६ वैशाख २०८१ बिहीबार
खेल

रामोसको कीर्तिमान

ओस्लो – स्पेनका कप्तान सर्जियो रामोसले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान रचेका छन्। युरो कप २०२० को छनोटअन्तर्गत शनिबार नर्वेविरुद्ध १–१ को बराबरीमा रोकिएको खेलसँगै उनले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

रामोसले स्पेनकै पूर्वकप्तान इकर कासिलसको नाममा रहेको १ सय ६७औं खेलको कीर्तिमान तोडेका हुन्। समूह ‘एफ’ मा ७ खेलमा १९ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ। स्पेनले मंगलबार स्विडेनसँग बराबरी खेले मात्र पनि युरो कपको टिकट पक्का गर्नेछ।

‘मेरो व्यक्तिगत कीर्तिमानभन्दा पनि टोलीको सुखद नतिजाले धेरै अर्थ राख्छ,’ रामोसले भने, ‘जितका साथ १ सय ६८औं क्याप भएको भए म अझै खुसी हुन्थें। तर पनि म यो कीर्तिमान अझै केही वर्षसम्म कायम रहनेमा विश्वस्त छु। म स्पेनको जर्सीमा मैदान उत्रिएको प्रत्येक खेल सम्झन्छु। म अझै केही वर्ष राष्ट्रिय टोलीमा योगदान दिन चाहान्छु।’

रियाल मड्रिडका रक्षक ३३ वर्षे रामोसले २००५ मा स्पेनिस राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। स्पेनले २००८ र २०१२ को युरो कप तथा २०१० को विश्वकपको उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए।

 

प्रकाशित: २७ आश्विन २०७६ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App