७ वैशाख २०८१ शुक्रबार
समाज

म्याग्दीको भकिम्लीमा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

बेनी- म्याग्दीको भकिम्ली–७ हल्लेगौंडमा शनिबार दिउँसो ग २ च २००६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सदरमुकाम बेनीदेखि भकिम्लीतर्फ गैरहेको बोलेरो पानीस्वाँरास्थित हल्लेगौंडाको घुम्तीबाट झण्डै ६० मिटर तल सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

दुर्घटनामा परी भकिम्ली–८ का अन्दाजी ६० वर्षीय गंगामणि छन्त्यालको घटनास्थलमै मृत्यु भएको छ भने लेखानी–६ बागलुङकी ६ वर्षीया युरीना रोकाको मृत्यु भएको प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरूले बताए। ‘घाईतेको उपचार भइरहेको छ । अधिकांशको टाउको, अनुहार र शरिरको विभिन्न भागमा चोट लागेको छ’ उनले भने। दुर्घटनामा परेर लेखानी–६ बागलुङकी २३ वर्षीया राजकुमारी रोका, उनकी ५ महिनाकी छोरी दिया रोका, वर्ष २८ की मिना रोका, उनको १४ महिनाको छोरा युसन रोका घाइते भएका छन्। 

त्यस्तै भकिम्ली–३ का ४३ वर्षीया पूर्णकली पुन, ६ नम्बर वडाका ३० वर्षीया कोपिला छन्त्याल र ७ का ५० वर्षीया जुनकिरी पुन घाईते भएकी छन् । शनिबार स्थानीय समाजसेवी जित बहादुर पुनको मलामी गएर फर्किएका आफन्त र छिमेकी  दुर्घटनामा परेका हुन्। घाईते अवस्थामा रहेकी कोपिला र जुनकिरी शनिबार अन्त्यष्टी गरिएका  जित बहादुर पुनका श्रीमति हुन्। बोलेरो जीपबाट यात्रु ओर्लने क्रममा  चालकले सावधानी अपनाउन नसक्दा दुर्घटना भएको स्थानीयबासीको भनाई छ । घाइतेहरु सबैको उद्धार गरी जिल्ला अस्पताल म्याग्दीमा ल्याई उपचार भैरहेको छ छ । दुर्घटनाको खबर पाएलगत्तै जिल्लाबाट प्रहरीको टोली र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए।

 

प्रकाशित: ११ मंसिर २०७३ १४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App