६ वैशाख २०८१ बिहीबार
समाज

दसैंमा यसरी बनाउनुस् मासुका परिकार

स्वादिलो खाना खान मन मात्र भएर पनि हुँदैन। खानालाई स्वादिलो बनाएर पकाउने कला पनि आवश्यक हुन्छ। अझ चाडपर्वको समयमा घरमा विभिन्न खानेकुरा पाक्ने गर्छन्। मासु त भान्सामा छुट्दै छुट्दैन। दसैंको मुख्य परिकारनै मासु हो भन्दा फरक पर्दैन।

अन्य दिनमा जति नै मासु खाए पनि दसैंको समयमा मासु खानुको मज्जा नै बेग्लै हुन्छ। यसले दसैंको रमाइलो वातावरणमा झनै उत्साह थपिदिन्छ। अन्य समय भन्दा दशैंको बेला मासुको परिकार धेरै बनाउन सकिन्छ। जस्तै पकवा, मासुको रस, ग्रेभी मासु, भुटन, चिकेन पोलेको, छोयला, साधेको कुखुराको मासु।
हामीले केही परिकार बनाउने तरिकाबारे यहाँ चर्चा गर्दैछौं।

१ पकवा कवाव
हड्डी नभएको खसीको मासुमा थोरै जिरा र धनियाको धुलो, प्याज, लसुन, अदुवा, खुसार्नी, बेसारको धुलो, थोरै खाने तेल तथा शुद्ध घ्यू, स्वाद अनुसारको नुन र दही, तेजपत्ता मिसाएर मोल्ने। त्यसपछि कुकरमा सानो आगोमा पकाउने। यसरी पकाउँदा मिसाएका मसलाहरु मासु सँगै पाकिरहन्छ र यसमा घ्यू राखेका कारण यसलाई २र४ दिनसम्म पनि राखेर खान सकिन्छ।

२ मासुको रस
हड्डी भएको मासुलाई छुट्टाउने। थोरै तेलमा प्याजलाई भुट्ने, त्यसपछि मासु, बेसार हालेर सानो आगोमा पकाउने। अलि पाके जस्तो भएपछि जिरा, धनिया, ल्वाङ सुक्मेल र खुर्सानीको धुलो राखेर चलाउने, स्वाद अनुसारको गोलभेडा सानो काटेर राख्ने र चाहिने जती पानी हालेर सिठ्ठी लगाउने। ४ देखि ५ सिट्टी लगाउने। र मासु पाकिसकेपछि लसुन, अदुवाको पेष्टलाई मासुमा हाल्ने। हरियो धनियालाई काटेर मासुमा मिसाउने र ५ मिनेटसम्म छोपिदिने। अब मासुको मिठो रस खान सकिन्छ।

३ ग्रेभी मासु
हड्डी र मासु भएको मासु छान्ने। थोरै तेलमा प्याज, बेसार भुट्ने, मासु हाल्ने र पकाउने। गोलभेडा र दहि राखेर चलाउने स्वाद अनुसारको नुन र खुर्सानीको धुलो, अदुवा, लसुनको पेष्ट हाल्ने र चाहिए जती पानी राखेर बढिमा २ सिठ्ठी लगाउने। यसरी मासुको मिठो ग्रेभी पकाएर खान सकिन्छ।

४ भुटनररक्ती
शुरुमा खसीको आन्द्रा भुडीलाई तातो पानीमा उमाल्ने त्यसमा थोरै टिमुर, अदुवाको २,३ टुक्रा काटेर राख्ने। आन्द्रा भुडीको फोहोर र गन्ध गएपछि सफा पानीले पखाल्ने। त्यसपछि आन्द्रा भुडीलाई सानो सानो पिस बनाएर काट्ने। अनि थोरै खाने तेल राखेर राम्रोसँग भुट्ने। भुटिसकेपछि त्यसमा टिमुर, नुन, खुर्सानीको धुलो राखेर सानो आगोमा पकाउने। अनि यो तयार हुन्छ। भुटनको मसला भनेको नै टिमुर हो । टिमुर हालेपछि अरु मरमसला स्वाद अनुसार हाल्न सकिन्छ।
त्यस्तै, रक्ती पकाउँदा शुरुमा तेल तताउने र ज्वानो, बेसार र रक्ती हालेर भुट्ने। स्वाद अनुसारको नुन राख्ने। रक्तीको मसला ज्वानो हो। ज्वानो हाले पछि अन्य मरमसला हालिरहन पर्दैन।

