७ वैशाख २०८१ शुक्रबार
अर्थ

दुवैतर्फबाट निर्माण अघि बढ्यो

ताप्लेजुङ – ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ। लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट निर्माण कार्य अघि बढाएको हो।

गत असोज १२ गतेदेखि चीनको तिब्बतबाट भाडामा ल्याइएका चारवटा मेसिनमार्फत ओलाङचुङ्गोला बस्तीदेखि लेलेपतर्फको भागमा झण्डै डेढ किलोमिटर ट्र्याक खोलिसकिएको छ। एलाइटले फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरी तिब्बतबाट मेसिन औजारसहित जनशक्ति भाडामा ल्याएर काम अघि बढाएको हो।

यता सदरमुकाम तर्फबाट लेलेपको लुङथुङसम्म ट्र्याक खोलिसकिएको छ भने दसैं बिदामा निस्किएका कामदारसमेत फर्किएर काम सुरु गर्ने तयारीमा रहेको एलाइट कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए। पाँचवटा ठूला मेसिन लगाएर काम गरिरहेको उनको भनाइ छ। लामिछानेका अनुसार दुवैतर्फबाट काम अघि बढेकाले एक वर्षभित्रै ओलाङचुङ्गोला सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिनेछ। जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम भइरहे पनि भौगोलिकरूपले कठिनाइ र स्थानीयको अवरोध आदिले ढिलाइ भइरहेको लामिछानेको भनाइ छ। अब झण्डै २० किलोमिटर ट्र्याक खोल्न बाँकी छ।

उता दुई वर्षअघि नै चीनको तिब्बतबाट ओलाङचुङ्गोला बस्तीसम्म ट्र्याक खुलिसकेको छ। स्थानीयको समेत लगानी रहेको टिपतालादेखि ओलाङचुङ्गोला बस्तीसम्मको झण्डै २१ किलोमिटरको ट्र्याक खोल्न झण्डै तीन करोड रुपैयाँ लागेको थियो। सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने ओलाङचुङ्गोलामा हाल बसोबास गरिरहेका र यहाँ जन्मिएर देश तथा विदेशमा रहेकाले पैसा जम्मा गरी बाटो खनाएका थिए। चाँडै गाडी चढ्ने सपनासहित आफैं लगानी गरेर सडक खनाएका स्थानीय सर्वसाधारणले भने उक्त सडकमा अझै गाडी चढ्न पाएका छैनन्।

छोटो दूरीमा नै प्रदेश १ लाई दुई छिमेकी मुलुक चीन र भारतसँग जोड्ने रणनीतिक महŒवको सडक भए पनि निर्माण कार्य भने कछुवाको गतिमा रहेको भन्दै स्थानीयवासीले गुनासो गर्ने गरेका छन्। पूर्वको समृद्धिसँग जोडिएको यो सडकलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउनु पर्नेमा स्थानीयवासीको जोड छ। छिमेकी मुलुक भारत र चीनलाई १४ वटा सडक सञ्जालले जोड्ने सरकारको योजनाअनुसार लोकमार्गको ट्र्याक खोल्ने काम सुरु भएको थियो। तर, पर्याप्त बजेट विनियोजन नहुँदा निर्माणले गति लिन नसकेको बताइएको छ। यो सडक निर्माण पूरा भए ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैंची, चिराइतोलगायत जडीबुटी चीन र भारत निर्यातमा सहज हुने स्थानीय व्यवसायी बताउँछन्।रासस

प्रकाशित: २७ आश्विन २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App