७ वैशाख २०८१ शुक्रबार
समाज

एकादशीदेखि पूर्णिमासम्म सराय नाच

अर्घाखाँची - काठमाडौं उपत्यकासँगै देशका पूर्वी भागमा दसैं अझै सकिएको छैन। दशमीको साइतदेखि पूर्णिमासम्म मान्यवर र आफन्तकहाँ पुगेर टीका लगाउने क्रम जारी छ। यो क्रम आइतबार पूर्णिमासम्म जारी रहनेछ। पर्व र टीका लगाउने मान्यता एकै भए पनि केही भागमा भने दसैं मनाउने तरिकामा भिन्नता छ।

गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, कपिलवस्तुलगायत केही जिल्लामा एकदिन मात्रै टीका लाउने गरिन्छ। टाढाटाढाबाट आउने आफन्तले पनि त्यहीअनुसारको पूर्वतयारी गरेका हुन्छन्। ती ठाउँमा दशमीको दिन साइतअनुसार राति १२ बजेसम्म टीका लगाएपछि दसैं सकिएजस्तै हुन्छ। संस्कृतिविद् गोविन्द टण्डनका अनुसार पश्चिम क्षेत्रका केही जिल्लामा एक दिन मात्र दसैं मनाउनुमा पनि धार्मिक कारण लुकेको छ। ‘पश्चिमका केही भागमा दसैं मनाउने तरिका अलग्गै छ, खासगरी किसानले खेतबारीको काम र श्रम गर्नुपर्ने भएकाले एक दिन मात्रै मनाउँदै आएका हुन्,’ उनले भने, ‘यो प्राचीन कालदेखि चल्दै आएको हो।’

सराय नाचमा झुम्यो अर्घाखाँची

हतियार नचाएर देखाइने सराय नाचले अर्घाखाँचीका कोट र देवीका मठ मन्दिरमा छुट्टै रौनक थपेको छ। दशमीका दिनयता मन्दिर र शक्तिपीठमा बाजासहितको तालमा सराय नाच देखाउन थालिएके छ। सीमित जिल्लामा फरक तरिकाले देखाइने यो नाचको लोकप्रियता बढ्न थालेको छ। थोरै जिल्लामा मात्रै सीमित सो नाच अहिले गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, दाङ, कपिलवस्तु, बाग्लुङ, स्याङ्जा प्युठानलगायत जिल्लामा प्रदर्शन हुन थालेको छ। बाजासहितको तालमा वाख्यै–वाख्यै भन्दै युवा र बुढापाका खुँडा र ढाँड जुधाएर यो नाच नाच्ने गर्छन्। खुँडा नचाउँदा रमाइलो हुनुका साथै आफूसँग भएको साहसिक कला प्रदर्शन गर्न सकिन्छ भन्ने धार्मिक मान्यता रहेको छ। यो नाच विजयादशमीको भोलिपल्ट एकादशीदेखि पूर्णिमासम्म चल्ने गर्छ।

ची, प्युठान, पाल्पा, कपिलवस्तुलगायत केही जिल्लामा एकदिन मात्रै टीका लाउने गरिन्छ।

संस्कृतिविद् र जानकारहरुका अनुसार ‘सरायको अर्थ चुचुरो (डाँडामाथिको समथर भाग) लाई जनाउँछ। चुचुरोलाई कोट पनि भन्ने प्रचलन छ। ती कोटमा शक्तिपीठका मन्दिर र ऐतिहासिक हातहतियारको भण्डार गरिएको मान्यता छ। पश्चिम क्षेत्रमा केही जिल्लाका अग्लो स्थानमा रहेका मन्दिरमा अझ विशेष ढंगले सराय नाच मनाउने गरिन्छ। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार कोट र देवीका मन्दिरको विशेषता उस्तैउस्तै लागे पनि यसमा ताŒिवक भिन्नता छ। कोटमा शासकहरुको सनक र इतिहास पनि जोडिएको छ भने देवीमा मन्दिरमा देवीदेवताका प्रतीकहरू जोडिएका छन्। ‘कोट अग्लो स्थानमा हुन्छन्, पहिलेपहिले लडाइँका बेला शत्रुलाई ताक्दा वा निसाना बनाउँदा यिनै कोटको प्रयोग गरिन्थ्यो भन्ने सुनिन्छ,’ उनले भने, ‘पछि यिनै ठाउँलाई देवीको विशेष शक्ति भएको ठाउँका रूपमा विकास गरियो।’

