coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

त्यहीँ पर ललितपुर

‘यो गाउँमा एक साता बसिसकेपछि मैले पहिलो पटक नीलो आकाश देखेँ । आकाशमा ताराहरू चम्किरहेका थिए । मैले काठमाडौँमा बसेका बेला आकाश यति सुन्दर हुन्छ भन्ने कल्पना पनि गरेकी रहिनछु ।’

टिच फर नेपाल (टिएफएन) फेलोका रूपमा ललितपुरको बाघभैरव माध्यमिक विद्यालय, चौघरेमा पढाइरहेकी शिक्षिका प्रतीक्षा भण्डारीका यी अभिव्यक्ति कुनै साहित्यिक पंक्तिभन्दा कम छैनन् । राजधानी काठमाडौँभित्रको व्यस्तता र प्रदूषणले ढाकेको आकाश केही किलोमिटर टाढाको ललितपुरका गाउँबाट सहजै सफा स्वच्छ देख्न सकिन्छ भन्ने उनको अनुभूति हो ।

दुई वर्षका लागि यो स्कुलमा आएकी उनका निम्ति जीवनभरिलाई एउटा मीठो अनुभूति बन्न पुगेको छ । वास्तवमा प्रतीक्षाजस्ता धेरै शिक्षकले गाउँमा चिम्चिमाउँदा आकाशमा तारामात्र होइन, धर्तीका तारारूपी विद्यार्थीलाई पनि भेटिरहेका छन् ।
देशका ३६ स्कुलमा ९५ जना शिक्षक टिएफएनमार्फत यति बेला पढाइरहेका छन् । स्नातक पूरा गरेका यी शिक्षकले समुदायमै बसेर दुई वर्ष पढाउन पाउँदा एउटा छुट्टै विश्वविद्यालयको अनुभूति गर्न सक्ने अवस्था हुन्छ । तिनको उपस्थितिले दुर्गम गाउँमा रहेका विद्यार्थीलाई गणित, अंग्रेजी र विज्ञान विषयका दक्ष शिक्षकबाट पढ्ने मौका मिल्छ ।

यसरी गाउँमा दुई वर्षका लागि पढाउन पुगेका शिक्षक आआफ्नै आदर्शले तानिएका छन् । बुद्ध भगवान्मा पढाइरहेका शिक्षक रामकेशर थापा एमबीबीएस अध्ययनका निम्ति परिवारलाई सम्पत्ति बेचेर निजी कजेलमा पढाऊ भन्न सक्ने अवस्थामा थिएनन् । जेनेटिक इन्जिनियरिङमा स्नातक गरेका उनी टिएफएनको अभियानमा जोडिन आइपुगेका छन् । यही स्कुलमा पढाइरहेकी रुमा महर्जनका निम्ति त यो अभियान जीवन परिवर्तन गर्ने घटना नै बन्न पुगेको छ । ललितपुर ग्वार्कोकी रुमा घरबाट यति टाढा आएर आफैं यो अभियानमा लाग्दा जीवनका लागि अत्यावश्यक धेरै पक्ष बुझेको महसुस गर्न थालेकी छन् । राजधानी सहरको व्यस्तता, रमाइलोका अवसरभन्दा भिन्न गाउँको बसाइले जीवनलाई बुझ्न सक्ने बनाएको छ ।

श्री बाघभैरवका दुई शिक्षक रोशन ढुंगेल र प्रतीक्षा भण्डारीको विनयी व्यवहारले स्कुले नानीहरूलाई मात्र होइन, सिंगै गाउँलाई लोभ्याइरहेको छ । स्कुल पढिसक्नासाथ अन्तर्राष्ट्रिय श्रम बजारमा हिँड्न हतारिएका युवाका निम्ति पनि उनीहरू प्रेरणा बन्न सकेका छन् । यसबाहेक टिएफएनले यी स्कुलका कक्षा कोठामा देशका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई पनि पु¥याउने काम गरेको छ । यसले दुर्गम ठाउँका स्कुलमा अध्ययन गरिरहेका विद्यार्थीमा समेत ती व्यक्तिलाई चिन्ने र प्रेरणा लिने काम हुन सक्ने रहेछ ।
राजधानी काठमाडौँबाट केवल ३४ किलोमिटर टाढा भए पनि बाघभैरव स्कुलको अवस्था कुनै दुर्गम बस्तीको भन्दा फरक छैन । विद्यार्थीका निम्ति काठमाडौँ धेरै टाढा छ । तिनका लागि नजिकैको बस्ती चापागाउँ सबैभन्दा ठूलो फड्को हो जस्तो लाग्छ । टिएफएनले दुई वर्षका लागि खटाएका आफ्ना फेलोबाहेक समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिलाई सार्वजनिक स्कुलमा पु¥याउने अभियान सञ्चालन गर्दै आएको छ । अघिल्लो वर्ष भूकम्पले यो अभियानलाई अवरोध गरेको थियो । उनीहरूले फेरि यो वर्ष कार्यक्रम अघि बढाएका छन् ।

