७ वैशाख २०८१ शुक्रबार
अर्थ

म्याद जुग्रियो, पुल बनेन

खोटाङ – ठेकेदारको ढिलासुस्तीले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको पंखु खोलाको मोटरेबल पुल निर्माणको काम अलपत्र परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाइको पुल ठेकेदार कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिलासुस्तीका कारण डेढ वर्षदेखि अलपत्र परेको हो।

२०७५ असार मसान्तमै सम्पन्न भइसक्नुपर्ने पुलको हाल दुईतर्फको पिलर मात्र ठड्याइएको छ। दुई करोड २९ लाखमा पूरा गर्नेगरी सिरुवा कन्ट्रक्सनले २०७२ असोज ७ मा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। तर, पुलको पिलर ठड्याएपछि ठेकेदार काम छाडेर बेपत्ता बनेको स्थानीय बताउँछन्।

ठेकेदारले करिब ४० प्रतिशत काम पूरा गरेर पुल अलपत्र छाडेको मध्यपहाडी सडक आयोजना पुर्वी खण्डका ईन्जिनियर दिपक खड्काले बताए। ‘वर्ष दिनअघि नै बनिसक्नुपर्ने पुल अलपत्र परेकाले रुग्न ठेक्कामा परिसकेको छ,’ इन्जिनियर खड्काले भने, ‘पुलको सब–स्ट्रक्चर र फाउन्डेसनको काम भइसकेको छ। सुपर–स्ट्रक्चरको काम मात्र बाँकी छ। हालसम्मको प्रगती हेर्दा ४० प्रतिशत काम सकिएको छ।’

सम्झौता म्याद गुज्रेको १४ महिना बित्दा पनि पुलको काम पूरा नहुँदा पिलरको रड खियाले खाइसकेको छ। निर्माण कम्पनीले आवश्यक निर्माण सामग्री समेत निर्माणस्थलमा जम्मा गर्न नसकेको स्थानीयको भनाइ छ। पुल निर्माणको काम अलपत्र परेपछि १५ दिने सूचना प्रकाशित गरेपछि बल्ल ठेकेदार सम्पर्कमा आएको इन्जिनियर खड्काले बताए। सूचना प्रकाशित गरेपछि ठेकेदार कम्पनीले प्रतिनिधिकारुपमा हरिनारायण देवकोटालाई केही हप्ताअघि निर्माणस्थलमा पठाएको छ। देवकोटाले क्याम्प स्थापनालगायत काम सुरु गरेको बताए।

प्रकाशित: २६ आश्विन २०७६ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App