coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चीन कूटनीति

काठमाडौं - तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले गरेको संक्षिप्त नेपाल भ्रमणका क्रममा आफ्ना नेपाली समकक्षी डा. बाबुराम भट्टराईलाई ‘भारतसँग असल सम्बन्ध राख्न’ दिएको सुझावभित्र लुकेको कूटनीतिक चातुर्य प्रकट भएको थियो। विशेषगरी भारतीय र पश्चिमा विश्लेषकले नेपाल चीनतिर ढल्किएको टिप्पणी गरिरहँदा चिनियाँ नेतृत्वबाट आएको उक्त सुझावलाई चीनको कूटनीतिक सुझबुझका रूपमा समेत लिने गरिन्छ।

चिनियाँ प्रधानमन्त्री वेनले २०६८ पुस ३० गते केही घण्टाका निम्ति नेपालको भ्रमण गरेका थिए। उच्चस्तरको त्यो भ्रमण सन् २००१ मा चिनियाँ प्रधानमन्त्री झु रोङ्जी नेपाल आएको १२ वर्षपछि भट्टराईको निमन्त्रणामा सम्पन्न भएको थियो। त्यही भ्रमणका बेला उनले भट्टराईलाई भारतसँग असल सम्बन्ध राख्न सुझाएका थिए।

‘उहाँले मसँगको भेटका क्रममा भारतसँग राम्रो सम्बन्ध राख्ने सुझाव दिनुभएको थियो,’ भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार विगतको त्यो भ्रमण र छलफल सम्झँदै नागरिकसँग भने, ‘नेपाल–चीन सम्बन्धलाई अरूसँग जोड्नुहुन्न भन्ने भावना मैले त्यो बेला पाएँ।’

बेनले सो भेटका क्रममा भट्टराईले नेपाल चीन र भारतबीचको गतिशील पुल बन्नुपर्छ भन्ने धारणा राखेका थिए। त्यसैगरी नेपाल र चीनबीचको सम्बन्धलाई सगरमाथाको उचाइले जोडेको छ भन्ने विचारसमेत उनले व्यक्त गरेका थिए। उनका यी अभिव्यक्तिलाई वेनले सम्झना गरेका थिए। यसको अर्थ हो– यहाँका नेताहरूले व्यक्त गर्ने विचारलाई चिनियाँ नेतृत्वले गम्भीरतासाथ लिने गरेको छ। त्यसका प्रत्यक्ष साक्षी आफ्नो नेपाल भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सीको शुक्रबार सरकारी मुखपत्र राइजिङ नेपालमा प्रकाशित लेखमा उल्लेख भएका हार्दिकतापूर्ण शब्दहरू हुन्।

चीन र भारत समृद्धिको मार्गमा हिँडिरहेको अवस्थामा नेपाल मात्र पछौटे भएर बस्नुपर्ने स्थिति दुवैका निम्ति प्रीतिकर हुन सक्दैन।

वेनले भारतसँग असल सम्बन्ध राख्न दिएको सुझावलाई भट्टराईले पछि सबै दलका नेतासँग राखेर छलफलसमेत गरेका थिए। चिनियाँ नेताले यस्तो सुझाव दिएको झन्डै एक दशक पुग्न लागे पनि नेपाल चीनको पोल्टामा गएको भन्ने जिज्ञासा अहिलेसम्म भारतीय र पश्चिमा विश्लेषकबाट हुने गरेकोमा भने भट्टराई ‘चिन्तालाग्दो’ मान्छन्।

गत वर्ष अमेरिका भ्रमण गर्ने क्रममा कोलम्बिया युनिभर्सिटीमा भएको छलफलमा समेत भट्टराईसँग यस्तै प्रश्न त्यहाँका प्राध्यापक र बौद्धिक व्यक्तिहरूले राखेका थिए। नेपालसँग भारतको सांस्कृति, धार्मिक र भौगोलिक निकटता छ। निकटता भएकै आधारमा समस्या पनि उजागर हुन्छन्। यसको अर्थ चीनसँग हुने भ्रमण आदानप्रदान र अन्तक्र्रियाकै आधारमा त्यतै ढल्किने भन्ने हुँदैन। ‘हामी चीनसँग राम्रो सम्बन्ध राख्दै छौं तर ऐतिहासिक, सांस्कृतिक र भौगोलिक हिसाबले भारतसँग हाम्रो सम्बन्ध बढी हुने गरेको छ,’ भट्टराईले कोलम्बिया युनिभर्सिटीका जिज्ञासुसमक्ष भनेका थिए।

