५ वैशाख २०८१ बुधबार
समाज

मृत बच्चा झिकेर घाइते गर्भवतीको ज्यान बचाइयो

फाइल फोटाे

सिन्धुपाल्चोक– अप्रेसन गरी पेटबाट मृत शिशु निकालेर बडहरे बस दुर्घटनाकी गम्भीर घाइते एक गर्भवती महिलाको ज्यान बचाइएको छ। इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन्। उनको पेटमा सात महिना पूरा भएको गर्भ थियो।

काभ्रेको धुलिखेल अस्पतालले पेटमै निधन भएको शिशु अप्रेसन गरी निकालेर सुनिताको ज्यान बचाएको हो। दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएको थियो। अस्पतालमा पुग्दा चिकित्सकले गर्भको शिशुको ज्यान गइसकेको घोषणा गरेका थिए। औषधी सेवनले समेत मृत शिशु घाइते आमाको कोखबाट प्राकृतिक तवरले बाहिर निस्कन नसक्ने बताउँदै चिकित्सकले अप्रेसन गर्न सुझाएको उनका काका अमर तामाङले बताए।

‘शिशु त बितिसक्यो। आमालाई बचाउन तत्काल अप्रेसन गर्नुपर्छ,’ चिकित्सकको भनाइ उदृत गर्दै तामाङले भने, ‘अप्रेसनबाट बच्चा निकाल्दैमा आमालाई बचाउन सकिन्छ भन्ने छैन्। तै पनि प्रयास गर्छौँ।’ परिवारले स्वीकृति जनाएपछि चिकित्सक टोलीले जोखिम मोलेको उनले जानकारी दिए। अप्रेसनपछि दुई घण्टा बेहोस भइ होसमा आएकी सुनिताको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र अवस्था खतरामूक्त रहेको चिकित्सकले बताएका छन्।

‘उनी (सुनिता) प्रहरीको गम्भीर घाइतेको सूचीमा छिन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले भने। इन्द्रावती–९ भोटसिपाकी उनी दसैं मनाएर राजधानी फर्कँदै गर्दा दुर्घटनामा परेकी थिइन्। उनको टाउको र पेटमा चोट लागेको थियो। टाउकोको चोटले उनको आँखामा असर पु¥याएकाले अर्को अप्रेसनका लागि चिकित्सकले सुझाएको सुनिताका काका तामाङले बताए। अस्पतालले मृत शिशुको शनिबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको थियो। बडहरे बस दुर्घटनामा चालकसहित ११ को ज्यान गएको थियो भने एक सय ६ यात्रु घाइते भएका थिए।

यसैबीच दुर्घटनामा आफन्त गुमाएका पीडित परिवारलाई बाह्रविसे नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ।

प्रकाशित: २६ आश्विन २०७६ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App