८ वैशाख २०८१ शनिबार
समाज

एमबिबिएस शुल्क साढे ३८ लाख

काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले एमबिबिएस र बिडिएस अध्ययन शुल्क तोकेको छ। आइओएमले मेडिकलतर्फ नयाँ भर्ना हुने विद्यार्थीबाट उपत्यकाका कलेजले ३५ लाख र उपत्यका बाहिरका कलेजले ३८ लाख ५० हजार रुपैयाँसम्म शुल्क लिनसक्ने सीमा तोकेको हो। आइओएमले गत वर्षकै शुल्कसीमा यस वर्ष पनि कायम गर्ने निर्णय शुक्रबार गरेको हो।

आइओएमले यस वर्ष शुल्क तोक्न विलम्ब गर्दा कलेजहरूले विद्यार्थीसँग अघिल्लो वर्षको शुल्क सीमाभन्दा दोब्बर बढी ७० लाख रुपैयाँसम्म असुलेको भन्दै डा. गोविन्द केसीले विरोध गर्दै आएका छन्। दुई सातादेखि आमरण अनशनरत् डा. केसीको १० बुँदे मागमा एमबिबिएसमा अघिल्लो वर्ष लिएकै शुल्क लागू हुनुपर्ने पनि छ।

आइओएमले माताहतका सबै आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरूलाई अघिल्लो वर्षकै शुल्क लागू गर्न निर्देशन दिएको छ।

यसैगरी बिडिएसतर्फ पनि अघिल्लै वर्षको शुल्क कायम गरिएको छ। बिडिएसतर्फ १७ लाख ५६ हजार नौ सय २० रुपैयाँ शुल्क तोकिएको छ।

आइओएमले एमबिबिएस र बिडिएसमा विदेशी विद्यार्थीको हकमा भने शुल्क तोकेको छैन्। एमबिबिएस र बिडिएसमा झन्डै चालीस प्रतिशत विद्यार्थी विदेशी हुन्छन्।

आइओएमले विद्यार्थीसँग तीन किस्तामा शुल्क लिनसमेत भनेको छ। पहिलो किस्तामा ५० प्रतिशत, दोस्रो र तेस्रो किस्तामा २५/२५ प्रतिशतका दरले शुल्क लिन परिपत्र गरिएको छ। यस्तै विद्यार्थी तथा अभिभावकलाई पनि तोकिएको भन्दा बढी शुल्क नबुझाउन आइओएमले आह्वान गरेको छ।

स्रोतका अनुसार कतिपय कलेजहरूले भने मेरिट लिस्टमा पछाडि परेका विद्यार्थीबाट ७० लाख रुपैयाँसम्म लिएका छन्।

प्रकाशित: १२ मंसिर २०७३ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App