coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साफ यु–१५ महिला च्याम्पियनसिप, भुटानसँग नेपालको बराबरी

काठमाडौं – सुखद नतिजाका लागि मैदान उत्रिएको नेपाल सुरुआती अग्रतालाई जोगाउन नसक्दा साफ यु–१५ महिला च्याम्पियनसिपमा आइतबार आयोजक भुटानसँग १–१ गोलको बराबरी रोकिएको छ।

अंकविहीन बनेको नेपालले तालिकामा एक अंक जोड्दै प्रतियोगितामा बिट मारेको छ। पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग २–१ ले स्तब्ध भएको थियो। प्रतियोगिताबाट एक खेलअगावै बाहिरिसकेको नेपाल सुखद अन्त्यको खोजीमा मैदान उत्रिए पनि अन्तिम २५ मिनेट सम्हालिन नसक्दा बराबरीमा रोकिएको हो।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा नेपालले केही राम्रा अवसर सिर्जना गरे पनि अग्रपंक्तिले सदुपयोग गर्न सकेन। दबाब दिँदै आक्रामक खेले पनि पहिलो हाफमा नेपालले आयोजक भुटानसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो हाफमा आक्रामक देखिएको नेपालका लागि ५०औं मिनेटमा निकिता थोकरले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएकी थिइन्। करिब ३० यार्ड टाढा भएको फाउलमा प्राप्त फ्रिकिक अवसरलाई निकिताले सदुपयोग गर्दै अग्रता दिलाउन सफल भएकी थिइन्। भुटानकी गोलकिपर अगाडि बढेसँगै पेनाल्टी क्षेत्रमा बाउन्स भएको बल गोलमा परिणत भएको थियो।

मुख्य प्रशिक्षक राकेश श्रेष्ठले घरेलु टोली भुटानविरुद्वको खेलमा तीन खेलाडीलाई परिवर्तन गरेका थिए। श्रेष्ठले बंगलादेशविरुद्व पछिल्लो खेलमा उत्रिएका सुष्मा घर्तीमगर, निकिता थोकर, मन्दिरा राईलाई आराम दिए पनि निकिता वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गर्न सफल भएकी हुन्। तीन नयाँ खेलाडीमा मन्जुकुमारी खड्का, ममता पुन र सुनकला राईलाई सुरुआती प्लेइङ सेटमा समेटिएको थियो।

नेपालले अग्रता लिइसकेपछि खेलमा फर्किन संघर्षरत घरेलु टोलीले त्यसपछि आक्रामक खेल खेल्यो। ६७औं मिनेटमा भुटानका लागि देकी लाजोमले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन्। यससँगै भुटानको पनि अन्तिम खेलमा सुखद नतिजा निकाल्ने लक्ष्य विफल भएको छ। चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल तेस्रो भएको छ भने भुटान चौथो भएको छ। नेपाल र भुटानको समान १÷१ अंक भए पनि गोलअन्तरमा नेपाल तेस्रो भएको हो। प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ। उपाधिका लागि भारत र बंगलादेश आमनेसामने हुनेछन्।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल तेस्रो भएको छ भने भुटान चौथो भएको छ। नेपाल र भुटानको समान १÷१ अंक भए पनि गोलअन्तरमा नेपाल तेस्रो भएको हो।

प्रकाशित: २७ आश्विन २०७६ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App