दशैँ पार्श्वसंगीत

आइतबार, १९ असोज २०७६, ११ : ११ प्रकाश सायमी

‘या देवी सर्वभूतेषू शक्तिरुपेण संस्थिता,
नमस्तस्यै नमस्तस्यै नमो नमः।’
(सबै चरअचर सृष्टिमा तपाईं रहनुभएको, शक्तिका रूपमा रहेको देवीमा नमस्कार नमस्कार।)
करिब ४० वर्षअघि रेकर्ड गरिएको यो दुर्गा वन्दना रेडियो नेपालबाट प्रायः दशैँको आगमनपूर्व गुञ्जिने  अर्द्धशास्त्रीय शैलीमा रचिएको छ। सुप्रसिद्ध गायिका नुपुर भट्टाचार्यको स्वरमा रेकर्ड गरिएको योे दुर्गा बन्दनाको रचनाको इतिहास धेरै पुरानो छ, तर यसको रेकर्डिङको इतिहासचैँ लगभग आधा सदीको हाराहारी पुगिसकेको छ।

दुर्गा शक्ति, श्रद्धा अनि सम्मानसँग जोडिएको यो नन्दन गानलाई हिन्दूहरूको महान् पर्व दशैँसँग जोडिएको छ। विजयगानका रूपमा गाइएको यो गीतमा दुर्गालाई अभिनन्दन र अभिवन्दना गरिएको छ। संगीतमा शास्त्रीयताका सबै पक्ष हाबी भए पनि यसको मूल–रचनामा उत्सवधर्मिता देखिन्छ र खुसियालीको झलक स्वभावतः आउँछ। गहिरिएर सुन्दा यो वन्दना गानमा ऋतु शृंगार पनि देखिन्छ। तर, मूलतः नेपाल र नेपालीलाई यस गीतले दशैँसँग जोड्छ।

लोकगीतको गायनमार्फत नेपाली सुगम संगीतमा प्रवेश गरेकी कुशल गायिका नूपुर भट्टाचार्यको गायनले यसमा सुनमा सुगन्ध थपेको छ भन्दा फरक नपर्ला। तर यस गीतको सांगीतिक संरचनामा जुन मायालुपन र स्नेहशक्ति भाव छ, त्यसले शरद ऋतुको बिहानसँग भावकमनलाई जोड्छ। फरक मत नरहला, यो शरद ऋतुको मौसमलाई हेरेर अनि यसको सर्वत्र देखिने हरियाली, स्वच्छ, स्निग्ध, शान्त अनि सौम्यपनालाई हेरेर बनाइएको एक असाध्य सरस धुन–रचना हो।

शरद ऋतुमा आधारित कैयन् धुनमध्ये मालश्री धुन सबभन्दा पुरानो वा अकथ्य मानिन्छ। यसमा आधारित कैयन् नेवारी रचना अझै पनि व्याप्त रूपमा सुन्न पाइन्छ। गोसाइँकुण्ड यात्रा गर्दा गाइने ‘सिलु म्ये’ पनि मालश्री धुनमै आधारित भएको संगीत प्रवद्र्धकको दाबी छ। मालश्री पूर्णरूपमा दशैँसँग जोडिएको एउटा राग हो, यसमा विशेष गरी काठमाडौं उपत्यकाका नेवार जातिले बजाउने ‘खिँ बाजा’, ‘धिमे बाजा’, छ्याली र बाँसुरीको संयोजन गरिएको हुन्छ। बनारस हिन्दू विश्वविद्यालयका प्रोफेसर दीवाकार प्रधानका अनुसार, नेवार जातिले माताको वन्दनामा तयार पारेको ‘माताश्री धुन’ गोर्खा जातिको हातमा पुगेपछि कालान्तरमा अपभ्रंश भएर मालश्री धुन हुन गएको हो।

शरद ऋतुमा आधारित कैयन् धुनमध्ये मालश्री धुन सबभन्दा पुरानो वा अकथ्य मानिन्छ। नेवार जातिले माताको वन्दनामा तयार पारेको ‘माताश्री धुन’ गोर्खा जातिको हात पुगेपछि कालान्तरमा अपभ्रंश भएर मालश्री धुन हुन गएको हो।