५ चिकेन पोलेको
कुखुराको हाड नभएको मासुमा अदुवा, लसुनको पेस्ट, खुर्सानीको धुलो, हरियो खुर्सानी पिसेको, नेपाली मसला, बेसार, तोरीको तेल, नुन स्वाद अनुसार राखेर मोल्ने। भाँडोमा तेल तताएर मेथी अनि मोलेको चिकेनमा झानिदिने। झानिसकेपछि  ५ देखि ७ डिग्री तापक्रम भएको फ्रिजमा आधा घण्टा राख्ने। फ्रिज छैन भने यत्तिकै राख्न पनि सकिन्छ। यसपछि झिर वा तारमा, जालीमा, हट प्लेटमा, ननस्टिक प्यानमा पोल्न सकिन्छ। यसरी पोलेको कुखुरा गोलभेँडाको अचारसँग खाँदा निकै स्वादिलो हुन्छ।

६ छोयला
दसैंमा पकाइने मासुको परिकार अन्तर्गत छोयला पनि एक हो। चिकेन, हाँस, बफ, मटन लगायतका सबैजसो मासुको छोयला बनाउन सकिन्छ। जुनसुकै मासु भए पनि छोयला बनाउने विधि भने एउटै रहेको हुन्छ।

मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने। नुन, बेसार राखेर राम्रोसँग मोल्ने। यसरी मोलेको मासुलाई आधा घन्टासम्म त्यसै छोपेर राख्ने। अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने। पोलेर तयार भएको मासुमा मरमसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धनिया, मरिच, टिमुर हालेर मज्जाले मोल्ने। तेल तताएर तयारी मासुलाई झान्ने। अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने। आफ्नो स्वाद अनुसार कागतीको रस पनि मिसाउन सकिन्छ। घरमा फ्रिज छ भने करिब आधा घन्टा चिसोमा राख्ने। यसले गर्दा मासुमा मसला पूरै भिज्न पाउँछ छोयलाको मीठो स्वाद बन्छ।

७ साधेको कुखुराको मासु
कुखुराको मासुका पिस पानीमा उमाल्ने। करिब १० मिनेटजति उमालेपछि मासु पाक्छ। पाकेको मासु निकालेर एउटा भाँडोमा राख्ने। उमालेको पानी निकाल्नुपर्छ। मासुमा बेसार, नुन, काटेको लसुन, अदुवा र हरियो धनियाँ राख्ने र मज्जासँग मोल्ने। केही बेर यत्तिकै राख्ने। अर्को कुनै भाँडो चुलोमा बसालेर तोरीको तेल तताउने। तेल तातेपछि हरियो खुर्सानी, मेथी पड्काउने। तेलमा खुर्सानी र मेथी फुरेपछि मासु राखिएको भाँडोमा खन्याउने। फेरि मासुमा सबै मसला नभिजुन्जेल राम्रो गरी मोल्ने। केही बेर मोलेपछि मासु खानका लागि तयार हुन्छ।

८खसीको खुट्टाको सुप
खसीको खुट्टको सुप बनाउदा शुरुमा तेलमा प्याज भुट्ने। त्यसपछि खसीको खुट्टामा हरियो मुङको दाल, अदुवा, लसुन र मसला राख्ने र मज्जाले भुट्ने। भुटीसकेपछि पानी राखेर खुट्टाको हड्डी नगलुन्जेलसम्म सिठ्ठी लगाइ रहने। हड्डी नरम भएपछि सुप खान सकिन्छ।

मासुका यी परिकारहरु तयार पार्ने विधि शारदा ज्ञवालीको सहयोगमा तयार पारिएको हो। उनी डेभलेप्मेनट कन्सल्टेन्ट हुन् तर उनको रुची विभिन्न परिकार बनाउनु पनि हो। ज्ञवाली ट्रेडिसनल फुडको प्रमोटर पनि हुन्। उनले हालै ‘नेपाली होम कुकिङ अफ हेल्दी लिभिङ’ नामक किताब पनि लेखेकी छन्। जसमा विभिन्न नेपाली खानाका परिकारहरु  बारे उल्लेख गरिएको छ।

प्रकाशित: १९ आश्विन २०७६ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App