coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१० वर्षपछि खलंगामा 'लिङ्गेपिङ'

भेरी नगरपालिकाको खलंगा थाप्लेमा लिंगे पिङमा रमाउदै सर्वसाधारण। तस्वीरः जनक/नागरिक

जाजरकोट - भेरी नगरपालिका ३ थाप्लेका स्थानीय महिला र बालबालिकाहरुलाई बल्ल दशैं आएको अनुभुति भएको छ।  खलंगाको थाप्लेस्थित जिल्ला खेलकुद विकास समितिको मैदान (जसलाइ स्थानीयले कभरहल भनेर भन्छन्)मा  लिंगे पिङ हालेपछि उनीहरुलाइ दशैं आएको भान भएको हो। दशैंका बेला  घरमा राखिने  पहेंला जमरा,  विजयादशमीका दिन त्यहि पहेंलो जमराका मालाका साथ लगाइने रातो टीका, ठुलाबडाको आर्शिवाद, नयाँ लुगा, खसीको मासु र भात  जस्तै अर्काे महत्वपुर्ण  र मनोरन्जनको साधनको रुपमा रहेको लिंगे पिङ हालेपछि उनीहरुमा छुटटै उत्साह र उमंग छाएको देखिन्छ। झन्डै दस वर्षदेखि गाउँमा लिंगे पिङ हाल्न छोडिएको थियो।

शसस्त्र प्रहरी बल जाजरकोट गुल्मले थाप्लेमा लिंगे पिङ बनाइदिएपछि स्थानीयहरुले रमाउन पाएका हुन्। पोहर सालतिर त दशैंमा पिंग खेल्नै पाइदैनथ्यो यो वर्ष भने धित मर्ने गरी पंगै ( पिङ ) खेलिन्छ रमाइन्छ , स्थानीय सीता शाहीले  भनिन्।  गाउँ बस्तीमा दशैंका वेला पिङ नहुनु भनेको  दशैं खल्लो हुनु मात्र नभएर असल परम्परा हराउनु  जस्तै भएको उनले बताइन्।  खलंगाको थाप्लेमा  वाँसको लिंगे पिङ बनेपछि  स्थानीय महिला बालबालिका र अन्य सर्वसाधारणहरु निकै रमाएको उनले बताइन्। सीता जस्तै  अर्की संगीता पुनले पनि  गाउँमा  हालिएको लिंगे पिङका कारण  गाउँमा निकै रमाइलो  वातावरण बनेको  बताइन्। 

दशैं भन्ने वित्तिकै धेरैले  खसी, जमरा, नयाँ लुगा र टीका लगाउने कुरा संगै पिङ खेल्ने  कुरा पनि  सम्झिने  गरेको संगीताले बताइन्। गाउँमा लिंगे पिङ बनेदेखि खेलेर रमाउनेहरुको  दिनभरि हुल हुने गरेको  उनले बताइन्।  यस अघिका दशैंहरुमा  पिङ खेल्न गाउँदेखि टाढा रहेको  नेपाली सेनाको  व्यारेकमा जानु पर्ने र त्यहा  जान पनि अप्ठेरो  लाग्ने गरेको स्थानीयहरु बताउछन्। चाड पर्वका बेला  सकरात्मक सँस्कृतिको रुपमा रहेका कुराहरुलाइ सबै मिलेर निरन्तरन्ता दिने वा जोगाउने गर्नु पर्ने   पत्रकार हरिहरसिंह राठौर बताउँछन्।पुर्खाले चलाएका  हाम्रो सामाजिक जीवन शैली, ऐतिहासिक महत्व र परम्पराका सकरात्मक कुरा झल्काउने वस्तु र चलनलाई  जोगाउन नसके भोलिको पुस्ताले आजका कुनै पनि कुरा भेटाउन नपाउने उनले बताए।

सामाजिक कला, सँस्कृति, परम्परा र सम्पदालाई जोगाउने पहिलो दायित्व भनेकै  सरकार र स्थानीय जनताको हो यस तर्फ सबैैले गम्भीर भएर सोच्न जरुरी रहेको राठौरले बताए।  दशैंका बेला गाउँ वस्तीहरुमा लिंगे पिङ हाल्ने चलन लगभग हराउँदै  छ।  पहिलो प्रत्येक गाउँ वस्तीहरुमा  स्थानीयहरुले निकै उत्साह र उमंगका साथ लिंगे पिङ हाल्ने र त्यसमा रमाउने गरेपनि पछिल्ला वर्षहरुमा यो हराउँदै गएको पाइन्छ। गाउँमा दशैं आएको संकेत गर्ने रातो मोटोले घर पोतेको, घरको छाना भरि फर्सीको लहर वनाएको, घरको बार्दलीमा मकैंको सुली बनाएको, लिंगे पिङमा तन्नेरी तरुनीहरु चच हुइए भन्दै कराएको, घरआँगन गाउँ वस्तीहरु सफा गरेको, मौलिक लोकभाका गीतहरु मादल मुरली र झयालीको तालमा बजेको लगाएतका असल कुराहरु विस्तारै हराउँदै गएका कारण दशैंमा गतिलो रौनक  र रमाइलो वातावरण देखिन छोडेको स्थानीय जेष्ठ नागरिक चक्रवहादुर चन्दले बताए।

उनले पहिलाको जस्तै मौलिक दशैं बनाउन नयाँ पुस्ताले  पुरानो पुस्ताको अनुभव र ज्ञानलाइ प्रयोग गर्नुपर्ने बताए। पहिलेका पुस्ताले प्रयोग गर्ने मौलिक कला, परम्परा र सामाजिक चालचलनलाई सृजनात्मक र सकरात्मक रुपमा नयाँ पुस्ताले  लागु गर्न सके   दशैं लगाएत सवै चाडपर्वहरु निकै मौलिक र अर्थपुर्ण हुने उनको भनाई छ। यो वर्ष खलंगाको बजारमा  शसस्त्र प्रहरीको जाजरकोट गुल्मले  वाँसको लिंगे पिङ हालिदिए पनि अर्काे वर्षदेखि स्थानीयहरु आफै सक्रिय भएर गाउँ गाउँमा लिंगे पिङ हाल्ने लगाएतका अन्य असल चलनहरु लागु गर्न सक्रिय हुनु जरुरी छ।

प्रकाशित: २० आश्विन २०७६ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App