८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बुर्किना फासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

बुर्किना फासो – अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।

स्थानीय प्रहरीले दिएको जानकारीअनुसार सो आक्रमणका कारण अन्य पाँचजना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताइएको छ।

बुर्किना फासोको राजधानीबाट करिब दुई सय ६९ किलोमिटर उत्तरमा रहेको साल्मोसी गाउँमा सो आक्रमण भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। गाउँमा रहेको ग्रान्ड मस्जिदमा शुक्रबारको प्रार्थना चलिरेको बेला बन्दुकधारीहरु प्रवेश गरेर सो आक्रमण गराएको बताइएको छ। आक्रमणपछि सो गाउँका कैयौं स्थानीय गाउँ छोडेर मालीसँगको सिमा नजिकै पर्ने गाउँमा गएका छन्।

बुर्किना फासो सरकारले भने सो आक्रमणका बारेमा कुनै टिप्पणी गरेको छैन। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

सन् २०१५ यता बुर्किना फासोमा लगातार आतंकवादी आक्रमण भइरहेका छन्। जसका कारण पाँच सयभन्दा बढी मानिसको मृत्यु हुनुका साथै दुई लाख ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा शृंखलाबद्ध आतंकवादी आक्रमण भइरहेका छन्। मानिस सुरक्षित स्थलको खोजी गर्दै विस्थापित हुने क्रम बढेको छ।सरकारले आतंकवादी आक्रमण भएका र असुरक्षित ठानिएका विभिन्न क्षेत्रमा आपतकालीन स्थितिको घोषणा गर्दै कफ्र्यू लगाएको छ।

 

प्रकाशित: २७ आश्विन २०७६ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App