coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सीको स्वागत

चिनिया राष्ट्रपति सी चिनफिङले शनिबार नेपालको दुईदिने राजकीय भ्रमण सुरु गर्नुअघि दुई देशबीचको सम्बन्ध उजागर गर्दै भनेका छन्– भ्रमण मेरा निम्ति पहिलो हुनेछ तर नेपाल मेरा निम्ति अपरिचित छैन। राष्ट्रपति सीको नेपालप्रतिको अनुरागका निम्ति यी शब्द नै पर्याप्त छन्। उनले आफू नेपाल आएर यहाँका भव्य पहाड, नदी र अद्वितीय संस्कृति हेर्न लालायित भएको उक्त लेखमा उल्लेख गरेका छन्। कुनै देशको भ्रमण गर्नुअघि ट्विटर वा अन्य सामाजिक सञ्जालमा नेताहरूले आफ्ना धारणा सार्वजनिक गरेको देखिन्छ। कतिपयले सम्बन्धको गहिराइ दर्शाउन अचेल अखबारमा लेख छपाएरसमेत भ्रमणअघि सन्देश दिने गरेको देखिन्छ।

भ्रमणअघि राष्ट्रपति सीले लेख लेखेर नेपाल र नेपालीप्रति दर्शाएको सद्भावले उनीप्रतिको सम्मान झनै चुलिएको छ। चिनियाहरूको भ्रमण समयबारे अग्रिम चर्चा नगर्ने अभ्यास छ। तथापि राजधानी काठमाडौँमा उनको सवारी चल्ने बाटाहरूमा सुधार, रङरोगन र सौन्दर्य बढाउने काम भएपछि यसपटक उनको भ्रमण निश्चित भएको छनक पहिल्यै पाइएको हो। जतिजति यहाँ तयारी बढ्दै गएको देखियो, त्यति त्यति नै भ्रमणप्रतिको उत्साह पनि यहाँ देखिएको छ।

पाहुना आउनुलाई नेपालीले अत्यन्तै ठूलो अवसरका रूपमा लिने गरेका देखिन्छ। विगतमा संसारका शक्तिशाली राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई काठमाडौँले स्वागत गरेको हो। तर पछिल्ला केही वर्षमा यहाँ उच्चस्तरीय भ्रमण हुनै छाडेको अनुभव छ। विशेषगरी हाम्रो आन्तरिक द्वन्द्वले यसमा प्रभाव पारेको हो। आन्तरिक राजनीतिक अन्योल भएका कारण ठूला भ्रमण आयोजना गराउन सक्ने क्षमता रहेन।

विश्वका सबै ठूला नेताले नेपाल आफ्ना निम्ति ‘अपरिचित छैन’ भन्ने सन्देश दिनासाथ हाम्रो मुलुकको व्यक्तित्व अरु बढ्छ। यस्ता भ्रमणबाट अपेक्षा गर्ने नै यस्तै हो।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा उनका चिनिया समकक्षी वेन जियाबाओले काठमाडौँको पाँच घण्टाका निम्ति भ्रमण गरेपछि यहाँको आन्तरिक अव्यवस्थाका बारेमा चर्चा भएको सबैको स्मृतिमा छ। २०६८ पुस ३० मा सम्पन्न त्यो भ्रमण बीचमा रोकिएरमात्र सम्पन्न भएको हो।

राष्ट्रपति सीको तीन वर्षअघि अक्टोबर २०१६ मा बंगलादेश भ्रमण हुँदा सबैभन्दा बढी उत्सुकता हामीलाई नभएको होइन। चिनिया राष्ट्राध्यक्षको भ्रमण बंगलादेशमा ३० वर्षसम्म हुन सकेको थिएन। सीको भ्रमण एउटा ऐतिहासिक घटनाका रूपमा चित्रित भएको हो। त्यो सबै घटनाक्रम हेरिरहेका नेपालीहरूमा यी विशिष्ठ पाहुनालाई नेपालमा स्वागत गर्ने हुटहुटी जाग्नु स्वाभाविक हो।