मालश्री धुनमा प्रसिद्ध गायक संगीतकार भृगुराम श्रेष्ठले गाउनुभएको ‘माया रे रत्न छन्त तक हाकनँ’ निकै प्रसिद्ध छ। यस गीतको रचनागर्भका बारे पनि संगीतकार भृगुराम श्रेष्ठले यो बेलाको भनेर भन्न सकिने यो गीतको कुनै यथेष्ट प्रमाण छैन।

मालश्री धुनसँगै काठमाडौं उपत्यकामा दशैँ आगमनपूर्व ‘गुँला भजन’ गाइने चलन छ, यो गुँला भजन दशैँ सुरु हुनु एक महिनाअघि इन्द्रजात्रा पर्व जसलाई नेवार जातिले ‘येँन्या पुन्ही’ भन्छन्, त्यसवेलाबाट गाउन सुरु गरिन्छ।

इन्द्रजात्रा पर्व सुरु भएको बिहानदेखि हरेक बिहान आ–आफ्नो टोल परिसरबाट ‘गुँला भजन’ गाउँदै युवा, महिला, वृद्ध सबै बाजागाजा सहित वसन्तपुर, मरुहिती, कंकेश्वरी, दल्लु, धिमे ल्होँको बाटो हुँदै काठमाडौंवासी स्वयम्भूको उकालो चढ्छन्, तर बाटोभरि यो गीत वाद्य संगीतसँगै गाउँदै यात्रा गर्छन् र स्वयम्भूको ठाडो उकालोमा पनि गाउँदै चढ्छन्।

हरेक बिहान गाउँदै यात्रा गरिने यो पथ गायनलाई नेवारीभाषामा ‘गुँ ला म्ये’ भन्छन्, गुँ लाको अर्थ वनको वन्दना भन्ने बुझिन्छ, इन्द्रजात्रा अर्थात् येँन्याँको सन्दर्भ काठमाडौं सहरसित जोडिएको छ।

काठमाडौंलाई नेवारभाषीले ‘येँ दे’ भन्छन्, येँ देको अर्थ इन्द्रको राज्य भन्ने हो भन्ने स्पष्ट छ। र, यो गँुला भजन इन्द्रको बयान, वनको वन्दना अनि समस्त पृथ्वीवासी सुखकामना गाइएको एक वाद्यधुन हो। यसमा ऋतु पर्व, सानसौकत अनि जातजातिको गुण गाइएको छ। यो लोकप्रिय धुनलाई आजकाल कतिपयले लोकधुन पनि भन्न थालेका छन्। तर यो शुद्धरूपमा नेवार जातिले रचेको एउटा शास्त्रीय धुन हो भन्ने प्रा. नर्मदेश्वर प्रधानको दाबी छ। र, यो मूलतः काव्य गायन हो भन्न सकिन्छ।

नेपालभाषाको काव्य इतिहास ५०० वर्ष पुरानो छ। हालसम्म खोजी अनुसार वि.सं. १६१७ मा जन्मेका महेन्द्र मल्ल नै नेपाल भाषाका प्रथम कवि मानिन्छन्। नेपालभाषाका प्रथम कवि महेन्द्र मल्लदेखि धेरैपछि सम्मका राजामहाराजाले नेवारीभाषामा गीति–कविता रचना गरे, यसैको प्रमाण स्वरूप यी र यस्ता गीत बनेका हुन्।
नेवार जाति व्यापारका निम्ति लामो–लामो यात्रा गर्ने हुनाले गीतसँगै आफ्नो यात्रा सुरु गर्थे।

विदेशीलाई प्रवेश निषेध गरिएको देश ल्हासामा समेत गएर व्यापार गर्नेमा नेवार पहिलो जाति हो। उदाहरणका लागि ल्हासाको व्यापार गर्न जाने नेवार जातिले नै विप्रलम्ब शृंगारमा ‘जि वया लाछि मदुनि’ रचना गरेका थिए, जसमाथि पछि महाकवि देवकोटाले मुनामदन रचना गरे।

महेन्द्र मल्लदेखि सुरु भएको गीति रचनाको इतिहास वि.सं. १९०३ मा कोतपर्व भएपछि सम्भवतः (?) रोकियो। तर गुँ ला भजनको गायन यथावत जारी छ।

