८ वैशाख २०८१ शनिबार
अन्य

तपाईँ छिम्केश्वरी कहिले घुम्ने ?

शुक्रबार बिहानै उकालियौं छिम्केश्वरीतिर। दमौलीका गीतकार दाई सागर उदासले बुधबार दिउँसो फोनमा भने, ‘छिम्केश्वरी जाने मौसम यहि हो। आइहाल्नुस्।’ दसैंको टीका थाप्न पोखरा पुगेका बेला दाईको निम्तो पाइयो। नाइँ भन्नु कसरी, किनकि दुई वर्ष अघिदेखि हामीले छिम्केश्वरी दर्शन गर्ने सोचाई बनाएका थियौं।

काठमाडौंबाट मित्र गुरिल्ला (सुरेन्द्र राना) माइक्रो बस चढेर दमौली आइपुगे। हामी अपरान्ह एउटा जिपमा छिम्केश्वरीतिर हानियौं। टोलीमा सागर दाई, गुरिल्ला र आँबुखैरेनीका साहित्यकार श्रीराम भट्राई र म भयौं।

पृथ्वीराजमार्गको पिप्लेबाट साँझपख जिप उकालियो। बन्दीपुर हुँदै बाहुन भञ्ज्याङमा पुगेर खाजापानी खाइवरी हामी अघि बढ्यौं। बन्दीपुर पर्तिर सडक कच्चि छ, बिस्तारै जाँदा राती ९ बजे भोटेस्वाँरा पुगियो। त्यहाँ मुखिया बा (मैते गुरुङ)को घरमा पुग्दा अरु ६ जना युवा भेटिए। उनीहरु बाहिर चुलोमा मासु पकाउँदै थिए। कोहि गितारको धुनमा बिजुली पानीमा रमाउँदै थिए।

रातको अँध्यारोमा गाउँबस्ती नियाल्न पाइएन। गाउँ शान्त लाग्यो। भोटेस्वाँरा र लाब्दी गाउँमा होमस्टे सुविधा रहेछ। मुखिया बाको घरमा पनि होमस्टे छ। ७७ वर्षे बा रसिक रहेछन्। हामीले मिठो खानासँगै उनका मिठा कुरा सुन्यौं।

तनहुँको सबैभन्दा अग्लो डाँडामा बसेकी छिम्केश्वरी (२,१५० मिटर) दर्शनले मनोकांक्षा पुरा हुने जनविश्वास छ। प्रकृतिप्रेमिका लागि त छिम्केश्वरी भुस्वर्गै मानिन्छ। डाँडामा उभिँदा भुइँकुहिरोमाथि सर्लकक्क खुलेका हिमाल आँखैमा टाँसिन्छन्।

भोटेस्वाँराबाट डेढ घन्टा उकालो चढे छिम्केश्वरी पुगिन्छ। हामी बिहान पौने ७ बजे उकालियौं। कोदोबारी छिचोलेर जंगलको बाटो पुग्नेवित्तिकै ६ जनाको समूहमा रहेका दुई जना गले। उकालो चढ्न सकेनन्। उनीहरु फर्के।

सबैभन्दा ठूलो कुरा मान्छेको आस्था र विश्वास हो। त्यसको हामी सबैले सम्मान गर्नु पर्छ। बामपन्थी विचारधाराका उदास र भट्राई पनि छिम्केश्वरी दर्शन गर्न लालायित थिए। सागर दाई त दोस्रोपटक यता आएका।

‘तीन चोटीसम्म छिम्केश्वरीको दर्शन गर्नु पर्छ भन्ने मान्यता छ’, सागर दाई भन्दैथिए, ‘तेस्रो पटक परिवारसँगै यता आउने छु।’

एउटा अनौठो विश्वास रहेछ गाउँमा। मुखिया बाका अनुसार बिहान बिटुलो भएर उकालो चढेमा अनिष्ट हुन्छ। त्यसैले माछामासु र मदिरा सेवन नगरी चोखो मन लिएर छिम्केश्वरीको दर्शन गर्ने चलन छ।

