुकका भुक्तभोगीको पनि हो। गैरआवासीय भारतीय र पाकिस्तानीले अहिले बहसमा ल्याएको विषय पनि यही हो।

यस सम्मेलनका सहभागी भनेका नेपालकै विदेशिएका उम्दा जनशक्ति हुन्। अघोषित रूपमा उनीहरू नेपाल र नेपाली चिनाउने नागरिक राजदूतका हैेसियतले विभिन्न महादेशमा छन्। उनीहरूको पहुँच सम्बन्धित मुलुकमा भित्रसम्म छ। योग्यता, क्षमता, दक्षता, सीप, धन, बुद्धि–विवेकका हिसाबले उनीहरू उच्च दर्जाका पनि छन्। त्यसैले अहिले उनीहरूले आफ्नो विवेकलाई कसरी कर्मभूमि र पुख्र्यौली थलोमा प्रयोग गर्लान् ?

अबको जमघटले निम्न जिज्ञासको उत्तर देला, नीति–कार्यक्रम बनाउला ?
क) शान्त, सुरक्षित र समुन्नत नेपाल बनाउने र त्यसलाई संस्थागत गर्ने आधार भनेको नेपाली दायित्व हो। राजनीतिसँग सबैले सरोकार राख्न पर्नाका कारण उसका हरेक भूमिकाको निर्णय केन्द्र राजनीति नै हो। आधुनिकताको प्रवेश पनि गतिशील भएर मात्रै हुन सक्छ। त्यो सोच र व्यवहार दुवैमा हुन आवश्यक हुन्छ। त्यसका लागि आग्रहरहित अग्रगामी लबिङ कसरी गर्ने ?

ख) जो जहाँ जसरी छ, उसले सम्बन्धित मुलुकका रैथानेलाई मूल देशको भाषा, संस्कृति, साहित्य, पर्यटन र गरिमा फैलाउने योजनाको तर्जुमा कसरी गर्ने ? किनकि प्रवासी नेपाली मूलथलोको अघोषित राजदूत पनि हो।

ग) आफ्नो र सम्बन्धित मुलुकका मूलवासी उद्यमीहरूकोे पुँजी कसरी आफ्नो मूल देशमा भिœयाएर जलस्रोत, पर्यटन, जडीबुटीजस्ता प्रचुर सम्भावना रहेका उद्योगमा लगानीका लागि कसरी प्रोत्साहन गर्न सकिन्छ ?

घ) विश्व आर्थिक बजारमा उदीयमान ठूला शक्ति चीन र भारत बीचमा रहेको यस भूगोलको सम्भावनाको उपादेयता कसरी व्यवस्थापन गर्ने ?

ङ) सूचना सञ्चारले तीव्र वैश्वीकरण भइरहेको अवस्थामा हरेक राष्ट्रको महŒव, अवस्था र आवश्यकता एकअर्कालाई हुने र हरेकले एकअर्कालाई पर्गेल्नै नसक्ने अवस्थामा मूल भूमिको हितमा विश्व जनमत कसरी सिर्जना गर्ने ?

च) सामान्य स्वार्थ र आग्रहमा अल्झिरहेको मातृभूमिका राजनीतिक नेतृत्व वर्ग र अहिलेको अवस्थाको व्यवस्थापन आजका चुनौती हुन्। विगतमा भएका अनेकौं प्रकारका आन्दोलन, संर्घष र विद्रोहका उपलब्धिलाई कसरी संस्थागत गर्ने भन्नेबारे नेतृत्व वर्गलाई गम्भीर बनाउन कसरी दबाब सिर्जना गर्ने ?

छ) संगठनभित्रै गरिने ठूलठूला घोषणा, प्रतिबद्धतालाई कसरी कार्यान्वयनमा ल्याउने ? गत वर्ष सरकार र संगठनको संयुक्त पहलमा भएका विशेषज्ञ र कार्यकारिणी संवाद र त्यसका निष्कर्षलाई कसरी व्यावहारिक रूप दिने ?

अन्तमा,
हरेक दसैं नेपालमा गैआनेको सार्वजनिक पहिचानको प्रयास, क्षमता र लगानी प्रदर्शनको पर्व हो। दसैं विदेशबाट देश भित्रिने, सहरबाट गाँउ पस्ने चाड तथा सांस्कृतिक दिवस वा आध्यात्मिक शक्ति पर्व मात्र नभई तुजुक प्रदर्शनी पनि बन्दै गएको अवस्थामा सरकारले पनि गैआनेले विदेशमा सिकेका सीप, आर्जन गरेका पुँजी, हासिल गरेका विशेषज्ञतालाई कसरी पुँजीकरण गर्न सक्छ भन्ने पक्ष पनि यो सम्मेलनको थप महŒवको पाटो हो।

विगतमा व्यक्तिगत वा सामूहिक लगानीमा बैंक, अस्पताल, पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी भएका छन्। त्यस्तै आपत्विपत् तथा विभिन्न बेला गरिने सहयोगमा समेत एनआरएनएले सहभागिता जनाएको छ। गत वर्ष यसले मातृभूमिबारे विधागत गम्भीर छलफल र चिन्तासमेत देखायो। मुलुकका निम्ति यस्ता जमघट अन्तर्राष्ट्रिय लबिङ र आर्थिक कूटनीतिका लागि मात्र नभई विकासका लागि स्रोत–साधन जोहो गर्ने र लगानी भिœयाउने अवसर र आधार पनि बन्न सक्छ, बन्नुपर्छ।

प्रवासमा आफ्नो प्रतिष्ठा मूल देशको प्रतिष्ठासँगै जोडिने भएकाले नेपालमा हुने हरेक घटनामा सरोकार राखेर मात्रै गैआनेले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो इज्जत बढाउन सक्छन्। लाहुरेको कुम्भमेला र गाउँमा हुने रामरमिता तथा भोजभतेरभन्दा यो सम्मेलन फरक, मातृभूमिलाई केही दिन सक्ने बनोस्। आफ्नो जातीय र राष्ट्रिय पहिचान विश्वमा फैलाउन सकोस्।

अनेकौं संस्कृतिमा अभ्यस्त, विभिन्न भूमिकामा व्यस्त, भिन्न सोच, सम्बन्ध र हैसियत भएकाहरूको जमघट एकै ठाउँ पुख्र्यौली थलोमा हुनु गर्वको विषय हो। तर यो वार्षिक भेलामार्फत दुई÷चारवटा शीर्षकमा घोषणा तथा दान गरेर, मिडियामा चर्चा गराएर, राजनीतक शक्ति केन्द्रसँग मात्रै सम्बन्ध बढाएर गैआनेको भूमिका पूरा भएको भन्न र मान्न सकिँदैन। बोराभित्रका आलुजस्तै हरेक गैआनेको अवस्था र हैसियत सानो–ठूलो छ। तसर्थ आफ्नो औकातअनुसार भोजभतेर ख्वाउने, हल्लाखल्ला गर्ने मात्रै गरेर कर्मथलो फर्किने मात्र हो भने सहभागी र हर्ताकर्ताको परिचय पनि सनातनी लाहुरेको भन्दा फरक हुने छैन।

प्रकाशित: २७ आश्विन २०७६ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App