बाल्यकालदेखि ‘गुँला’ भजन सुन्दै हुर्केका काठमाडौंका रैथाने नेवार केटो नारायणगोपालले आफूले संगीत गरेका दुई गीत ‘गुँला’ भजनको लोकलयमै आधारित थिए, रत्नशमशेर थापाको शब्दमा रहेको ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’ बोलको गीतले सर्वाधिक सफलता पायो भने दिलमाया खातीसित गाएको अर्को दशैँसँग सम्बन्धित गीत विशेष नै हुन पुग्यो।

यो दोस्रो गीतका बारे गायिका दिलमाया खातीले यस पंक्तिकारसित ‘नेपाली संगीतको स्वर्णिम युग’ पुस्तकमा भनेकी छिन्, ‘त्यतिबेला दार्जिलिङस्थित हिमालय कला मन्दिरमा गोपाल योञ्जन, कर्म योञ्जन र म गीतहरू गाएर बस्थ्यौँ। एक दिन नेपालबाट एकजना गायक आउनुभयो, नारायणगोपाल। उनले मसित एउटा युगल गीत गाउने प्रस्ताव राखे। नचिनेको मान्छे देखेँ, डर लाग्यो, मैले मानिनँ। पछि गोपालले ‘ऊ राम्रो गायक–संगीतकार हो, गाउनुपर्छ’ भनेपछि त्यो गीत गाइयो। गीत गाउनुअघि नेपालबाट दार्जिलिङसम्म मलाई लिन आएका गायक नारायणगोपालले मलाई अब हामी दोस्त भयौँ भने। दोस्तसँग गाएको त्यो गीतपछि दशैँ गीत भयो।’

रत्नशमशेर थापाको शब्दमा नारायणगोपालसँग दिलमाया खातीले गाएको त्यो युगल गीत दशैँको चर्चा गरिएको चर्चित गीत हो–
बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा।
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा।।

यो गीतले धेरैलाई दशैँको झलझली याद दिलाउँछ। दशैँ आउनुअघि र दशैँ गएपछि सर्वाधिक रूपमा बज्ने यो गीतमा ‘पहाडी भाखा भन्ने शब्द छ, तर यसको संगीत नेवारी लोकधुनसित नैकट्य छ। नारायणगोपालले खेम्टा तालमा गाएको यस गीतमा शब्दकार रत्नशमशेर थापाले पहाड–पर्वतको विस्तृति दिएका छन्–

डाँडा छन् साक्षी, के दिन राति निद छैन आँखामा।
मनको कुरा बुझ्दैन कोही पहाडी भाखामा।।

यो दशैँ गीतसँग प्रेमको भाव जोडिँदा वैवाहिक मौसमको प्रसंग पनि प्रासंगिक व्याख्या गरेका छन् गीतकारले, जुन स्वभावतः मंसिर महिनासम्म को रम्यता झल्किन्छ–
तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर,
मीठा–मीठा कुरा जति मनमा साँचेर,
डाँफे चरीभैmँ म वेग मारी झुल्कुँला सामुमा।
 
यो गीतमा संगीतकार नारायणगोपालले नेवारी लोकधुनमा पाइने इफेक्ट र इथोज् (प्रभाव र संवेद्य) दुवै एकसाथ प्रस्तुत गरेका छन्, एक कुशल गायक नारायणगोपाल मेलोडी सिर्जनामा पनि नातिकाजीपछि अब्बल मानिन्छन् र शब्दका ज्ञाता थिए।

दशैँमा भेट्ने सामान्य भलाकुसारीलाई उनले भव्यताका साथ दशैँको फ्लेवर दिएका छन्, जुन गीतले अघिल्लो गीतको इतिहासलाई पनि बिर्साइदिएको छ, त्यो चाहे मित्रसेनको ‘धानको बाला झुल्यो हजुर’ होस वा रत्नदास प्रकाशको ‘सँय् छम्ह दु, सःमीनिम्ह दु’। तिनको भाव–भंगिमालाई यस गीतले विशेष रूपमा उधुनेको छ भन्न मिल्छ। आजसम्म दशैँ आउँदा यो गीत उत्कृष्ट एकमा पर्छ।

यसपछि पनि नारायणगोपालले दशैँ उल्लेख भएको एक गीत गाएका छन्, गोपाल योञ्जनको संगीत र भूपी शेरचनको शब्दमा, तर यो गीत दशैँ गीत बन्न सकेन, जसमा गीतकारले लेखेका छन्–

