८ वैशाख २०८१ शनिबार
राजनीति

दबाबपछि बल्ल वार्ता समिति

काठमाडौं- चिकित्सा शिक्षामा सुधार माग राखेर दुई सातादेखि आमरण अनशनरत् डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई सदस्यीय समिति गठन गरेको छ। अनशनको १४ दिनसम्म केसीका मागप्रति कुनै चासो नदिएको सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि शनिबार दिउँसो वार्ताटोली गठन गरेको हो। केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको हो। वार्ताटोलीमा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा शिक्षामन्त्री धनीराम पौडेलले वार्ताटोली गठन गरेका हुन्।

वार्ताटोलीमा रहेका सचिवद्वयले शनिबार दिउँसो डा. केसीलाई भेटेका छन्। भेटमा उनीहरूले केसीका मागबारे औपचारिक जानकारी मात्र लिए। 'उहाँले उठाएका मागबारे औपचारिक जानकारी लिएका छौं,' वार्ताटोली सदस्य डा. उप्रेतीले भने, 'स्वास्थ्यका कारण उहाँ आफैं वार्तामा बस्न नसक्ने भएका कारण प्रतिनिधिहरूसँग भोलि (आइतबार) बिहानबाट औपचारिक वार्ता सुरु हुनेछ।' उनले सरकार माग पूरा गर्न सकारात्मक रहेको जनाए।

वार्ताटोलीले आइतबार औपचारिक वार्ता गर्ने भने पनि डा. केसीले सरकारले आफ्ना समर्थकलाई प्रहरी लगाएर कुटपिट गरी हिरासतमा लिएको भन्दै माफी नमागेसम्म वार्ता नगर्ने बताएका छन्।

'सरकारले शान्तिपूर्ण प्रदर्शनमा सहभागीलाई गुन्डा शैलीमा ज्यादती गरेको छ,' केसीले भने, 'एकातिर छलफल गर्न टोली पठाउने अर्काेतिर शान्तिपूर्ण प्रदर्शनकारीलाई समातेर कुटपिट र धरपकड गर्ने काम भयो। बिनाकारण पक्राउ आफ्ना समर्थकलाई रिहा र सरकारले माफी नमागेसम्म वार्तामा बस्नु अर्थ छैन।'

प्रहरी प्रशासनले केसीसमर्थित ३१ जनालाई शनिबार कलंकीबाट नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखेको छ। केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गर्दै उनको निवास घेर्न जाने क्रममा प्रहरीले चार चिकित्सकसहित ३१ जनालाई बाटोबाटै पक्राउ गरेको हो। पक्राउमध्ये ३ जना रिहा भए पनि २८ जना प्रहरी नियन्त्रणमा छन्।

उपकुलपति खनियाँले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठता मिचेर डा. केपी सिंहलाई डिन नियुक्त गरेको विरोधमा केसी सर्मथकले खनियाँको पनि राजीनामा माग गरेका छन्।

पक्राउ पर्नेमा विवेकशील नेपाल पार्टीका कार्यकर्तासमेत छन्। विवेकशीलका केन्द्रीय कार्यपालिका प्रमुख पुकार बमले प्रहरीले आफूहरूलाई कुटपिट गरेको बताए। प्रहरी नियन्त्रणमा रहेका केसी समर्थकले प्रहरी कार्यालयमै अनशन सुरु गरेका छन्। केसीका मागमा समर्थन जनाउँदै शान्तिपूर्ण रुपमा प्रधानमन्त्रीनिवास बालुवाटार, कांग्रेस सभापति शेरबहादुर देउवानिवास, एमाले अध्यक्ष केपी ओलीनिवास अगाडि धर्ना दिएका उनीहरूले उपकुलपति खनियाँको घरमा पनि धर्ना दिने कार्यक्रम बनाएका थिए। खनियाँको घरमा धर्ना दिन जाँदा आफूहरूलाई बाटोबाटै नियन्त्रणमा लिनुको लिखित कारण माग गर्दै उनीहरूले अनशन थालेका हुन्। 'उपकुलपति खनियाँको घरअघि नपुग्दै कलंकी सडकबाटै हामीलाई भ्यानमा कोचेर प्रहरीचौकी ल्याउनुको ठूलो रहस्य छ,' बमले भने, 'प्रधानमन्त्री, पार्टीका नेताको घरअघि शान्तिपूर्ण धर्ना दिँदा केही नभएको तर उपकुलपति खनियाँको घरमा जाँदाजाँदै बाटोबाट पक्राउ गर्नु खनियाँ र प्रहरी प्रशासनबीचको साँठगाँठ हो। पक्राउ पर्नुको कारण नखुलाएसम्म सबै सामूहिक अनशनमा बसेका हौं।'

खनियाँको निवासमा जानुअघि केसी समर्थकले शिक्षामन्त्री पौडेल बस्दै आएको मन्त्रीआवास पुलचोकअघि धर्ना दिएका थिए।

यस्तै डा. केसी समर्थक चिकित्सासम्बद्ध विभिन्न नौ वटा संगठनले सरकारलाई दबाब दिन शनिबार बिहान माइतीघरदेखि नयाँबानेश्वरसम्म जुलुस निकाले। सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा निकालिएको जुलुसका सहभागीले प्रधानमन्त्री, शिक्षामन्त्री र त्रिवि उपकुलपतिलाई प्रतिकात्मक रुपमा सिटामोल दान गरे।

यसैबीच, चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले सरकारले डा. केसीका माग पूरा नगरे आन्दोलनमा उत्रने र त्यसबाट उत्पन्न हुने असहज परिस्थितिको भागीदार सरकार हुने निर्णय गरेको छ।

प्रकाशित: १२ मंसिर २०७३ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App