६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

जनावरको रौंबाट बनेको उत्पादित बस्तुमा प्रतिबन्ध

क्यालिफोर्निया – संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्य जनावरको रौंबाट बस्तु उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ।

सरकारी घोषणासँगै क्यालिफोर्निया राज्यमा बस्ने स्थानीयले आउँदो सन् २०२३ बाट जनावरको रौंबाट बन्ने सामान बेच्न वा कपडा, जुत्ता वा ह्यान्डब्यागसमेत बनाउन पाउने छैनन्।

जनावरको रौंको प्रयोग र बिक्री वितरणमा रोक लगाउने सरकारी निर्णयको रौं सूचना परिषद्का प्रवक्ता केथ काप्लानले भने आलोचना गरेका छन्।

जनावरको रौंबाट निर्मित बस्तुको उत्पादन र बिक्री वितरणमा रोक लगाउने सरकारी निर्णयलाई पशु अधिकारकर्मीले स्वागत गरेका छन्। उनीहरुले लामो समयदेखि जनावरको रौंबाट सामान उत्पादन र बिक्री वितरणका लागि प्रतिबन्ध लगाउन माग गर्दै आइरहेका थिए।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले यसबाहेक सर्कस सोमा अधिकांश जनावर प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयकमा पनि हस्ताक्षर गरेका छन्। यस प्रतिबन्धमा कुकुर, बिरालो र घोडा भने परेका छैनन्।

‘जनावरको हक हितको विषयमा क्यालिफोर्निया जहिले पनि नेतृत्वका रूपमा अगाडि आएको छ र आज नेतृत्वले जनावरको रौंको प्रयोग र बिक्री वितरणमा पनि रोक लगाएको छ,’ गभर्नर न्युसमले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

सरकारी प्रतिबन्धले जनावरको रौंलाई सम्बोधन गरे पनि यसले जनावरको छाला प्रयोगलाई भने प्रतिबन्ध गरेको छैन। सरकारी प्रतिबन्ध उल्लंघन गरेको पाइएमा पाँच सय डलर जरिवाना गरिने र फेरि दोहो¥याएमा एक हजार डलर जरिवाना गरिने गभर्नरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘हामी गभर्नर न्युसमलाई धन्यवाद दिन चाहन्छौं र जनावरका रौंबाट उत्पादन हुने बस्तु प्रयोग गर्न राज्यका जनताले चाँहदैनन् भन्ने सन्देश प्रवाह गर्नका लागि राज्यका सांसदले खेलेको भूमिकाप्रति पनि कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ ह्युमन सोसाइटी अमेरिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जनावरको रौंको प्रयोग र बिक्री वितरणमा रोक लगाउने सरकारी निर्णयको रौं सूचना परिषद्का प्रवक्ता केथ काप्लानले भने आलोचना गरेको बिबिसीले उल्लेख गरेको छ।

‘हामीले के लगाउँछौं वा के खान्छौं भन्ने विषयमा बन्देज लगाउनका लागि अतिवादी भेगनहरुले उठाएको अजेन्डालाई संस्थागत गर्नका लागि यो पहिलो कदमका रूपमा ल्याइएको छ,’ प्रवक्ताको विज्ञप्तिमा जनाइएको छ।

गत मे महिनामा प्रदा नामक फेसन हाउसले पनि सन् २०२० बाट जनावरको रौंको प्रयोग रोक्ने घोषणा गरेको थियो। गत फेब्रुअरी महिनामा बेलायतको सेल्फ्रिज्स्ले सन् २०२० को फेब्रुअरी महिनाबाट विदेशबाट ल्याइएका जनावरको छाला बिक्री वितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

प्रकाशित: २७ आश्विन २०७६ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App