४ वैशाख २०८१ मंगलबार
राजनीति

सहमति जुटाउन पौडेल सक्रिय

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन एमाले नेताहरूसँग छलफल गरेका छन्। आइतबार बिहान उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्ने भएका छन्।

एमाले नेताहरूसँगको कुराकानीमा पौडेलले सीमांकनमा लचिलो बन्न आग्रह गरे। एमालेले सीमांकनमा लचकता अपनाए अरु विषयमा सहमति हुने उनको तर्क छ। पौडेलले एमाले नेता झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतसँग छलफल गरेको बताए। छलफलबाट आफू आशावादी भएको पनि पौडेलले बताए।

'एमालेका नेताहरूसँग मैले कुराकानी गरिरहेको छु। संशोधन दर्ता गर्दा एमालेलाई पनि नछाडौं भन्ने मेरो प्रयास हो', नागरिकसँग पौडेलले भने, 'उहाँहरूलाई सीमांकनमा लचकता देखाऔं भन्ने मेरो आग्रह हो। सीमांकनमा लचकता देखाउनेबित्तिकै सहमतिमा संशोधन प्रस्ताव दर्ता हुन्छ।'

एमाले नेता भीम रावलले पौडेलसँग आइतबार भएको कुराकानीमा आफूले मस्यौदा कस्तो छ भनी सोधेको बताए। उनले भने, 'उहाँसँग मैले संविधान संशोधनको मस्यौदा हामीले हेर्न पाएका छैनौं, कस्तो छ भनेर सोधें।'

पौडेलले शनिबार नेता खनाल र नेपालसँग टेलिफोनमा कुराकानी गरेका थिए। नेपाल शनिबार नै अमेरिका गएका छन्। कांग्रेस सभापति शेबरहादुर देउवा आइतबार वीरगन्जबाट काठमाडौं फर्कंदै छन्। काठमाडौं फर्केलगत्तै देउवाले पनि आइतबार बिहान एमाले नेताहरूसँग कुराकानी गर्ने कांग्रेस नेताहरू बताउँछन्। पौडेलले देउवासँग संशोधनमा एमालेलाई साथै लैजान सुझाव दिँदै आएका छन्।

सीमांकनमा सहमति खोज्न पौडेल सक्रिय भएकै बेला कांग्रसकै केही नेता सीमांकनका विषयमा असन्तुष्ट देखिएका छन्। डा. शेखर कोइराला, बालकृष्ण खाँड, चन्द्र भण्डारीलगायतका नेता ५ नम्बर प्रदेश टुक्र्याउन नहुने पक्षमा छन्। उपप्रधानमन्त्री विमलेन्द्र निधि, यातायात मन्त्री रमेश लेखक, नेता कृष्ण सिटौला भने सीमांकनमा सरकारले तयार गरेको संविधान संशोधन मस्यौदामा सकारात्मक छन्। ५ नम्बर प्रदेश टुक्र्याउन असहमति जनाए पनि संविधान संशोधन प्रक्रियामा कांग्रेस एकजुट हुने एक असन्तुष्टमध्येकै एक नेताले बताए। 'हाम्रो असन्तुष्टि हुँदाहुँदै पनि संविधान संशोधन प्रक्रियामा कांग्रेस एकजुट हुन्छ', उनले भने।

पौडेल आज जापान जाँदै

कांग्रेसका नेता पौडेल आइतबार जापान जाने भएका छन्।  जापान सरकारको निमन्त्रणमा पौडेल थाई एयरबाट त्यसतर्फ जान लागेका हुन्।

 दस दिन त्यहाँ रहँदा पौडेलले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। पौडेलसँगै उनकी पत्नी सविता पौडेल, सांसद राजन केसी र स्वकीय सचिव अधिकारी पनि जानेछन्।

जापान जानुअघि नै पौडेलले नेपालका लागि जापानी राजदूतसँग भेट गरेका छन्। भेटमा संविधान कार्यान्वयन र नेपालको विकास निर्माण विषयमा कुराकानी भएको पौडेलले बताए।

भेटमा जापानी राजदूतले जापान सरकारले नौबीसे–नागढुंगा सुरुङ मार्ग र सप्तगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउन लागेको जानकारी गराएका थिए।

पौडेल जापान उड्नुअघि नेपाली कांग्रेसले केही नेतालाई राज्यमन्त्रीसहित सरकारमा सहभागी गराउने तयारी छ।

प्रकाशित: १२ मंसिर २०७३ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App