यो अभियानले विद्यार्थीलाई महŒवपूर्ण व्यक्तिसँग भेटाउने काममात्र गरेको छैन, बरु ती व्यक्तिहरूले पनि स्कुल र विद्यार्थीको अवस्था पढ्ने मौका पाएका छन् । ‘वान डे इन अ क्लास रुम’ अर्थात् कक्षा कोठामा एक दिनले विद्यार्थी र त्यहाँ जाने फेलोहरूमा समेत सकारात्मक भाव जन्मिएको महसुस गर्न सकिन्छ । टिएफएनको आमन्त्रणमा गत साता ललितपुरका दुई स्कुलमा पुगेपछि यो पंक्तिकारले फेरि शिक्षाको भयावह अवस्था बुझ्ने मौका पाएको छ ।

बाघभैरवबाहेक अर्को स्कुल थियो ललितपुरको मानिखेलस्थित बुद्ध भगवान् माध्यमिक विद्यालय । राजधानी काठमाडौँबाट ४८ किलोमिटरको दूरीमा भए पनि यात्रा त्यति सहज छैन । साँघुरो सडकले यो गाउँलाई जोडेको भए पनि यातायातका दृष्टिले सुगम छैन ।  बत्तीमुनि अँध्यारो भनेजस्तो लाग्छ यति नजिकका स्कुलको अवस्था देख्दा । कम्तीमा टिएफएन फेलोहरूले नियमित पढाइरहेका हुनाले यी स्कुललाई केही हदसम्म सजिलो भएको छ । तर, भनेजति दरबन्दी पाउन यी स्कुलले संघर्ष गर्नुपरिरहेको छ ।

यी स्कुलका विद्यार्थीलाई दुर्गम गाउँका स्कुलसँग तुलना गर्न सकिन्छ । धन्य, यी कक्षाकोठा केही सुधार भएका देखिन्छन् । तर, विद्यार्थीले पढ्ने विधि उही छ, जुन यो पंक्तिकार आफैंले तीसको दशकमा अनुभव गरेको थियो । ‘नानी हो, तिमीहरूले अखबार देखेका छौ ?’ उनीहरूले नकारात्मक सूचक टाउको हल्लाए । अनि यो पंक्तिकारले सुनायो, आजभन्दा ३५ वर्षअघिको नेपालमा हाम्रो गाउँमा पनि तिमीहरूको गाउँमा जस्तै पत्रिका आउँदैनथ्यो । यो घटनाले झल्झली तिनै पुराना दिन सम्झायो, जतिबेला महिनौँ लगाएर हुलाकी दाइको काँध चढेर बूढो गोरखापत्र कहिलेकाहीँ झुल्किन्थ्यो ।

नियमित यातायात नहुँदा हामीले पत्रपत्रिकाको मुखसमेत देख्न पाउँदैनथ्यौँ । बुद्धका प्रधानाध्यापक दिलिप स्याङ्तान लामाले आफूसँग केही थान कम्प्युटर र ल्यापटप भए पनि विद्यार्थीलाई कक्षा सञ्चालन गर्न पुग्ने ८÷१० वटा कम्प्युटरसमेत नभएको बताए । वास्तवमा यहाँका विद्यार्थीलाई ‘डिजिटल ग्याप’ले पनि कमजोर बनाएको छ । राजधानीबाट यति नजिक भएर पनि स्कुलमा इन्टरनेट छैन, जसले विद्यार्थीको सिकाइलाई फरक पार्ने थियो ।

स्कुलमा पठनपाठनमा दत्तचित्त शिक्षक पु¥याउन सक्नु पनि अहिलेको बेलाको चुनौती हो । लगनशील शिक्षक मात्र भएर पुग्दैन, त्यसका लागि समुदाय आफैं पनि शिक्षाप्रति चनाखो हुनुपर्छ । तर, यी स्कुलमा नानीहरू पठाइरहेका अभिभावकमा पढाइको अनुगमन गर्ने क्षमताकै अभाव छ । स्कुलले जति तिनलाई हेर्न भ्यायो, त्यसैमा चित्त बुझाउनुपर्ने अवस्था छ । तर, घरमा तिनको पढाइमा ध्यान दिन नसक्ने बित्तिकै सहरका सुविधासम्पन्न बालबालिकाको तुलनामा उनीहरू पुग्न गाह्रो हुन्छ ।

