१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वर्षौंदेखि दलमा एकछत्र राज

काठमाडौं- हरेक पाँच-पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही साना दलले त्यसको उल्ंलघन गर्दै आएका छन्।  केही साना र ठूला दलले कानुनअनुसार महाधिवेशन गरे पनि नेतृत्व भने परिवर्तन गर्न सकेका छैनन्।  

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे २०२७ सालदेखि सो पार्टीको निरन्तर अध्यक्ष छन्। पार्टी स्थापनाको ४६ वर्षमा ५ पटक महाधिवेशन भए पनि नेतृत्वमा उनै छन्।

बिजुक्छे अझै कहिलेसम्म पार्टी अध्यक्ष हुने हुन् उनैलाई थाहा छैन। 'पार्टीले जे निर्णय गर्छ, त्यही हुन्छ', उनी भन्छन्, 'नेतृत्व परिवर्तन कार्यकर्ताको चाहनामा भर पर्छ। कार्यकर्ताले मलाई छानिरहेका छन्। नेमकिपा २०२७ माघ २५ गते स्थापना भएको हो। स्थापनाकालमा पार्टी केन्द्रीय समिति १५ सदस्यीय थियो। त्यो बेलादेखि पार्टीमा एकछत्र बिजुक्छेको नेतृत्व चल्दै आएको छ।

संसद्मा प्रतिनिधित्व गरेका अन्य साना दलमा पनि यस्तै स्थिति छ। २०५२ सालमा स्थापित राष्ट्रिय जनमोर्चा (राजमो) मा पनि  निरन्तर चित्रबहादुर केसी अध्यक्ष छन्। अखिल नेपाल राष्ट्रिय जनमोर्चाको रुपमा उक्त संगठन २०४५ सालमा स्थापना भएको थियो। २०५२ सालमा चुनावी मोर्चाको रुपमा राजमो गठन गरिएको थियो। २०४५ सालमा पनि सो संगठनको नेतृत्व चित्रबहादुर केसीले गरेका थिए। स्थापना देखि राजमोको तीन पटक राष्ट्रिय सम्मेलन भयो। हरेक राष्ट्रिय सम्मेलनबाटछ केसी नै अध्यक्ष चुनिए। 'पार्टी कार्यकर्ताले जसलाई चाहन्छन् त्यही नै अध्यक्ष हुन्छ। कार्यकर्ताले उहाँ (केसी) लाई चाहे, उहाँ नै अध्यक्ष हुनुहुन्छ', राजमोका उपाध्यक्ष दुर्गा पौडेलले भनिन्।

स्थापनादेखि नेतृत्व परिर्वतन नभएको दल नेकपा (माले) पनि हो। २०५८ साल फागुन ३ गते तत्कालीन मालेका नेता वामदेव गौतमलगायत नेता एमालेमा एकीकृत भएपछि सिपी मैनालीले मालेलाई पुनर्गठन गरी नेकपा (माले) स्थापना गरेका थिए। त्यसयता मैनाली सो पार्टीको महासचिव निरन्तर छन्।

त्यस्तै ठूलो दल भएर पनि नेतृत्व परिवर्तन नभएको दल नेकपा माओवादी (हाल माओवादी केन्द्र) हो। नेकपा माओवादी नाममा २०४९ सालमा यो दल स्थापना  भएको थियो। २०४९ सालयता नेकपा माओवादीको नाम धेरैपटक परिर्वतन भयो तर नेतृत्व परिवर्तन हुन सकेको छैन।  २०४९ सालदेखि नै पुष्पकमल दाहाल निरन्तर पार्टी अध्यक्ष छन्। दाहाल २०४२ सालदेखि नै पार्टीको पहिलो स्थानमा छन्। २०४२ सालमा स्थापना भएको नेकपा (मशाल) मा पनि उनी महामन्त्री थिए। त्यसयता दाहाल पार्टीको दोस्रो स्थानमा झरेका छैनन्। २०४७ सालमा नेकपा (चौथो महाधिवेशन) र नेकपा (मशाल) बीच एकीकरण भई बनेको नेकपा (एकता केन्द्र) को पनि उनी महामन्त्री थिए। 'अरुको क्षमतालाई विश्वास नगरेर या अर्काको कमान्डमा बस्न नचाहेर नेतृत्व परिर्वतन नगर्ने परम्परा बसेको हो', राजनीतकि विश्लेषक हरि रोकाले भने, 'राजनीतिमा नैतिकता हराएपछि नेतृत्व परिवर्तन नगर्ने प्रवृत्ति सुरु भएको हो।'

मधेसी दल पनि उस्तै

तराई–मधेसलाई केन्द्रित गरी खोलिएका मधेसवादी दलमा पनि नेतृत्व परिवर्तन भएको छैन।  निर्वाचन आयोगमा दर्ता  मधेसी दलहरूको नेतृत्वमा स्थापनाकालदेखि  निरन्तर एक जना  छन्।

मधेसी मोर्चामा आबद्ध सातवटै दलमा स्थापनाकालदेखि नेतृत्व परिवर्तन भएको छैन। स्थापनाकालमा अध्यक्ष भएका नेता अहिलेसम्म निरन्तर छन्।

मोर्चामा आबद्ध नभएका अन्य मधेसी दलको पनि नेतृत्व परिवर्तन भएको छैन।

यीमध्ये कुनै दलमा महाधिवेशन भएको छ भने कुनैको भएको छैन। महाधिवेेशन गरेका दलमा पनि नेतृत्व परिवर्तन हुन सकेको छैन।  महाधिवशन नभएका दलको त के कुरा भयो र।