छोरीलाई आशिष हाल्न पाइनँ अन्तिम कालैमा,
भन्थे नि बाबाले आँसु झारी टीकाको थालीमा,
त्यही आँसु टीका पठाइदिउँ कि प्रवासको पातमा,
अल्झेछ क्या रे पछ्यौरी तिम्रो चियाको बोटमा।

यस गीतमा नारायणगोपाल र गोपाल योञ्जनले दशैँ–तिहार र तीजको चर्चा गरे पनि गीतमा मान्यताका हिसाबले ‘प्रोसेजिङ’ चैँ एउटी महिलाको वेदनाको निम्ति भएको छ। गीतका आमा, भाइ, बुबाको वेदनाको प्रसंग आए पनि पीडा चैँ माइतीवालाको मात्र देखाइएको छ।
यसपछि दशैँ गीतको प्रसंग आउँदा माधवप्रसाद खनाल भावुकको रचना र तारादेवीको स्वरको एउटा गीत अगाडि आउँछ, जुन गीत नारायणगोपाले गाएको ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’को फिमेल भर्सन जस्तो सुनिन्छ। डा. राममान तृषित र किरण खरेलभन्दा अगाडिदेखि गीत लेख्न थालेका भावुकले यस गीतमा उत्सवमा देखिने हर्ष, खुसियालीलाई एक चेलीको वेदनाको रूपमा राखेका छन्–

तीजमा पनि सम्झेनन् मेरो कान्छो भाइले
दशैँमा नि बिर्से मलाई मेरो माइतीले
रुँदैछु म माला गाँसेर।

महिलाभित्र वेदना र वर्जना सबै किसिमका हुन्छन्, तर रोक्न नसकिने पीडा चैँ चाडपर्वमा विशेष रूपमा देखिन्छ भन्ने यो गीतमा झल्केको छ। दशैँसँग सम्बन्धित यस गीतमा एक चेलीले माइतीलाई सम्झेको, माइतीबाट अपेक्षा गरेको भाव समेटिएको छ।

शरण प्रधानद्वारा संगीतबद्ध ‘नेपाली गौरव गर्छ’ र सानु लामा रचित ‘बालापनको आँगन त्यागेर’ बोलको गीतमा दशैँको चर्चा छ।

यसबाहेक नेपाली चलचित्र ‘के घर के डेरा’मा पनि संगीतकारद्वय शुभबहादुर र शम्भुजितले पिङ खेलेको घटनासँग सादृश्यीकरण गरेर ‘चचहुइय्या’ बोलको गीत बनाएका छन् र यो गीतलाई कुमार बस्नेत, ज्ञानु राणा र साथीहरूले गाएका छन्। यस गीतका शब्दमा दशैँ झल्किएको छ।

यसबाहेक योगेश्वर अमात्यले गाएको दशैँ गीत होस् वा सुगम पोखरेलले गाएको गीतले दशैँलाई ‘प्रोजेक्ट’ गरेको छ।
गायक योगेश्वर अमात्यले दशैँलाई दुःखका साथ व्यक्त गरे–
चचहुइड्ढया
दशैँ नै हो कि यो मेरो दशा फर्की आएको,
वर्ष नै पिच्छे यो मेरो टाउको खाएको दशैँ आएको,
र, उनले एक्लोपनको पीडासँग साझीकरण गरेका छन्।
सुगम पोखरेलले टीका लगाउँदाको निधारको गुण गाएका छन्–
दशैँ आयो खाउँला–पिउँला,
नयाँ नाना लगाई हामी पिङ खेलौँला...।

यसबाहेक सुदीप न्यौपानेको ‘दशैँ आयो’ बोलको गीत, अम्बिका गुरुङको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत र कृष्ण काफ्लेको स्वरमा ‘दशैँ आयो चारैतिर खुसी छायो’ बोलको गीत लोकप्रिय छ।
टंक बुढाथोकी, सरु गौतम, उदेश श्रेष्ठका दशैँ गीत पनि चर्चामा छन्।

पर्वका हिसाबले शरद ऋतुमा पर्ने यो चाडको भन्दा यसअघि आउने तीजको गीतमा नेपाली गीत–संगीतमा करोडौँ खर्च हुन्छ, सयौँ गीत बन्छन् र चर्चामा आउँछन्, तर ऋतु अनुसार विशेषताका हिसाब मनाइने दशैँको गीत कमै बनेका छन्, तिहारका गीत पनि कम छन्। दशैँको याम अर्थात् शरद ऋतुको व्याख्यानमा अगमसिंह गिरीको शब्दमा अम्बर गुरुङले गाएको पहिलो गीत ‘नौलाख तारा उदायो’ मा–
शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ
नौलाख तारा उदाए धरतीको आकाश हाँसेछ...।

