८ वैशाख २०८१ शनिबार
समाज

धुलोमुक्त अभियानमा अवरोध नगर्न प्रमुख शाक्यको आग्रह

काठमाडौँ - काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन् ।

उनले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताए ।

सांसद भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीको उपस्थितिमा आइतबार त्यहाँको काममा अवरोध भएको थियो । दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पुर्याइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौँका मुख्य क्षेत्रमा सजावट र कालोपत्र लगायतको कामले. तीव्रता पाएसँगै खुलामञ्चको बसपार्कमा पनि कालोपत्र गर्न लागिएको हो ।

“हामीले त्यहाँ स्थायी संरचना बनाउन खोजेका होइनौँ, हामी अहिले होइन पहिलादेखि नै त्यो अस्थायी बसपार्क हो भनिरहेका छौँ”, डेङ्गुको आशङ्कामा अस्पतालमा उपचाररत प्रमुख शाक्यले भने , “मैले उपप्रमुखसँग सल्लाह गरेर नै त्यहाँ अस्थायी रुपमा कालोपत्रको प्रक्रिया अघि बढाउन भनेको हुँ । तर त्यहाँ विषयवस्तुलाई अनावश्यक रुपमा उचालेर राजनीति गर्ने काम भएको खबर सुन्दा दुःख लागेको छ ।”

शाक्यले धुलोमुक्त काठमाडौँ अभियानमा आफू निरन्तर लागिरहेको भन्दै महानगरको फोहर र धुलोमा राजनीति गर्ने गरेका कारण समस्या भएको बताए । “हामीले महानगरभित्रका सडक जति नै सफा र चिल्ला बनायौँ भने पनि बसपार्कबाट निस्कने धुलो र हिलोका कारण ती सडकको अवस्था उस्तै हुन्छ”, उनले भने , “हामीले त्यही भएर अस्थायी रुपमा त्यहाँ कालोपत्र गर्नु भनेका हौँ । तर, माननीयज्युहरुले विषयवस्तुलाई अन्तै लगेर त्यहाँ अवरोध गर्नुभएछ । त्यो राम्रो होइन ।”

उनले अहिले महानगरपालिकाकै पहलमा तीनकुनेमा पनि आइल्यान्ड बनाउने काम भइरहेको भन्दै अन्य ठाउँको पनि सजावटको काम अघि बढेको बताए । “तीनकुनेमा पनि हामीले अस्थायी रुपमै आइल्यान्ड बनाएका हौँ”, उनले भने , “विदेशी पाहुना आउँदा मात्र होइन हामीले दैनिक ओहोर–दोहोर गर्दा पनि त्यहाँ हिलो र धुलोको सामना गर्नुपर्ने हुन्थ्यो । कम्तीमा पनि त्यहाँ आइल्यान्ड बनेपछि हेर्न लायकको हरियाली बन्नेछ । फेरि विदेशी पाहुना आउँदै पिच्छे कहिले टिनका जस्ता त कहिले फ्लेक्सले छोप्नुपर्ने बाध्यता पनि हटेको छ ।”

काठमाडौँ महानगरपालिका पहिलादेखि नै काठमाडौँ महानगरभित्रका खाल्टाखुल्टी पुर्ने, धुलो हटाउनेलगायतका अभियानमा निरन्तर लागिरहेको थियो । चिनियाँ राष्ट्रपति चिनफिङ नेपाल आउने र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर अन्य निकायले समेत चासो देखाएपछि काठमाडौँका सडक थप चिल्ला र खाल्टाखुल्टी मुक्त बन्न थालेका हुन् ।

प्रकाशित: २० आश्विन २०७६ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App