संस्कृतिकर्मी जग्गनाथ भूसालको अध्ययनमा राक्षसी प्रवृत्तिमाथि दैवी शक्तिको विजयी भएको उपलक्ष्यमा यो नाच मनाउन सुरु गरिएको हो। जानकारहरूका अनुसार ‘वाख्यै’ मगर समुदायभित्र प्रयोग हुने शब्द हो। देवीले महिसासुरको वध गरेपछि त्यसलाई विजय प्रतीकका रूपमा लिँदै देवीको गुणगान गाउँदै यो नाच मनाउन थलिएको किंवदन्ती छ। भूसालका अनुसार अर्घाखाँचीको अर्घामा रहेको भगवती मन्दिरमा अष्टमीको राती देवीको कालरात्रि पूजा हुन्छ।

त्यो दिनलाई देवी उत्पत्ति भएको दिन मानिन्छ। देवी उत्पत्ति भएपछि ३३ कोटी देवताले आफूसँग भएको हतियारसहित विजयी उत्सव मनाएको धार्मिक मान्यता छ। अर्घाखाँचीका तीनवटा कोटमा विषेश सराय नाच हुने गर्दछ। अर्घा डाँडामा रहेको भगवती मन्दिर, खाँचीकोट र मालारानीमा रहेको देवीको मन्दिर तथा कोटमा बृहत् सराय नाच हुन्छ। खाँची र मालारानीमा त्रयोदशीका दिन नाच देखाइयो भने अर्घामा पूर्णिमाका दिन देखाइँदै छ।

भूसालका अनुसार सराय नाचको क्रममा बीच–बीचमा आलम राखिन्छ। देवीका झण्डाका प्रतीकका रूपमा लिइने आलमआलम शक्तिपीठअनुसार घटबढ हुन्छ। अर्घाको भगवती मन्दिरमा चारवटा आलम निकाल्ने प्रचलन छ। पूर्णीमाको दिन आलम सेलाएपछि देवीलाई पनि विसर्जन गर्ने धार्मिक मान्यता छ। सुपा देउराली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रितम थापाले पछिल्लो समय युवा पुस्ताले भने यो नाचलाई बेवास्ता गरेको जानकारी दिए। उनका अनुसार पुरानो पुस्ताले निकै रोमाञ्चक र सांस्कृतिक ढंगले मनाउने गरेको यो नाचप्रति पछिल्लो पुस्ताको आकर्षण त्यति देखिन्न।

‘त्यसकारण केही जिल्लामा सीमित यो मौलिक नाचलाई सरोकारवाला निकायले पनि चासो दिन जरुरी छ, यो पश्चिम क्षेत्रको फरक र ऐतिहासिक नाच हो,’ उनले भने। भूमिकास्थान–९ ढिकुराका सम्पदाप्रेमी राजन घिमिरेका अनुसार कोटनजिकै रहेको सरायमा विजयात्सवको नाच खेलिन्छ। दसैंको बेला मन्दिरभित्रका खुकुरी, तरबार, खड्क, हँसिया, भाला आदि हतियार लिएर नचाउँदै बाजाको तालमा नाच्ने गरिन्छ। सराय नाच हेर्न स्वदेशी तथा विदेशी पर्यटक पनि झुम्मिन थालेका छन्। त्यसकारण केही जिल्लामा सीमित यो नाचको चर्चा बढ्दै जान थालेको छ।

प्रकाशित: २६ आश्विन २०७६ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App