मनमा उत्साहको दियो बालेर उकालो चढिरह्यौं हामी। ठयाक्कै डेढ घन्टामा डाँडाको थाप्लोमा पुगियो। आँबुखैरेनी गाउँपालिकाका वडा नं ३, ५ र ६ मा पर्दछ छिम्केश्वरी।

त्यहाँ पुग्नेवित्तिकै झलक्क हिमाल देखिए। धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, मनास्लुदेखि गणेश हिमालसम्मको लर्कन। हरिया डाँडामाथि मडारिएको भुइँकुहिरोमाथि टलक्क टल्केका हिमाल। आँखाभरि, मनभरि र क्यामेराभरि खिच्यौं हामीले। तर, जति खुल्नु पर्ने हो त्यति हिमाल खुलेका थिएनन्। यद्यपि मनमा एक किसिमको सन्तुष्टि मिल्यो।

डाँडामा छिम्केश्वरी माताको मन्दिर बन्दै रहेछ। चार कुनामा पिल्लर ठड्याइएको छ। बीचमा देवीको प्राचीन शीला छ। शीलामाथि त्रिशुल, घन्ट, दियो, पाला आदि चढाइएको छ। त्यसले छोपिएको देवीको शीला ठम्याउन सकिँन। बरु नजिकै रगत लतपतिएको थियो। बिहानै बोकाको बलि दिइएको रहेछ।

छिम्केश्वरीलाई बोका र परेवा मात्र बलि चढ्छ। तिर्थालु उनलाई सम्झेर भाकल गर्दा रहेछन्। र, त्यो भाकल पुरा भएपछि परेवा चढाउन, पूजा गर्न र बोका चढाउन आउँछन्। हामी सबैले धुपबत्ति बाल्यौं।

मुखिया बाले राती नै हामीलाई भनेका थिए, ‘छिम्केश्वरीको दर्शनले सबैखाले मनोकांक्षा पुरा हुन्छ। सन्तान नहुनेको सन्तान हुन्छ। धन नहुनेले धन प्राप्त गर्छ। पदोन्नती हुन्छ। सुख र शान्ति मिल्छ।’

त्यहि विश्वासले हरेक शनिबार र पञ्चमीमा तिर्थालुको भिड लाग्छ। वैशाख १ गते र फागु पुर्णिमामा मेला लाग्छ। हामीसँगै उकालो चढेका आँबुखैरेनीका विकास श्रेष्ठ त १५ पटक भन्दा बढी यता आइसकेका रहेछन्। अचेल उनी वर्षमा कम्तिमा एकपटक यता आउँछन्।

‘छिम्केश्वरीको दर्शनले मनमा आनन्द मिल्छ’, ४२ वर्षे श्रेष्ठले भने, ‘यहाँबाट देखिने प्राकृतिक दृश्य पनि राम्रो लाग्छ।’ त्यहाँबाट सूयोदय र सूर्यास्तको दृश्य पनि मनमोहक देखिन्छ।

हामी मन्दिरमा टहलिइरहेका थियौ। त्यही बेला डाँडामा आइपुगे छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङ। विसं २०७५ असारमा समिति बनाइएको रहेछ। उनले हामीलाई एउटा रोचक किंबदन्ती सुनाए।

उनका अनुसार छिम्केश्वरीकी बहिनी हुन् मनकामना। मनकामनाले सुँगुर र हाँसको बलि खाएकाले छिम्केश्वरी रिसाइन्। उनले मनकामनातिर हेर्दिन भनेर भुइँमा मुन्टो फकाईन्। त्यसैले प्राचीन शिलाको मुखडा देखिँदैन।