अधिकांश तामाङ बस्ती रहेका कारण धेरैजसो विद्यार्थीलाई सुरुका कक्षामा नेपाली भाषाको पढाइमै समस्या हुने अनुभव शिक्षकहरूको छ । त्यही भएर शिक्षकले थोरै भए पनि तामाङ भाषाका शब्द प्रयोग गरेर विद्यार्थीलाई बुझ्न सहज बनाउने प्रयास गरेका छन् । कम्तीमा सुरुका कक्षा आफ्नै भाषामा पढ्न पाउने हो भने विद्यार्थीको सिकाइ तीव्र हुने थियो । नेपाली भाषाका पुस्तक त समयमा वितरण गर्न नसक्ने स्कुलहरूलाई मातृभाषामा शिक्षा दिन सक्ने बनाउनु निकै चुनौतीको काम हो । राज्यको बजेट दुरुपयोग भइरहेको छ । स्कुलमा राम्रा शिक्षक ल्याउन र शैक्षिक वातावरण बनाउन खर्च गर्ने हो भने त्यसले राम्रो परिणाम ल्याउने थियो ।

सुरुमा २/३ वर्ष नेपाली भाषाको प्रयोगमा विद्यार्थीलाई निकै गाह्रो हुने गरेको प्रधानाध्यापक लामा बताउँछन् । विद्यार्थीलाई निर्देशन दिँदा मात्र पनि तामाङ भाषाको प्रयोग हुँदा निकै फरक पर्ने गरेको अनुभव पनि उनको छ । वरिपरि हरिया डाँडाले घेरिएको बुद्ध स्कुलको वातावरण निकै रमाइलो छ । स्कुल भवन पनि राम्रोसँग बनाएको देखिन्छ । यहाँका प्रधानाध्यापकको इच्छाअनुसार शैक्षिक सामग्री पाउने हो भने विद्यार्थीको भविष्य थप उज्ज्वल हुने थियो । भूकम्पले बाघभैरवको भवन भत्काए पनि अस्थायी टहरामा राखेर विद्यार्थीलाई पढाउने काम भएको छ । पूरै दरबन्दीअनुसार शिक्षक नपाउँदा मौजुदा शिक्षकले पिरियड थप गरीगरी पढाउनुपरेको प्रधानाध्यापक राजेश्वर यादव बताउँछन् ।

धेरै नबोल्ने यहाँका विद्यार्थीका आँखामा उत्सुकता पर्याप्त देखिन्छ । पत्रपत्रिका नियमित पढ्न नपाए पनि र इन्टरनेटको प्रयोगबाट वञ्चित भए पनि उनीहरूले पत्रकार बन्न के गर्नुपर्छ, समाचार तपाईं पत्रकारले कसरी थाहा पाउनुहुन्छ जस्ता गहिरा जिज्ञासा राखेका थिए । गाउँगाउँमा फैलिएका सार्वजनिक स्कुललाई शैक्षिक हिसाबले उम्दा बनाउन सके भोलिको नेपालका निम्ति योग्य जनशक्ति तयार हुने थिए । स्थानीय आवश्यकताअनुसार पाठ्यक्रम बनाउन सकेको भए पनि त्यसले उनीहरूलाई आउने चुनौती सामना गर्न सक्षम बनाउने थियो । अहिले वैदेशिक रोजगारीमा जाने लहर नै चलेको छ । स्कुलको पढाइ व्यावसायिक सीप वा रोजगारीअनुकूल हुन सकेको पाइएको छैन ।

एकजना नेताको उपचारका लागि ५०औँ लाख रूपैयाँ सहजै खर्च गर्न सक्ने राज्यले स्कुलको अवस्था सुधारमा भने ध्यान दिएको छैन । स्कुलमा प्रतिस्पर्धामा उम्दा देखिएका शिक्षकलाई जीविकाका निम्ति पुग्ने तलब दिएर राख्न सकिने थियो, त्यो गरेको देखिएन । आखिर प्रेरणा र प्रोत्साहन हुने हो भने हाम्रा कक्षा कोठाले पनि योग्य शिक्षक पाउन सक्छ भन्ने उदाहरण हो– टिएफएन अभियान ।  तिनले कक्षा कोठामा पारिरहेको प्रभावका आधारमा पनि यो भन्न सकिन्छ । स्कुलको परिणाममा पनि प्रभाव पार्न उनीहरू सफल भएका छन् ।

यति नजिकै ललितपुरका स्कुलको अवस्था यस्तो छ भने देशका दुर्गम भेगका स्कुलको अवस्था कस्तो होला ? एसएलसी आउनुअघि चापागाउँ झरेर ट्युसन पढ्ने बाघभैरवका विद्यार्थीले यो वर्ष गाउँमै बसेर तयारी गर्ने भएका छन् । ‘हामी यहीँ तयारी गर्छौं,’ शिक्षक रोशन भन्छन्, ‘भूकम्पपछिका डेढ वर्ष टहरामा बसेर पढाउनुपरे पनि यो अवसरका लागि हामी कृतज्ञ छौँ ।’
 

प्रकाशित: १२ मंसिर २०७३ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App