coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनस्तरबाट न्यानो स्वागत

काठमाडौं - नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सरकारी तहबाट मात्र नभई जनस्तरबाट पनि न्यानो स्वागत गरियो। उनको स्वागतका लागि सडकको दायाँबायाँ ठाउँठाउँमा नेपाल र चीनको झन्डा हातमा लिएर कर्मचारी, सुरक्षाकर्मी, सर्वसाधारण, कलाकार, विद्यार्थीलगायत उपस्थित थिए।

राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनुअघि नै उनको स्वागतका लागि कलाकार सडक किनार र चोकचोकमा तमतयार अवस्थामा थिए। उनीहरू विभिन्न सांस्कृतिक नाच, झाँकी र बाजामा उपस्थित थिए। सशस्त्र प्रहरीका चार समूहले सी विमानस्थलबाट बाहिरिने क्रममा गोल्डेन गेटमै झाँकीसहितको नाचले स्वागत गरे।

सिनामंगलमा तामाङ, थारु, सुनुवार र शेर्पा समुदायको झाँकी प्रस्तुत गरियो। तीनकुनेमा मगर जातिको हुर्रा र सरंग्या नाचले सीको स्वागत गरियो। बानेश्वरमा धिमे, लाखे र गुरुङ जातिको झाँकी प्रस्तुत भयो। माइतीघरमा पञ्चेबाजा र हुड्केली झाँकी देखाइयो। यस्तै–यस्तै सांस्कृतिक झाँकी र नाचले विमानस्थलदेखि सोल्टी होटल र सोल्टीबाट शीतलनिवाससम्म सीको स्वागत गरियो।

राष्ट्रपति सीको स्वागतमा सांस्कृतिक नाच प्रस्तुत गर्ने जिम्मा सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले पाएको थियो। संस्थानले विमानस्थलदेखि राष्ट्रपति सी सवार हुने सडकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो। यो क्रम आइतबार पनि जारी रहनेछ। राष्ट्रपति सी सवार हुने सडकमा दुई दिनसम्म सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने सांस्कृतिक संस्थान नाट्य कलाकार लोकेन्द्र लेखकले जानकारी दिए।

उनका अनुसार शनिबार विमानस्थल, तीनकुने, बानेश्वर, माइतीघर मण्डल, त्रिपुरेश्वर, जमललगायत क्षेत्रमा सीको स्वागतका लागि नेपाली कला संस्कृति झल्काउने नाच प्रस्तुत गरियो। ‘परराष्ट्र मन्त्रालयको निर्देशनमा हामीले कलाकार जुटाएर सांस्कृतिक कार्यक्रम गर्ने जिम्मा पाएका छौं,’ उनले भने, ‘नेपालका मौलिक कला, संस्कृति झल्कने नाचहरु विभिन्न समूहले प्रस्तुत गरेका छन्।’ नाचका लागि १५ वटा सांस्कृतिक समूह बनाइएको छ। शनिबार सडक किनारमा उभिएर महिला र पुरुष कलाकारले थरीथरीका नाच देखाए।

सीको स्वागतमा सोल्डीमोडमा धिमे, मारुनी र सखिया नाच, कालीमाटीमा धिमे, तामाङ र झुमरा, टेकुमा मारुनी, धिमे र मैथिली, माइतीघरमा पञ्चेबाजा र हुड्केली, त्रिपुरेश्वरमा सोरठी, धिमे, कोरा र थारु, थापाथलीमा लिम्बु, झाँगडा र झुमरा, बानेश्वरमा धिमे, लाखे र सोरठी, तीनकुनेमाा हुर्रा र सरंग्या, सिनामंगलमा तामाङ, थारु, सुनुवार र शेर्पाको झाँकी, विमानस्थलमा सशस्त्र प्रहरीका चार समूहद्वारा विभिन्न नाच र झाँकी प्रस्तुत गरिएको थियो। थापाथलीमा नेपाली सेनाले पनि नाच र झाँकी प्रस्तुत गरेको थियो। सर्वसाधारणले पनि सडकमा नाचेर राष्ट्रपति सीको स्वागत गरे।

प्रकाशित: २६ आश्विन २०७६ ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App