चीनले ७० वर्षमा ऐतिहासिक फड्को मारेको छ। आफ्ना ८२ करोडभन्दा बढी ग्रामीण गरिबलाई बाहिर निकालेकामा संसारले उसको तारिफ गरेको छ। चीनको राजनीतिक मोडलमा सहमति नहुन सक्छ तर यसले विकास निर्माण र समृद्धिका निम्ति गरेको उन्नतिले सबैलाई आश्चर्यचकित तुल्याएको छ। र, चीनप्रति अहिले बढिरहेको सबैको आशा र आकर्षण पनि यसले गरेको त्यही प्रगतिका कारण हो।

यसैले आफ्नो आर्थिक प्रगतिसँगै छरछिमेकमा समेत प्रभाव बिस्तार आवश्यक भएको छ। त्यही भएर दशकौँसम्म छरछिमेकको भ्रमण नगरी अविच्छिन्न विकास निर्माणमा लागेको चीन बिस्तारै अन्यत्र हेर्न थालेको छ। नेपालमा राष्ट्रपति सीको भ्रमणसँगै संसारभरि यसको सन्देश प्रवाहित भएको छ। त्यतिमात्र होइन, चिनिया नागरिकमा नेपालप्रति थप उत्साह जागृत गर्नेछ। अहिले नेपालमा भइरहेको चिनियाको भ्रमणमा मात्र अरु केही प्रतिशत वृद्धि हुने हो भने नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ।

सी भ्रमणको सबैभन्दा ठूलो सन्देश नेपालमा स्थिरता आएको छ भन्ने हो। २०५२ देखि एक दशक आन्तरिक द्वन्द्वमा फसेको र त्यसपछि अर्को दशक शान्ति प्रक्रिया टुंग्याउन र संविधान निर्माणमा खर्चेको नेपालका निम्ति अब भने यहाँको समृद्धिका निम्ति समय लगाउने बेला आएको छ। अहिले संयोग पनि गजबकै छ। उता चीन संसारकै पहिलो अर्थतन्त्र बन्ने दौडमा छ भने अर्को छिमेकी भारतमा पनि यतिबेला त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले विकास, निर्माण र स्वच्छतालाई आफ्नो अजेन्डा बनाइरहेका छन्। विकासका निम्ति यी दुई मुलुकले प्रतिस्पर्धा गरिरहेको यो समय हाम्रा निम्ति सहयोगी छ।

अहिले संयोग पनि गजबकै छ। उता चीन संसारकै पहिलो अर्थतन्त्र बन्ने दौडमा छ भने अर्को छिमेकी भारतमा पनि यतिबेला त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले विकास, निर्माण र स्वच्छतालाई आफ्नो अजेन्डा बनाइरहेका छन्। विकासका निम्ति यी दुई मुलुकले प्रतिस्पर्धा गरिरहेको यो समय हाम्रा निम्ति सहयोगी छ।

चीनको अमेरिकासँग तीव्र प्रतिस्पर्धा भइरहेको छ। यी दुई मुलुकले ‘मूल्य युद्ध’ गरिरहेका बेला हाम्रो क्षेत्रमा भने तुलनात्मकरूपमा शान्ति छ। चीन र भारतबीचकै अनावश्यक प्रतिस्पर्धा भइरहने हो भने हाम्रा निम्ति त्यो समय अनुकूल नहुन सक्छ। कहिले चीन र भारत ‘कार्ड’ खेलेको आरोप नेपाललाई लाग्ने गरेको विगतको जस्तो अवस्था अहिले छैन। नेपालका सन्दर्भमा चीन र भारतले आपसमा समन्वयात्मक भूमिका निर्वाह गरेको देखिन्छ। कतिसम्म भने भूकम्पपछि यहाँ आयोजित लगानी सम्मेलनमा के÷कस्तो सहयोग गर्ने भन्नेमा समेत यी दुईले आपसमा समन्वय गरेका थिए। यी दुई मुलुकबीचको हार्दिकता नबुझेका व्यक्तिले मात्र कहिले यता र कहिले उता गरेर फाइला लिन सकिएला भन्ने सोच्छन्।

