८ वैशाख २०८१ शनिबार
अर्थ

सुपरदोर्दी 'ख' को निर्माण कार्य सुरु

लमजुङ- पूर्वी भेगको दोर्दीखोलामा निर्माण गरिने ४९.६ मेगावाटको सुपर दोर्दी ख जलविद्युत आयोजनाको निर्माण औपचारिक रुपमा सुरु भएको छ। सुरुङ निर्माणस्थलमा गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, बाइबर घले र बुलाल घलेले संयुक्त रुपमा शिलान्याश गरेपछि आयोजनाको अडिट टनेल निर्माण कार्य सोमबार सुरु भएको हो।

सो आयोजनाले विकट ढोडेनी र फलेनी गाविसलाई समेटेको छ। निजी क्षेत्रको पिपुल्स हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको यो आयोजनाले ती दुई गाविसको सिमानाबाट बग्ने दोर्दी खोलाको पानी उपयोग गर्नेछ। प्रोमुखोला नजिकै बाँध निर्माण गरी ४ हजार ८ सय मिटर लामो सुरुङ मार्फत ताँजेगाउँ नजिकैको लोदो र दोर्दीको दोभानमा विद्युतगृह निर्माण गर्ने प्रवर्द्धक कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनीले जनाएको छ। आयोजनामा अडिट टनेल र मुख्य टनेल गरी कुल ७ किलोमिटर सुरुङ निर्माण गरिने आयोजनाका निर्देशक अर्जुन गौतमले बताए। विद्युत उत्पादन बढाउन सो आयोजनाका लागि दोर्दीखोलासँगै स्थानीय प्रोमु खोलाको पानी समेत मिसाइने गौतम बताउँछन्।

साँढे ३ वर्ष अर्थात १ हजार १६ दिनमा निर्माण कार्य सम्पन्न भई उत्पादित विद्युत प्रसारण लाइनमा पठाउने लक्ष्यसाथ निर्माण कार्य थालिएको प्रवर्द्धक कम्पनी पिपुल्सका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझी बताउँछन्। 'नेपालको जलविद्युत इतिहासमा सुपर दोर्दी–ख ले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गरी लोडसेडिङ घटाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ,' रायमाझीले भने। स्वदेशी लगानीको यो आयोजना र नेपाल विद्युत प्राधिकरणबीच २०७१ फागुनमा विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो। 'सरकारले सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरी पिपिए सम्झौता भएको हो।' प्रबन्ध निर्देशक रायमाझीका अनुसार 'प्राधिकरणले २५ मेगावाटसम्म चलन चल्तीको दर (पोस्टेड रेट)मा आयोजनाको पिपिए भएको थियो। 

यो आयोजनामा २ हजार संस्थापक लगानीकर्ता संगठित भइसकेको र तीमध्ये ७ सयभन्दा बढी स्थानीय रहेको आयोजनाका सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष इजन बराल बताउँछन्। उनका अनुसार नबिल बैंकको नेतृत्वमा ५ अर्ब ८० करोड र इक्वइटी बाट २ अर्ब ४९ करोड लगानी भएको छ। स्वपुँजीमा प्रवर्द्धकको ६०, प्रभावित लमजुङ जिल्लावासीको १० र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ। आयोजना सम्पन्न गर्न झण्डै ८ अर्ब २९ करोड रुपैयाँ खर्च हुने सम्भाव्यता अध्ययनले देखाएको छ। आयोजनामा ७० प्रतिशत बैंकको कर्जा र ३० प्रतिशत प्रवर्द्धकको स्वपुँजी लगानी हुनेछ। आयोजनाले लगानीका लागि रकम संकलन गर्न सुपरदोर्दी इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेको छ। सो कम्पनी मार्फत लमजुङबाट मात्रै २५ करोड बढी लगानी रहेको छ भने स्थानीय र अन्यत्र गरी करिब १ अर्ब ७५ करोड बढी सेयर रकम संकलन गरिसकेको छ।

वित्तिय व्यवस्थापनको कार्य सम्पन्न गरी आयोजना निर्माणमा जुटेको यस आयोजनालाई विद्युत प्राधिकरणले ०७६ सालको असोज २० मा निर्माण कार्य सम्पन्न गरी व्यवसायिक उत्पादन सुरु गर्न आग्रह गरेको छ। कुल ग्रसहेड ६०१.४२ मिटर भएकाले आर्थिक रुपमा यो आयोजना निकै आकर्षक मानिएको हाइड्रो प्रवर्द्धकहरु बताउँछन्।

रन अफ रिभर (नदीको बहावमा आधारित) स्वरुपको उक्त आयोजनाबाट वार्षिक २९ करोड ९४ लाख ६६ हजार युनिट बिजुली उत्पादन हुने बताइएको छ। प्रसारणलाइनमा हुने चुहावटका कारण कम्पनीले प्राधिकरणलाई २८ करोड ९४ लाख ६५ हजार युनिट बिजुली मात्र बिक्री गर्नेछ। आयोजनाबाट उत्पादित विद्युतलाई झण्डै ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी दोर्दी करिडोरको कर्तिपुर सबस्टेसनमा जोड्ने गरी प्राधिकारणसँग सम्झौता भएको छ। २ वटा पेल्टन टर्बाइन रहने र भूमिगत विद्युत गृह निर्माण गरिने डिजाइनमा उल्लेख छ। अहिलेसम्म आयोजनालाई आवश्यक पर्ने जग्गा खरिद गर्नुका साथै १२ किलोमिटर लामो पहुँच मार्गको ट्र्याक खोल्ने काम समेत सकिएको प्रवर्द्धक पिपुल्सले जनाएको छ।

प्रकाशित: १६ असार २०७३ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App