छिम्केश्वरीको काखमा भोटेस्वाँरा, हिलेखर्क, लाब्दी र घलेडाँडा छन्। सबै गुरुङ गाउँ। हिलेखर्कबाट तीन घन्टा उकालो पदयात्रामा छिम्केश्वरी पुगिन्छ। अन्य तीन गाउँबाट डेढ घन्टादेखि दुई घन्टामा डाँडाको थाप्लोमा पुगिन्छ। घलेडाँडा बाहेक तीन वटै गाउँमा सामुदायिक होमस्टे सञ्चालित छन्।

यि चारवटै गाउँका एक–एक जना पूजारी रहेन ब्यबस्था छ। सबै पूजारी गुरुङ समुदायका हुन्। हामीले मन्दिरमा लाब्दी गाउँका पूजारी धनराज गुरुङसँग भलाकुसारी गर्यों। विगत २५ वर्षदेखि पूजारी बनेका उनी हरेक बिहान मन्दिरमा पुग्छन्। पूजापाठ गर्छन्। उनले पाउने भनेको भक्तजनले चढाएको दक्षिणा र बोकाको टाउको मात्र हो। त्यस भन्दा ठूलो कुरा छिम्केश्वरी माताको आशीष पाउँछन्।

समितिका अध्यक्ष गुरुङका अनुसार पहिला मन्दिको नाउँमा गुठीको जग्गा थियो। अहिले त्यसको नामो निशाना छैन। उनले हामीलाई छिम्केश्वरी मन्दिरबाट तीन मिनेट दूरीको वनदेवी (बोनरी) मन्दिरमा पुर्याए। चाक्लो ठाउँमा स्यानो मन्दिर रहेछ। त्यहाँबाट हिमालको झन राम्रो दृश्य देखियो।

वनदेवीको दर्शन पछि फेरि हामीले हिमालसँग आँखा जुधायौं। लाग्यो यति पवित्र प्राकृतभूमि योग र ध्यानका लागि आकर्षक गन्तव्य बन्न सक्छ। यसका लागि गाउँपालिका र प्रदेश सरकारले पहल गर्नु पर्छ। अर्को कुरा, होमस्टेको प्रवद्र्धनसँगै ठाउँठाउँमा सुविधायुक्त होटल तथा रिसोर्टको आबश्यकता पनि देखिन्छ। त्यसका लागि स्थानीय र बाहिरकालाई लगानी गर्न प्रोत्साहित गर्नु पर्छ।

गुरिल्ला र सागर दाई डाँडामा एकछिन अलमलिए। श्रीराम दाई र म ओरालो झर्यौं। हिलेखर्कमा पुगेर खाना खाने हाम्रो योजना। सुनाखरी र लालीगुराँसको जंगलबाट ओर्लियौं। करिब दुई घन्टामा हिलेखर्कमा पुग्यौं। चिटिक्क गुरुङ बस्तीमा। बन्दीपुर आउने विदेशी हुन् या छिम्केश्वरी आउने नेपाली एक रात यहाँ बस्छन्।

गाउँका ५ घरमा होमस्टे सुविधा छ। गाउँले सस्तोमा खाना र बास दिन्छन्। अर्गानिक खाना खुवाउँछन्। गाउँमा दुइटा घुमाउने घर रहेछन्। ढुँगा र माटोले बनेका र खरले छाएका घरमा पाहुनालाई बसाइन्छ। यस्तो घरमा रात विताउन पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्यो मलाई।

  

जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ रहेछ छिम्केश्वरी। जहाँ पुग्दा आत्मिक शान्ति र मनमा ऊर्जा मिल्छ। बन्दीपुर र आँबुखैरेनीबाट छिम्केश्वरी बेस क्याम्पसम्म पुग्ने सडक छिट्टै कालोपत्रे गरेमा छिम्केश्वरीमा चहलपहल बढ्नेछ। त्यसका लागि सरकारका आँखा खुल्नु पर्छ। छिम्केश्वरी घुमाएका सागर दाइलाई धन्यवाद। निजि खर्चमा बन्दीपुर, टुटेपानी, तनहुँसुर, छाब्दिबाराही, मानहुँकोट, लिगलिगकोट लगायत गन्तव्यमा लेखक तथा पत्रकारलाई घुमाएर उनले उदाहरणीय काम गर्दै आएका छन्। उनबाट अरुले पनि सिक्नु पर्छ।
छिम्केश्वरी दर्शनले ऊर्जा भरिएको छ। हामी त घुम्यौं, तपाइँ कहिले घुम्ने छिम्केश्वरी ?  
अन्त्यमा सहयात्री श्रीराम भट्राईको गीत:
चाहेर नि यति सुन्दर ठाउँ कहाँ मिल्ला
प्रकृतिले सजिएकी हाम्रो तनहुँ जिल्ला
माला बनि बगेका छन् मरस्याङ्दी र काली
छिम्केश्वरी लगाउँछिन् गुराँसको लाली।

कसरी पुग्ने : काठमाडौंबाट डुम्रे, बन्दीपुर, हिलेखर्क हुँदै भोटेस्वाँरा १५१ किमि। डुम्रेबाट हिलेखर्कसम्म जिप चल्छन्। अर्को विकल्प काठमाडौंबाट आँबुखैरेनी, बरादी हुँदै हिलेखर्क १३१ किमि। त्यस्तै आँबुखैरेनीबाट भोटेस्वाँरा १८ किमि। आँबुखैरेनीबाट जीप चल्छन्।

आकर्षक गन्तव्य
तिल बहादुर गुरुङ
अध्यक्ष, छिम्केश्वरी पर्यटन विकास समिति


छिम्केश्वरीमा धार्मिक पर्यटनको अथाह संभावना छ। छिम्केश्वरीमा धर्मशाला निर्माण, पदमार्ग सुधार, सडक निर्माण लगायतका काम आबश्यक छ। हामी छिम्केश्वरीलाई आकर्षक गन्तव्य बनाउने अभियानमा जुटेका छौं। वरपरका गाउँमा सञ्चालित होमस्टेलाई अझै व्यवस्थित बनाउँछौं। यहाँ मोबाइल फोनको नेटवर्क राम्रो छैन। यसका लागि सरोकारवालालाई झक्झक्याउँदै छौं।

बन्दीपुरसँग सहकार्य
सागर उदास
अध्यक्ष, गण्डकी वाङमय प्रतिष्ठान


छिम्केश्वरी गण्डकी प्रदेशकै गहना हो। यसलाई महाभारत सृङ्खलाको सगरमाथा पनि भनिन्छ। राजमार्गबाट निकै नजिक रहेको प्राकृतिक छटाले भरिपूर्ण यति सुन्दर ठाउँ उपेक्षित भैराखेको छ। यसमा स्वयंं आँबुखैरेनी गाउँपालिका लगायत नागरिक जागरुक हुनु पर्छ। बन्दीपुरसँग सहकार्य गरेर बन्दीपुर आउने पर्यटकलाई छिम्केश्वरीसम्म पुर्याउने वातावरण मिलाइनु पर्छ।

सस्तो गन्तव्य  
बाटुमाया गुरुङ
अध्यक्ष, हिलेखर्क सामुदायिक होमस्टे


हाम्रो गाउँमा पाहुना आउँदा खुसी लाग्छ। छिम्केश्वरीको काखमा हाम्रो गाउँ हिलेखर्क छ। यहाँबाट तीन घन्टामा छिम्केश्वरी पुगिन्छ। पाँच वर्ष भयो हामीले होमस्टे चलाएको। गाउँका ५ घरमा होमस्टे सुविधा छ। हामी प्रति बेड दुई सय रुपैयाँ, सादा खानाको १८० रुपैयाँ मात्र लिन्छौं। अर्गानिक खाना खुवाउँछौं।

प्रकाशित: २५ आश्विन २०७६ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App