चीन र भारतको नेपालसँग निश्चित अजेन्डा छन्। ती विषयमा नेपालले खुला र सकारात्मक भूमिका खेल्नेबित्तिकै यहाँ समस्या हुने छैन। अमेरिकी सहयोग लिने विषयमा पनि यहाँको राजनीतिक नेतृत्वले अनावश्यक राजनीति गरेको हो। वास्तवमा नेपाल आफूले आवेदन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेसनको ५० खर्ब रुपियाँ लिने मौका पाएको हो। नेपालले सदुपयोग गर्न चाहेन भने यस्तो रकमको अपेक्षा गर्ने अन्य ५० औँ मुलुक प्रतीक्षारत रहेको अमेरिकी कूटनीतिक व्यक्तिहरूले केहीअघि एउटा अनौपचारिक छलफलका क्रममा बताएका थिए।

यसकारण अहिले नेपालले आफूलाई विकास निर्माणका लागि स्रोत÷साधन जुटाउने अनुकूल अवसर आएको छ। दुई ठूला छिमेकी चीन र भारतले विकासका निम्ति तीव्र प्रतिस्पर्धा गरिरहेका बेला संसारको ध्यान यस क्षेत्रतर्फ आकर्षित भएको छ। त्यसमा पनि चिनिया विकासले संसारको ध्यान तानेको छ। जब यता संसारको ध्यान आकर्षित हुन्छ भने सगरमाथाको देश नेपालसमेत त्यसबाट लाभान्वित हुने अवस्था आउँछ।

हाम्रै जीवनकालमा चमत्कार गरेको चीनका शीर्ष नेतालाई नेपालमा स्वागत गर्ने वातावरण प्रधानमन्त्री केपी ओलीको सरकारले यसपटक गरेको छ। वास्तवमा २०७२ को भारतीय नाकाबन्दीअघिसम्म हामीले चीनतिर कमै ध्यान दिएको हो। उत्तरतिर जोड्ने नाकाको अवस्था कस्तो छ भन्नेसमेत हामीले हेक्का राखेका थिएनौँ। त्यही नाकाबाट सांकेतिकरूपमा समेत इन्धन ल्याउने अवसर नाकाबन्दीले जुटायो। त्यसपछि प्रधानमन्त्री ओलीकै पालामा व्यापार तथा पारबहन सन्धि सम्पन्न हुन पुग्यो।

यी पंक्ति लेख्दै गर्दा विगतका यी घटनाक्रम, चीनले साना राष्ट्रको सार्वभौमसत्ताको पक्षमा दिएका अभिव्यक्तिको सम्झना भइरहेको छ। चीनसँगको यो सम्बन्ध अन्य मुलुकसँगको मित्रताको मूल्यमा हुँदै होइन। हाम्रा निम्ति सबै मित्र मुलुकको आवश्यकता छ। तर त्योभन्दा बढी चीनको विकासप्रतिको प्रेरणा अत्यावश्यक छ। त्यसमा पनि राष्ट्रपति सीले आफ्नो लेखमा ‘चीन र नेपाल एक अर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन्’ भनेर मित्रताको गाँठोलाई अझ कसिलो पारेका छन्।

चिनिया राष्ट्रपति सीको भ्रमणसँग आमनागरिकको अपेक्षा समेत चुलिएको छ। त्यसमा पनि हाम्रो सीमामै आइसकेको रेल काठमाडौँ आउने आशा पनि छन्। यसबाहेक पनि ठूला पूर्वाधार आयोजनाप्रतिको अपेक्षा ठूलो छ। चीनको सहयोगमा बनेको चक्रपथको बिस्तारपछि अहिले बदलिएको दृश्यबाट समेत आमनागरिकमा थप आकांक्षा बढेको छ। ठूला पूर्वाधार आयोजना निर्माणमा चिनिया सहयोग प्राप्त हुन सक्यो भने मुलुकको भाग्य र भविष्य बदलिन्छ भन्ने भावना यहाँ छ।

यो भ्रमणबाट अहिल्यै ठूला आयोजना तय नभए पनि भविष्यका निम्ति आधार बन्छ। राष्ट्रपति सी जस्ता प्रभावशाली नेताको सद्भाव हामीप्रति भयो भने त्यो नै सहयोगी बन्छ। विश्वका सबै ठूला नेताले नेपाल आफ्ना निम्ति ‘अपरिचित छैन’ भन्ने सन्देश दिनासाथ हाम्रो मुलुकको व्यक्तित्व अरु बढ्छ। यस्ता भ्रमणबाट अपेक्षा गर्ने नै यस्तै हो।

प्रकाशित: २६ आश्विन २०७६ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App