४ वैशाख २०८१ मंगलबार
राजनीति

‘नेपालको हितमा भ्रमण उपयोग गर्नुपर्छ’

फाइल तस्बिर

काठमाडौं – प्रमुख राजनीतिक दलका नेताहरुले चिनियाँ राष्ट्रपति सी चिनफिनको दुईदिने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ दिने बताएका छन्। राजधानीमा शुक्रबार आयोजीत कार्यक्रममा सहभागी नेताहरुले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई नेपालको आर्थिक विकास र समृद्धिमा उपयोग गर्नुपर्ने धारणा राखेका हुन्।

कांग्रेस नेत्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सीको दुईदिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदै हुनुुहुन्छ, हामी हर्षित छौं। यो सबै नेपालीका लागि खुसीको कुरा हो। हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं।’

सीको भ्रमणले विश्वजगतमा नेपालको महत्व बढाउने उनको विश्वास छ। उनले भनिन्, ‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ।’ सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाइ छ। उनले भनिन्, ‘चीनलाई हामीले बढी महत्वका साथ हेरेका छौं। हाम्रो राम्रो सम्बन्ध रहँदै आयो। चीनले नेपालाई संकट पर्दा सहयोग गर्दै आएको छ। नेपालले अब एउटा ठूलो फड्को मार्छ। अब विकास हुन्छ। यो उत्साहजनक कुरा हो।’

सीको भ्रमणको पूर्वसन्ध्यामा नेपालीले सबै कुरा बिर्सिएर विकासको कुरा गर्नु भनेको यसले एउटा ठूलो परिवर्तन ल्याउँदैछ भन्ने संकेत भएको पनि कोइरालाको टिप्पणी छ। उनले भनिन्, ‘जनताले चाहेको नै विकास हो। स्थायित्व र शान्तिले नै देशमा विकास हुन्छ। सीको भ्रमणबाट नेपालले केही पाए पनि वा नपाए पनि उहाँ नेपाल आउनु नै एउटा महत्वपूर्ण कुरा हो।’

चीनसँग नाका खोल्ने कुरा पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको उनको जिकिर छ। उनले भनिन्, ‘चीनसँग नाका खोल्ने कुरा नेपाली कांग्रेसले गरेको हो। चीन अहिले आर्थिक रुपमा दोस्रो ठूलो शक्ति हो। चीन बलियो भएको छ। अहिले सरकारले पनि नाका खोल्नेबारे महत्व दिएको छ। परिस्थिति परिवर्तन भएको छ। नाका खुल्छ। यो खुसीको कुरा हो।’ चीनको बिआरआई परियोजना राम्रो भएको सुनाउँदै यसबाट नेपालले पनि ठूलो लाभ लिनसक्ने उनको तर्क छ। उनले थपिन्, ‘हामीले योमार्फत धेरै परियोजना ल्याउन सक्छौं। लगानी ल्याउन सक्छौं।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेन्द्रबहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिको दुईदिने भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो र कसिलो बनाउने सुनाए। उनले भने, ‘चीन हाम्रो छिमेकी, अत्यन्तै घनिष्ठ र भरपर्दो मित्र हो, चीनको राष्ट्रपतिको भ्रमण हुँदैछ, यो खुसीको कुरा हो।’ चीनबाट २३ वर्षसम्म यो स्तरको नेपाल भ्रमण हुन नसक्नुको कारण नेपालमा राजनीतिक स्थायित्व नहुनु नै प्रमुख कारण रहेको उनले बताए।

उनले भने, ‘अब यसको कुरा गर्दा भ्रमण गर्ने र गराउने मुलुकको अवस्था र तयारी पनि हुन्छ। हामी संविधान निर्माणमा धेरै व्यस्त रह्यौं। राजनीतिक अस्थिरता रह्यो। हामीले संविधान निर्माणलाई नै प्राथमिकता दियौं। सबै दल मिलेर एक ढिक्का भएर वर्तमान संविधान निर्माण गरेका छौं। अहिले राजनीतिक रुपमा नेपालमा स्थिरता आयो। यो कुरा पूरा विश्वले हेरको छ।’

उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणको लक्ष्य भनेको नै मित्रताको गाँठोलाई अरु कसिलो, दरिलो बनाउने र सम्बन्धलाई नयाँ उचाइमा पु-याउने रहेको स्पष्ट पारे। उनले भने, ‘नेपाल र चीनबीच एक–आपसमा पारस्परिक लाभका आधारमा सम्बन्ध गर्नुपर्छ। भाषण गरेर सम्बन्ध सुदृढ हुँदैन्। व्यवहारमा जानुपर्छ। हामीले चीनलाई के सहयोग गर्ने र हामीलाई चीनले के सहयोग गर्ने भन्ने कुरामा पारस्परिक लाभ हेर्नुपर्छ। कनेक्टिभिटी भनेको रोडमात्रै होइन, यसका धेरै आयाम छन्। अहिले हाम्रो ध्यान गएको छ।’

प्रकाशित: २५ आश्विन २०७६ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App