७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ग्रीसको अर्थतन्त्र २.८ प्रतिशत वृद्धि हुने अनुमान

एथेन्स – युरोपेली संघमा आबद्ध मुलुक ग्रीसको अर्थतन्त्र आगामी सन् २०२० मा २.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सोमबार सार्वजनिक गरिएको प्रस्तावित बजेटमा बेरोजगारी दरमा हालको १७.४ प्रतिशतबाट घटेर १५.६ प्रतिशत पुग्ने ग्रीसको अर्थ मन्त्रालयले अनुमान गरेको छ ।

आर्थिक संकटसँग जुधिरहेको ग्रीसलाई ठूलो ऋण दिएका युरोपेली संघ–अन्तर्राष्ट्रिय मुद्रा कोषले ग्रीसले आर्थिक सुधार तथा निजीकरणका कार्यहरुलाई तिब्रता दिनुपर्ने शर्त राखेका छन् । ग्रीसमाथि आगामी वर्षहरुमा कूल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत रकम ऋण भुक्तानीका लागि छुट्याउनुपर्ने दबाब छ ।

ग्रीसका प्रधानमन्त्री काइरियाकोस मिचोटाकिसले ऋणदातासँग यो लक्ष्यमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

ग्रीसले विगत छ वर्षदेखि झेल्दै आएको आर्थिक मन्दीबाट मुलुकलाई बिस्तारै सुधारका दिशामा अघि बढाए पनि ग्रीसको अर्थतन्त्र अझै पनि कमजोर अवस्थामा छ ।

ग्रीसको सरकारी ऋण कूल गार्हस्थ्य उत्पादनको १८० प्रतिशतभन्दा बढी छ । त्यहीकारण ग्रीसको अर्थतन्त्रमाथि ऋणदाताहरुबाट निरन्तर कडा निगरानी गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी निवर्तमान प्रमुख क्रिस्चियन लागार्डले गत महिना ग्रीसले ऋणदाताका लागि जिडीपीको ३.५ प्रतिशत छुट्याउनुपर्ने भन्ने शर्त निकै बढी भएको प्रतिक्रिया दिनुभएको थियो । यसले ग्रीसको अर्थतन्त्र सुधारमा ठूलो अवरोध ल्याउन सक्ने उहाँले बताए छ ।

दशकौंसम्मको आर्थिक संकटका कारण ग्रीसले युरोपेली संघ र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट संयुक्त रुपमा ३३० अर्ब अमेरिकी डलर ऋण लिएको थियो ।

प्रकाशित: २१ आश्विन २०७६ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App