८ वैशाख २०८१ शनिबार
अर्थ

आधा बजेट महानगरकेन्द्रित

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ र २० मा पर्ने रानीपोखरी। सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत रानीपोखरीमा पूर्वाधार निर्माणको काम अघि बढाइएको छ। तस्बिर : सविता/नागरिक

चितवन – सहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनले हाल कार्यान्वयन गरिरहेको आयोजनामध्ये आधाजसो भरतपुर महानगरपालिका केन्द्रित भेटिएको छ। २२ वटा आयोजना कार्यान्वयनमा छन्। आयोजनासँग रहेकोमध्ये आधाभन्दा बढी बजेटबाट भरतपुर महानगरपालिकाभित्र पूर्वाधार निर्माणका काम भइरहेको आयोजना प्रमुख कुमारप्रसाद घिमिरे बताउँछन्।

‘आयोजनाले अहिले चार जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘आधा बजेट महानगरका लागि मात्र छ।’ आयोजनाले करिब चार अर्बका योजनामा काम अघि बढाएकोमा दुई अर्ब जति  रकमको योजना महानगरपालिका केन्द्रित छ। आयोजनाअन्तर्गत अहिले महानगरपालिकाभित्र विभिन्न प्याकेजबाट विकास निर्माणका काम भइरहेको उनले बताए। यसमा महानगरीय रिङरोड र लिंक रोडहरु निर्माण हुँदैछन्। प्याकेज अन्तर्गत करिब ६० किलोमिटर सडक कालोपत्रेको काम अघि बढाइएको छ। सडक कालोपत्रे गर्न दुईवटा प्याकेज अन्तर्गत १३ वटा आयोजना सञ्चालन गरिएको छ।

२०७७ असार मसान्तसम्म सक्ने गरी प्याकेज १ अन्तर्गत ३२.५ किलोमिटर सडक कालोपत्रे गर्न ७७ करोड ८३ लाख ५८ हजार रुपैयाँमा सम्झौता भएर काम अघि बढेको छ। प्याकेज नम्बर २ अन्तर्गत २६.५ किलोमिटर सडक पनि २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरेर काम सुरु गरिएको छ। यो प्याकेजको निर्माण सम्झौता ६८ करोड २३ लाख १५ हजार रुपैयाँमा गरिएको छ। प्याकेज १ र २ दुवैको कार्यसम्पन्न प्रगति ४० प्रतिशत रहेको आयोजनाकी सूचना अधिकारी इन्जिनियर सृष्टि भुसालले जानकारी दिइन्। यसबाहेक भरतपुर महानगरमा आयोजनाका तर्फबाट रानीपोखरी, लक्ष्मीनारायण पार्क, बसपार्कका लागि ३६ करोड ६७ लाख ९७ हजार रुपैयाँको लगानीमा पूर्वाधार तयार गर्ने काम भइरहेको छ।

यो आयोजना अन्तर्गत पनि कार्यसम्पादन प्रगति ४० प्रतिशत छ। ११ करोड २१ लाख आठ हजार रुपैयाँको लागतमा सुरु गरिएको देवघाटमा विद्युतीय शवदाहगृह निर्माणको काम १५ प्रतिशत सकिएको छ। भरतपुर अस्पतालमा ६ करोड ८१ लाख ३० हजार रुपैयाँको लागतमा बनाउँदै गरिएको कुरुवा घरको काम ६५ प्रतिशत सकिएको छ। आयोजना अन्तर्गत चितवनमा रत्ननगरमा सभाहल निर्माणको काम भइरहेको छ। १८ करोड ७३ लाख ७८ हजारको लागतमा निर्माण हुँदै गरेको सभाहलको काम ७५ प्रतिशत सकिएको छ।

७८ लाख आठ हजारको लागतमा लोथरमा निर्माण भइरहेको स्वास्थ्य चौकीको काम पनि ९५ प्रतिशत सकिएको सूचना अधिकारी भुसाल बताउँछिन्। यसबाहेक अहिले नयाँ योजनाका रुपमा सौराहामा सभाहल निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढेको छ। आयोजना अन्तर्गत चितवनमा मात्र दुई अर्ब १४ करोड १६ लाख बजेटमा योजना सञ्चालन गरिएका छन्।

पूर्वी र पश्चिम नवलपरासीमा एक अर्ब तीन करोड २४ लाख र मकवानपुरमा ४६ करोड दुई लाखमा विकास निर्माणको काम भइरहेको छ। नवलपरासीमा सडक, पुल, हाटबजार पूर्वाधार, स्वास्थ्य चौकी निर्माण गरी आठवटा योजनामा काम भएको छ।

मकवानपुरमा अस्पताल, नर्सिङ क्वाटर, सहिद स्मारकमा पूर्वाधार, सडक निर्माण, क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवन निर्माण गरी पाँचवटा योजनाका काम अघि बढेका छन्। यस्तै, आयोजनाको कार्यालयले सुरक्षित नागरिक आवास कार्यक्रम पनि अघि बढाएको छ। जस अन्तर्गत चितवनमा पाँच सय, नवलपरासीमा दुई सय ४० र मकवानपुरमा पाँच सय घरलाई खरको छानोमुक्त बनाउने काम अघि बढाइएको भुुसाल बताउँछिन्। यसअन्तर्गत एउटा घरका लागि आयोजनाले ५० हजार रुपैयाँ सहयोग गर्नेछ। चितवनमा टिनले छाउने घरमध्ये तीन सयवटा भरतपुर महानगर र दुई सयवटा माडी नगरपालिकामा बनाइने छ। महानगरमा ६५ वटा घरले टिन लगाइसकेका छन्।

सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गतको आधा बजेट महानगर केन्द्रित हुनु भनेको महानगर पूर्वाधार विकासमा अघि बढ्दै गरेको एक उदाहरण भएको महानगरपालिकाकी मेयर रेणु दाहाल बताउँछिन्। जनताको भावनाअनुसार खुला र पारदर्शी ढंगबाट काम अघि बढाउन महानगर तत्पर रहेको उनको भनाइ छ। ठूला आयोजना भने अध्ययन, काम र सम्पन्न गर्न समय लाग्ने उनले बताइन्। महानगरको महत्वाकांक्षी योजनाहरु सिटी हल, बहुउद्देश्यीय व्यापारिक भवन, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइड निर्माणको काम अघि बढेको उनी बताउँछिन्।

प्रकाशित: २७ आश्विन २०७६ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App