७ वैशाख २०८१ शुक्रबार
अर्थ

आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने

काठमाडौं - सरकारले २१० मेगावाटको अर्धजलायशयुक्त चैनपुर सेती जलविद्युत् आयोजनाको वर्षमा अपडेटेड सम्भाव्यता अध्ययन र इन्जिनियरिङ प्रोक्र्योरमेन्ट कन्सट्रक्सनको बोलपत्र तयार पारेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भएको छ। सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गर्नेछ। यो जलविद्युत् आयोजनाको चिनियाँ परामर्शदाता कम्पनी चेस्कोले अपडेटेड सम्भाव्यता अध्ययन तीव्र गतिमा गरिरहेको छ।

चैनपुर सेती  माथिल्लो  भेरी जलविद्युत् आयोजनाका उपप्रमुख अनिलभक्त श्रेष्ठले चिनियाँ कम्पनीले अपडेटेड सम्भाव्यता अध्ययन गरिरहेको बताए। ‘चिनियाँ परामर्शदाता कम्पनीले गत साउनदेखि अपडेटेड सम्भाव्यता अध्ययनको काम गरिरहेको छ,’ उनले भने, ‘सम्भवतः फागुनभित्रै अपडेटेड सम्भाव्यता अध्ययन सक्नेछ।’

आयोजनाले अहिले इपिसी मोडलमा बोलपत्र लगायतको काजजात तयार पार्ने काम गरिरहेको छ। आयोजनाका उपप्रमुख श्रेष्ठले सरकारले चैनपुर सेती जलविद्युत आयोजनालाई उच्च प्रथामिकतामा राखेको बताए। २१० मेगावाटको यो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखे पनि अहिलेसम्म कुन ढाँचा र कसको लगानीमा निर्माण गर्ने टुंगो लाग्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले यो आयोजना ४९ प्रतिशत सर्वसाधारणको सेयर सुनिश्चित गरेर निर्माण गर्ने बताउँदै आएको छ।

प्राधिकरणले स्वदेशी वित्तीय संस्था र अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियत ऋण रहने वित्तीय व्यवस्थापनमा निर्माण अघि बढाइने जनाएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्वदेशी र विदेशी साझेदारसँग सहुलियत ऋण र अनुदान लिएर आयोजना अघि बढाउने दाबी गरे। ‘आयोजनामा लगानी गर्नको लागि उपयुक्त साझेदार खोजी गरिरहेका छौं,’ उनले भने, ‘आवश्यक प्रक्रिया टुंग्याएर छिट्टै निर्माण गरिनेछ।’ चैनपुर सेती जलविद्युत् आयोजना बझाङको साइपाल, तालकोट, मास्ठा गाउँपालिकामा पर्छ।

यो जलविद्युत् आयोजनाबाट वार्षिक ११२२.२० गिगावाट आवर बिजुली उत्पादन गर्न सकिन्छ। आयोजनाका उपप्रमुख श्रेष्ठले आयोजना निर्माण सम्पन्न गर्न करिब ४५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए। आयोजनाबाट उत्पादित बिजुली पावरहाउसबाट २२० केभी  प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। ‘यो आयोजना निर्माण भएसँगै सुदूरपश्चिममा विकासको ढोका खोल्नेछ,’ उनले भने, ‘यो आयोजना बनेसँगै सुदूरपश्चिममा विद्युतीकरण गर्न कोशेढुंगा साबित हुनेछ।’

भौगोलिक हिसाबले केही अप्ठेरो ठाउँमा अवस्थित भए पनि आयोजनाबाट प्रभावित हुनेको संख्या भने अत्यन्तै न्यून छ। उपप्रमुख श्रेठले आयोजनाबाट नगण्य रुपमा प्रभाव पार्ने दाबी गरे। ‘यो आयोजना अधिकांश सरकारी ऐलानी जग्गामा पर्छ। त्यसैले पनि मुआब्जा लगायतको अन्य समस्या भोग्नु नपर्ने देखिन्छ,’ उनले भने, ‘अन्य जलविद्युत् आयोजनाको तुलनामा निकै सस्तो दरमा निर्माण गर्न सकिनेछ।’

घाटगंगा र सेती नदीको संगमस्थलमा ३२ मिटर अग्लो ड्याम निर्माण गरिनेछ। आयोजनाको पावरहाउस बझाङको तालकोटमा निर्माण गरिनेछ। त्यसैगरी, हेडवक्र्स भने काँडा गाउँपालिकामा निर्माण गरिने आयोजनाले जनाएको छ। यो आयोजनाबाट कम्तीमा दैनिक ६ घन्टाभन्दा धेरै बिजुली निकाल्ने योजना छ। आयोजनाको निर्माण ६ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ।

 

प्रकाशित: २६ आश्विन २०७६ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App