संघीय समाजवादी फोरम, नेपालका  अध्यक्ष उपेन्द्र यादव दुई दशकदेखि पहिलो नेतृत्वमा छन्। । २०५४ सालमा यादवले नेतृत्वमा तत्कालीन मधेसी जनअधिकार फोरम, नेपाल एनजिओको रुपमा स्थापित भएको थियो। २०६४ वैशाख १४ गते फोरम नेपाल पार्टीको रुपमा निर्वाचन आयोगमा दर्ता भएका थियो। २०७२ जेठ ३२ गते फोरम नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच एकीकरण भएपछि यसको नाम संघीय समाजवादी फोरम, नेपाल भएको हो। एकीकृत भएपछि भने उक्त पार्टीको महाधिवेशन भएको छैन। एकीकृत पार्टीको विधानमा एउटा व्यक्ति लगातार दुई अवधिभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था छ। विधानको व्यवस्था मान्ने हो भने पनि यादव अझै १० वर्ष अध्यक्ष हुन पाउछन्।

सो पार्टीका  महासचिव रामसाह यादवले पार्टीको विधान र कार्यकर्ताको चाहना अनुसार नै नेतृत्व परिर्वतन नभएको बताए। 'कार्यकर्ताको चाहनाअनुसार नै नेतृत्व परिवर्तन नभएको हो', उनले भने।

२०६४ पुस १३ गते स्थापना भएको अर्को  मधेस केन्द्रित दल तमलोपाको पनि नेतृत्व परिर्वतन भएको छैन। स्थापनाकालदेखि नै महन्थ ठाकुर सो  पार्टीको अध्यक्ष  छन्। २०७३ असारमा तमलोपाको पहिलो महाधिवेशन भयो। महाधिवेशनले ठाकुरलाई नै अध्यक्ष बनायो।

मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकमा पनि नेतृत्व परिर्वतन भएको छैन। २०६६ साउन १६ गते स्थापना भएको फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन २०७३ वैैशाखमा भयो। सो महाधिवेशनले पनि विजय गच्छदारलाई नै अध्यक्षमा निरन्तरता दियो। गच्छदार पार्टी स्थापनाकालदेखि निरन्तर अध्यक्ष छन्। सो पार्टीका नेता रामेश्वर राय यादवले नेतृत्व परिर्वतनको होडबाजीले विश्वासमा कमी आउने बताउँछन्। उनी सो पार्टीको दोस्रो वरियतामा छन्। 'नेतृत्व परिवर्तन गर्न खोज्दा विश्वासमा कमी आउँछ। त्यो म चाहन्नँ', उनले भने

२०६४ पुस ११ गते निर्वाचन आयोगमा दर्ता भएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि निरन्तर अध्यक्ष छन्। सो पार्टीका  नेता यो दल २०४७ साल वैशाख ३ मा गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीकै निरन्तरता भएको दाबी गर्छन्। सद्भावना पार्टीका महासचिव मनीष सुमनले दोस्रो  व्यक्तिले नेतृत्वमा जाने हिम्मत नगरेकै कारण पार्टीमा नेतृत्व परिर्वतन नभएको बताए। 'अर्को योग्य व्यक्ति नभएर पनि  नेतृत्व परिर्वतन नभएको होला', उनले भने।

अनिल झाले नेतृत्व गरेको संघीय सद्भावना पार्टी र सरिता गिरीले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीबीच २०७१ फागुन १७ गते एकीकरण भएर नेपाल सद्भावना पार्टी स्थापना भयो।  त्यसबेलादेखि झा निरन्तर पार्टी  अध्यक्ष छन्। उनी पनि आफ्नो पार्टी २०४७ सालमा गठित नेपाल सद्भावना पार्टीको निरन्तरता भएको दाबी गर्छन्। 'मधेसवादी दलमा मात्र किन कुरा गर्ने अन्य दलमा पनि यस्तै स्थिति छ', उनले भने।

०६७ पुस १६ गते स्थापना भएको तराई मधेस सद्भावना पार्टीमा पनि नेतृत्व परिर्वतन हुन सकेको छैन। सुरुदेखि नै  महेन्द्र यादव सो दलको अध्यक्ष  छन्। यसैगरी ०६९ असार १३ गते स्थापना भएको राष्ट्रिय मधेस समाजवादी पार्टीको अध्यक्ष शरत्सिहं भण्डारी छन्। २०६९ पुस ११ गते स्थापना भएको मधेसी जनअधिकार फोरम, गणतान्त्रिकको पनि नेतृत्व परिर्वतन भएको छैन। सो पार्टीको अध्यक्ष राजकिशोर यादव छन्।

मधेसी बुद्धिजीवी डा. राजेश अहिराजले पार्टीलाई प्रयोग गरेर आफ्नो र परिवारको दुनो सो‰याउने प्रवृत्तिले मधेसी दलमा नेतृत्व परिवर्तन हुन नसकेको बताउँछन्। 'मधेसवादी दलमा नेतृत्व परिवर्तन हुन नसक्नु दुर्भाग्य हो। पार्टीलाई प्रयोग गरेर आफ्नो र परिवारको मात्र सवृद्धि चाहने प्रवृत्तिले यस्तो स्थिति आएको हो', अहिराजले भने।

प्रकाशित: १२ मंसिर २०७३ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App