संगीतकार अम्बर गुरुङले आफ्नो सांगीतिक यात्राको २५औँ वर्ष कटिसकेपछि अल्बम दोभानका लागि पूर्ण रूपमा दशैँ झल्किने ‘बारी कान्ला भरिभरि फुल्यो होला सयपत्री’ बोलको गीत बनाए। दीप श्रेष्ठको स्वर र रत्नशमशेर थापाको शब्द रहेको यस गीतमा रोटेपिङ, माइती आउँदै गरेकी चेली, लाहुरबाट फर्र्केको परदेशीको खुसियालीलाई समेटिएको छ। मच्ची–मच्ची पिङ खेलेको दृश्यलाई सगर्व साँचेका छन्।

त्यस्तै, रत्नशमशेरकै शब्द, शक्तिवल्लभको संगीत र सोनू निगमको स्वर रहेको यो गीतमा पनि दशैँको रंग झल्किन्छ–
उकाली ओराली गर्दै
खोला नाला सागर तर्दै
आफ्नै गाउँ फर्की आएँ
नयाँ–नयाँ सपना ल्याएँ...।

सिमाना फिल्मका निम्ति राजेश हमालमाथि पिक्चराइज गरिएको यस गीतमा गीतकार थापाले पछिल्लो अन्तरामा दशैँलाई भन्दा त्यसको खुसियालीलाई आलोकित गरेका छन्–
सयपत्री सुनाखरी लालुपाते जाईजुही
फुलेका पाखाभरि छर्दै वरिपरि खुसी
हेरी यो मन बहलाउन
हृदय खोली गाउन
आफ्नै गाउँ फर्की आएँ...।

यस्तै, दशैँबारे चर्चा गरेर नेपाली चलचित्र मुग्लानमा पनि गीत समेटिएको छ। सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाको शब्द, उदीतनारायण झा, दीपा गहतराज र जुना प्रसाईंको स्वरमा रहेको ‘आहा ! दशैँ आयो’ बोलको गीतमा दशैँकै महिमा गाउँछ।

यसबाहेक दशैँलाई मूल रुपमा वा धेरथोर छोएर थुप्रै गीत बनेका छन्। नेपाली गीत–संगीतमा दशैँले दिएको स्पर्शमा झलकमान गन्धर्वले गाएको गीत ‘आमैले सोध्लिन् नि ख्वै छोरा भन्लिन्’मा पनि ‘दशैँमा टीका खस्यो’ भन्ने प्रसंग पीडादायक छ।
एउटा सैनिकको व्यथामा बनेको यो गीत पछि नेपालको प्रहरी ब्यान्डले पनि दशैँ गीत बनायो।
दशैँ फ्लेवर रहेका नेपाली गीतमा पीडा, हर्ष, यात्रा, विदेश गमन, स्वदेश आगमनका कारण सदैव गायन प्रिय नै बनेको छ।

गीतकार श्रीपुरुष ढकालको शब्द दीपक तुलाधरको संगीतमा कर्ण दासको स्वरमा ‘लाहुरेलाई चाडबाड नआएकै जाति’ बोलको गीत दशैँसँग जोडिएर आउने परदेशीको पीडा व्यक्त छ। दशैँ विशेषतः परदेशमा रहेका, अन्तिम अवस्थामा छुट्टी नमिलेका वा यात्रामा बाधा पुगेका धेरैका निम्ति विरह गायन पनि हो भन्ने यस गीतबाट बुझिन्छ।

अन्त्यमा नारायणगोपालकै गीतको प्रसंगमा नेवारी लोकधुन र गायनको कुरा आउँदा नेवारी गीतमा पनि दशैँको चर्चा गर्दा ‘मोहनी या नखः’ भन्ने चलन छ। प्रायः गीत मोहनीकै लयमा तयार पारिन्छ। यस हिसाबले दशैँका गीत उत्सवधर्मी मात्र नभएर गायनका हिसाबले ऋतुप्रधान पनि हुन् भन्ने बुझिन्छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad