८ वैशाख २०८१ शनिबार
समाज

हजार वर्ष पुराना मूर्ति छानी-छानी चोरिए

जुम्ला- चन्दननाथ नगरपालिकास्थित चन्दननाथ मन्दिरबाट दत्तात्रयसहित २८ मूर्ति चोरी भएको छ। आइतबार राति १ बजे मन्दिरपछाडिको ढोका फोरेर महँगा र महत्वपूर्ण देवीदेवताका मूर्ति चोरिएका मन्दिरका पुजारीले बताएका छन् । चोरिएका धेरै मूर्ति हजार वर्षभन्दा पुराना भनिएको छ।

'राति १ बजे पिसाब फेर्न निस्कँदा पछाडिको ढोका खुलेको देखेँ,' पुजारी चन्द्रमौलेश्वर गिरीले भने, 'लगत्तै मन्दिरमा बस्ने सबैलाई खबर गरेँ।' मूर्ति राखिएको स्थानको ढोका खुलै रहेको र भित्र गएर हेर्दा महँगा मुख्य मूर्ति दत्तात्रयसहित साना–ठूला गरी २८ मूर्ति चोरी भएको उनले बताए। उनका अनुसार ६ हात लामो र १६ इन्च चौडाइको दत्तात्रय मूर्ति पाँच धार्नी चाँदी र तीन तोला सुनको थियो।

स्थानीय पूर्णसिंह कठायतका अनुसार दत्तात्रयको मूर्ति २००८ सालमा स्थापना गरिएको हो। त्रिमूर्तिजडित दत्तात्रय मन्दिरको सबैभन्दा ठूलो मूर्ति हो।

मन्दिरमा रहेका गणेश, दुर्गा, शिव, पार्वती, सीता, गौतमबुद्ध, महांकालका महŒवपूर्ण मूर्ति हराएका हुन्। सबै मूर्ति सुन, पितल र चाँदीजडित थिए। मन्दिरको आकर्षण अत्यन्तै महँगा मानिएका दायाँ र बायाँ शंखसमेत चोरी भएका छन्। चोरले महँगा मूर्ति छानेर लगेका छन् भने साना र कम मूल्यका मूर्ति उठाएका छैनन्।

स्थानीय पूर्णसिंह कठायतका अनुसार दत्तात्रयको मूर्ति २००८ सालमा स्थापना गरिएको हो। त्रिमूर्तिजडित दत्तात्रय मन्दिरको सबैभन्दा ठूलो मूर्ति हो।

चन्दननाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष गौरीनन्द आचार्य मन्दिरभित्र ४५ मूर्ति रहेकोमा २८ मूर्ति अपुग भएको बताउँछन्। 'चोरी हुँदा पुजारीलगायत मन्दिरभित्र बस्ने मान्छे र अन्य भौतिक संरचनामा कुनै नोक्सानी पुगेको छैन,' आचार्यले भने।

 मन्दिरको अगाडिपट्टिको ढोका नफोरी छानिछानी मूर्ति चोरी भएपछि स्थानीयले यसप्रति आशंका व्यक्त गरेका छन्। गुठी समितिका उपाध्यक्ष हरि श्रेष्ठ पुजारी तथा ड्युटीमा बसेको प्रहरीको मिलेमतोमा चोरी हुनसक्ने आशंका गर्छन् ।

मंसिर १५ गते गुठी समिति गठन हुँदै थियो, त्यसलाई प्रभावित पार्न र यहाँको रैथाने मौलिकता उखेल्न गरिएको यो कार्यप्रति स्थानीयले आपत्ति प्रकट गरेका छन्। १९९२ सालमा तिब्बत र नेपालको लडाइँमा नेपालले विजय प्राप्त गरेकाले मन्दिरमा ५२ हाते विजय खम्बा हालिएको छ। यसको श्रेय चन्दननाथ मन्दिर र चन्दननाथ बाबालाई जान्छ।

प्रशासन कार्यालयबाट नजिक रहेको मन्दिरबाट मूल्यवान मूर्ति चोरी हुनुलाई स्थानीयले रहस्यमय ठानेका छन्। 'मन्दिरको सुरक्षार्थ खटिएका प्रहरी, स्थानीय प्रशासनको विश्वास टुट्यो,' स्थानीय राजु महतले भने, 'जुम्लालाई छुने सबै पैदल नाकाबन्दी गरेर कडा खोजी गर्नुपर्छ।' सातौं शताब्दीमा चन्दननाथ बाबा जुम्ला आएपछि चरणपादुका बनाई दत्तात्रय मूर्ति राखेको किंवदन्ती छ।

स्थानीय प्रहरी–प्रशासनको मिलेमतोमा मूर्ति चोरी भएको र तत्काल मूर्ति फिर्ता गर्न भन्दै जुम्लावासीले खलंगामा नारा–जुलुस गरेका छन्। सबैजसो खलंगावासी मन्दिर परिसर पुगेर मूर्ति खोजीका लागि प्रशासनलाई दबाब दिएका छन्। उनीहरुले मूर्ति फिर्ता गराएर कर्णालीको पहिचान कायम गराउन स्थानीय प्रशासनसमक्ष माग गरेका छन्।  

नाराजुलुस भएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले सयौंको संख्यामा प्रहरी परिचालन गरेको छ। मन्दिरका पुजारी चन्द्रमौलेश्वर  गिरीलगायत मन्दिरमा बस्ने अन्य व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

स्थानीय पूर्णसिंह कठायतका अनुसार अधिकांश चार सय वर्ष पुराना मूर्ति चोरी भएका हुन्। प्रहरी प्रशासन मुर्दावाद, मूर्ति चोरलाई फासी दे, कर्णालीको पहिचान मेटाउनेलाई कारबाही गर् जस्ता नारा लगाउँदै स्थानीय युवाले आइतबार खलंगा बजार बन्द आह्वान गरे। बजार, यातायात, सरकारी तथा गैरसरकारी कार्यालय पूर्ण रूपमा बन्द रहे।

मूर्तिचोर पत्ता नलागुन्जेल अनिश्चितकालीन बन्द आह्वान गरिएको स्थानीय युवा बालकृष्ण बुढाले जानकारी दिए। 'कर्णालीको पहिचान मेटाउने गरी गरिएको कुकृत्यको भण्डाफोर गर्नुका साथै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ,' उनले भने।

स्थानीयले दिनभर बसपार्क र जिल्ला प्रहरी कार्यालयनजिकै टायर बालेर विरोध जनाए। जिल्ला प्रशासन कार्यालयमा नागरिक सामाज, राजनीतिक दल र स्थानीय प्रशासनको बैठक बसी मूर्ति चोरीबारे अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरिएको छ। त्यस्तै, मन्दिरको सुरक्षा दिन नसक्ने प्रहरी प्रशासनको राजीनामा  र कारबाहीको माग गरिएको छ।

मूर्तिचोर पत्ता लगाउन तालिमप्राप्त कुकुरसहित तीन सुरक्षाकर्मी जुम्ला पुगेका छन्। स्थानीय भक्तले दक्षिणा संकलन गरेर कालभैरवलाई बलि दिएका छन्।

१८४६ सालमा दरबार आगलागी भएपछि मूर्तिका अभिलेख जलेका थिए। अहिले मन्दिरको कुनै इतिहास छैन, तिनै मूर्तिबाहेक।

गुठी समितिले पुरातŒव विभाग र गुठी समितिको केन्द्रीय कार्यालयमा अनुसन्धान प्रक्रियालाई सहयोग पुग्ने खालको कार्यक्रम तर्जुमा गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले चोरिएका मूर्तिको खोजतलासका लागि जिल्लाका सबै स्रोत, शक्ति र साधन परिचालन गर्ने बताए।

'मूर्ति चोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालय समेतले अनुसन्धानका लागि निर्णय गरिसकेको छ,' उनले भने, 'सुरक्षाकर्मी र स्थानीय प्रशासनबाट कुनै प्रकारको मिलेमतो भएको छैन, यसमा शंका गर्नुपर्ने देखिँदैन।' अनुसन्धान नहुँदासम्म पूजाआजा रोक्ने गुठी समितिले निर्णय गरिसकेको छ।

शिक्षण संस्था ठप्प

कर्णालीको धरोहर चन्दननाथ मन्दिरबाट मूर्ति चोरी हुँदा स्थानीय प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै यहाँका विद्यार्थी सडकमा उत्रिएका छन्। खलंगा आसपासका सबै शिक्षण संस्थाका विद्यार्थी सडकमा उत्रिएर चोरी भएका मूर्ति तत्काल फिर्ता ल्याउन प्रशासनलाई दबाब दिएका छन्।

तत्काल छानबिन गरी मूर्ति फिर्ता नल्याएसम्म विद्यार्थीले सडकमै आन्दोलन गर्ने बताएका हुन्। विद्यार्थी आन्दोलित भएपछि जिल्ला प्याब्सनले निजी शिक्षण संस्था अनिश्चित रुपमा बन्द आह्वान गरेको छ। प्याब्सन, जुम्लाका महासचिव जीवन गुरागाईंले परीक्षा नजिकिँदै गर्दा विद्यार्थी आन्दोलनमा होमिनुपरेकामा दुःख व्यक्त गरे। 'विद्यार्थी सडकमा आउँदा अभिभावकलाई दुःख लागेको होला,' महासचिव गुरागाईंले भने, 'पहिचान नै गुम्ने घटना घटेपछि किताब हेरेर विद्यार्थी स्कुलमा बस्न सकेनन्।'

प्रकाशित: १३ मंसिर २०७३ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App