coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लिक्मामा चतुर्दशी दसैं

कैलाली -  गौरीगंगा नगरपालिका–८, लिक्मामा शनिबार चतुर्दशी दसैं लागेको छ। बडादसैंको चौथो दिन अर्थात आश्विन शुक्ल चतुर्दशीका दिन साविकको मसुरियास्थित लिक्मामा चतुर्दशी दसैं लाग्ने गर्दछ।

पुख्र्यौली घर डोटीको बोगटान भई हाल कैलालीको मसुरियामा बसाइँसराइ गरेर आएकाहरुले हरके वर्ष चतुर्दशीका दिन दुर्गा भवानीको पूजाआजा गरी राँगो बलि दिने गर्दछन्। राँगालाई महिषासुरको प्रतीक मानेर गाउँघरमा डुलाई पूजा आजा गराएर चतुर्दशीका दिन बेलुकी घाम अस्ताउने बेलामा दुर्गा भवानीलाई खुसी पार्न बलि दिने गर्छन्। बलि दिँदा ब्राह्मणद्वारा संकल्प बोलेर सुदूरपश्चिमबासीका खुसी समृद्धि र प्रगतिको कामना गर्ने गरिन्छ।

राँगो बलि दिनुअघि दसैँको दोस्रो दिनदेखि नै राँगोलाई स्थानीयको घरघरमा लगेर पूजाआजा गराउने र चतुर्दशीका दिन परम्परागत भोस्सो (एक प्रकारको संस्कृति) कवाज (दमाहाको तालमा नाङ्गो तरवाल नचाउँदै एक आपसमा बहादुरीको लयमा खेलिने खेल) खेल्ने गरिन्छ।

धेरै वर्षपछि यस वर्ष चतुर्दशी दसैं हेर्न कैलालीको अत्तरियाबाट लिक्मा आइपुगेको बामदेव ओझाले बताए। उनले भने, ‘पहिले पहिले पहाडमा मात्रै मनाइने चतुर्दशी दसैं लिक्मामा पनि मनाइने भएकाले पहाडकै झल्को आउने गरेको छ।’ चतुर्दशी दसैंमा डेउडाको रमाइलोसँगै आफन्त तथा इष्टमित्रसँग भेटघाट हुने अवसर प्राप्त हुने गरेको उनी बताउँछन्।

चतुर्दशी दसैंमा रातभर डेउडा खेल्ने गरिएको स्थानीय भोजबहादुर मन्नी बताउँछन्। ‘राँगाको बलि दिइसकेपछि यहाँ महिला र पुरुषको दोहोरो डेउडा हुने गर्दछ,’ उनले भने, ‘आफन्त र इष्टमित्र मिलेर पनि छुट्टछुट्टै समूह बनाई डेउडा खेल्ने गर्दछन्।’ चतुर्दशी दसैंमा डोटी, कैलाली, कञ्चनपुरका ग्रामीण भेगबाट दर्शनार्थीहरु डेउडा खेल्न तथा रमाइलो गर्न लिक्मा पुग्ने गर्दछन्।

प्रकाशित: २६ आश्विन २०७६ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App