८ वैशाख २०८१ शनिबार
समाज

१० जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा धेरै यात्रु घाइते भएका छन्। घाइतेमध्ये ३० को अवस्था गम्भीर रहेकाले मृतको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ।

इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेको पिकु मोडमा बिहान साढे ९ बजेतिर हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। खचाखच यात्रुले भरिएको बस सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको घटनास्थलबाट स्थानीय सन्तोष भट्टराईले बताए। ‘स्थानीय ६ वटा सवारी साधनमा ६० भन्दा बढी घाइते राखेर उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाएका छौँ,’ प्रत्यक्षदर्शी उनले भने, ‘३० भन्दा धेरै गम्भीर घाइते छन्।’

बसले किचेका आठ शव बाहिर निकालिएको जानकारी दिँदै उनले घाइतेको उद्दार जारी रहेको बताए। सिन्धुपाल्चोक प्रहरीका डिएसपी माधव काफ्लेले दुर्घटनाको पुष्टि गरे। प्रहरी टोली घटनास्थतिर जाँदै गरेकाले घटनाको विस्तृत बिवरण आउन बाँकी रहेको उनले बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय नवलपुर र भिमटार प्रहरी चौकीबाट सुरक्षाकर्मी टोली घटनास्थल गइरहेका छन्।

घटनास्थल रहेको वडाका वडाध्यक्ष जीवन थापामगरले कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकाले उनीहरुलाई हेलिकप्टरबाट उपचारमा पठाउने प्रयास भइरहेको बताए। उक्त गाउँपालिकाको सिपाटारबाट बस काठमाडौँ जाँदै थियो। बस गुडेको एक घण्टामै दुर्घटनामा परेको हो।

प्रकाशित: २४ आश्विन २०७६ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App