समृद्धिको मार्गमा अघि बढिरहेको चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रूपमा उभिएको छ। अमेरिका र चीनबीच आर्थिक प्रतिस्पर्धा भइरहेका छन्। यो स्थितिमा आफ्ना संस्थापक नेता माओत्से तुङले भनेजस्तै सबैलाई एकैचोटि प्रहार नगर्ने नीति अख्तियार गरेको देखिन्छ चीन। त्यही भएर उसले भारतसँगको सम्बन्धलाई पनि उत्तिकै महŒव दिएको देखिन्छ।

भारतको दुई दिने भ्रमण सकेर राष्ट्रपति सी नेपाल आउँदै छन्। र, नेपालमा सीको भ्रमण केही घण्टाका निम्ति हुने भनी यसअघि गरिएको प्रचारविपरीत यहाँको भ्रमण पनि दुई दिनकै तय गरिएको छ। यसले पनि चीनको नेपालप्रतिको सुझबुझ र महŒव झल्किन्छ। ‘चीनले भारत पनि नचिढियोस् र नेपाल चीनको पोल्टामा गएको छ भन्ने पनि नपरोस् भन्नेमा ध्यान दिएको देखिन्छ,’ भट्टराई भन्छन्, ‘भारत गएर नेपाल आउनुको संकेत यिनै हुन्।’ चिनियाँ राष्ट्रपति सी समकालीन विश्वका प्रभावशाली थोरै नेतामध्ये एक हुन्। त्यसमा पनि उदाउँदो चीनका नेतृत्वकर्ताको यो भ्रमणले नेपाललाई विश्वमा चिनाउने मात्र छैन, यहाँ आएको स्थिरताको सन्देश पनि विश्वव्यापी रूपमा दिनेछ।

नेपालमा नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको ‘जनयुद्ध’को एक दशक, शान्ति प्रक्रिया र संक्रमणकालको एक दशकपछि यस किसिमका ठूला भ्रमण मुलुकमा हुन थालेका छन्। २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण हुनुलाई महत्वसाथ हेरिएको छ। त्यति मात्र होइन, चीन र भारत दुई ठूला शक्तिराष्ट्रका बीचमा रहेको नेपालले यस किसिमको भ्रमण आयोजक बन्ने मौका पाउनु आफैंमा सकारात्मक छ। यो स्थिरताको सूचक पनि हो।

चीन र भारत समृद्धिको मार्गमा हिँडिरहेको अवस्थामा नेपाल मात्र पछौटे भएर बस्नुपर्ने स्थिति दुवैका निम्ति प्रीतिकर हुन सक्दैन। ‘चीन र भारतबीचको सम्बन्ध सामान्यीकरण भइरहेको छ,’ चीनका लागि नेपालका पूर्वराजदूत एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता टंक कार्कीले भने, ‘यी दुई राष्ट्रको आर्थिक उन्नतिको प्रभाव नेपालमा पनि पर्छ।’

चीनले ‘शान्तिपूर्ण प्रगति’ को प्रतिबद्धता व्यक्त गर्दै आएको छ। यसैकारण उसले भारतसँगको सम्बन्ध पनि राम्रो राख्दै आएको छ। चीन र भारतबीच भएका उच्चस्तरका भ्रमण यसैका परिणाम हुन्। तैपनि भारतीय सञ्चारमाध्यम र विश्लेषकले नेपाल चीनतिर ढल्किएको विश्लेषण गर्दै आएका छन्। तर यस्तो विश्लेषण चीनमा भने नहुने गरेको कार्की बताउँछन्। ‘चिनियाँहरू नेपालको कठिनाइ बुझ्छन्,’ उनी भन्छन्, ‘त्यही भएर वेन जियाबाओले भारतसँग राम्रो सम्बन्ध राख्न भनेका हुन्।’

प्रकाशित: २५ आश्विन २०७६ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App