७ वैशाख २०८१ शुक्रबार
खेल

इटाली छनोट हुने दोस्रो टोली

पेरिस – इटाली २०२० युरो कपका लागि छनोट हुने दोस्रो टोली भएको छ। यसअघि बेल्जियम पहिलो टोलीका रूपमा युरो कपका लागि छनोट भइसकेको छ।

शनिबार भएको खेलमा इटालीले ग्रिसलाई २–० ले पराजित गरेसँगै इटाली समूह ‘जे’ बाट युरो कप २०२० का लागि छनोट हुने दोस्रो टोली भएको हो। छनोटअन्तर्गत शनिबार भएको खेलमा तीन पटकको युरो कप च्याम्पियन स्पेनले नर्वेसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ। इन्जुरी समयमा सम्हालिन नसक्दा स्पेन नर्वेसँग अंक बाँड्न बाध्य भएको थियो।

युरो कप २०२० का लागि छनोट हुने दोस्रो टोली इटाली यसअघि २०१८ को विश्वकपमा छनोट हुन असफल भएको थियो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गर्दै ग्रिसमाथि जित निकालेको हो। ६३औं मिनेटमा चेल्सीका मिडफिल्डर जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ७८औं मिनेटमा युभेन्ट्सका फेड्रिको बेर्नार्डडेस्चीले गोल गर्दै टोलीको जितलाई सुनिश्चित गरेका थिए। यससँगै समूह ‘ए’ मा रहेको इटालीले लगातार सातौं जित निकालेको छ।

युरो कप २०२० का लागि छनोट हुने दोस्रो टोली इटाली यसअघि २०१८ को विश्वकपमा छनोट हुन असफल भएको थियो।

‘छोटो अवधिमा टोलीको निर्माण गर्दै युरो कप छनोटमा उभिएका थियौं। छनोटका लागि त्यति सहज थिएन। तर खेलाडीको अथक मिहिनेतका कारण हामी सुखद नतिजा निकाल्न सफल भयौं। खेलाडीलाई धन्यवाद दिन चाहन्छु,’ १८ महिनादेखि इटालियन टोली सम्हालेका रोबर्टो मानसिनीले भने, ‘टोलीमा विपक्षी खेलाडीलाई नियाल्दै प्रतिस्पर्धा गर्ने क्षमता धेरै छ। सबै खेलाडीमा आपसी तालमेल राम्रो छ। यद्यपि आगामी खेलका लागि सुधारका पाटा धेरै छन्।’

‘युरोपका टिम धेरै बलिया छन्। अझै सुधार गर्दै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्नु हामीलाई निकै चुनौती छ,’ प्रशिक्षक मानसिनीले थपे, ‘युरो कप हामीलाई पुनरुदित शक्तिको रूपमा प्रमाणित गर्ने अवसर पनि हो। इटालियन टोलीलाई सम्हाल्न पाउँदा खुसी लागेको छ।’

छनोटअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा स्पेन नर्वेसँग इन्जुरी समयको गोलपछि बराबरीमा रोकिएको छ। पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा आक्रामक देखिएको स्पेनले ४७औं मिनेटमा अग्रता लिएको थियो। तर अग्रता इन्जुरी समयको अन्तिम मिनेटमा विपीक्षीलाई रोक्न नसक्दा अंक बाँड्न बाध्य भएको हो। ९४औं मिनेटमा नर्वेले पेनाल्टीबाट गोल गर्दै भ्रमणकारी टोलीको अग्रतालाई बराबरीमा ल्याउन सफल भएको थियो। स्पेनका लागि साउल निग्युजले गोल गर्दै अग्रता दिलाएका थिए। तर इन्जुरी समयमा जोस्वा किंगले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

शनिबार स्पेन नर्वेसँग प्रतिस्पर्धा गर्दा सर्जियो रामोस अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक सहभागिता जनाउने खेलाडी भएका छन्। १ सय ६८ खेल खेलेका रामोसले इकर कासिलासको कीर्तिमानलाई भंग गरेका हुन्।

‘अन्तिम सेकेन्डमा अंक गुमाउनुपर्दा निकै पीडा महसुस भइरहेको छ। आपसमा चिनजान भएको टोलीसँग प्रतिस्पर्धा गर्न निकै कठिन हुने रहेछ,’ स्पेनका कप्तान रामोसले भने।

नर्वे यसअघि २००० मा युरोपियन च्याम्पियनसिपमा सहभागिता जनाएको थियो। आफ्नो समूहमा नर्वे चौथो भएको थियो।
शनिबार भएको अर्को खेलमा स्विडेनले माल्टालाई ४–० ले हरायो। भ्रमणकारी टोली स्विडेनले ११औं मिनेटमा गोलको खाता खोलेको थियो। स्विडेनका लागि मार्कुस ड्यालिसनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको स्विडेन दोस्रो हाफमा थप तीन गोल गर्न सफल भएको थियो। ५८औं मिनेटमा स्विडेनका सावास्तियन लार्सनले पेनाल्टीबाट अग्रता दोब्बर पार्दा ६६औं मिनेटमा उपहार गोल पाएको थियो। ७१औं मिनेटमा लार्सनले नै व्यक्तिगत दोस्रो गोल गर्दा स्विडेन फराकिलो जित निकाल्न सफल भएको हो।

युरो कप २०२० का लागि छनोट भएको दोस्रो टोली इटालीको ७ खेलबाट २१ अंक भएको छ। पराजित ग्रिस भने ७ खेलबाट ५ अंकका साथ समूह तालिकाको पाँचांै स्थानमा छ। समान ७ खेलबाट १९ अंक बनाएको स्पेन समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदा नर्वे समान ७ खेलबाट १० अंकका साथ समूह तालिकाको चौथो स्थानमा छ।
 

प्रकाशित: २७ आश्विन २०७६ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App