coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोष्टमार्टम गर्न अर्को प्रदेश

टीकापुर अस्पताल। तस्विर: योगेश रावल

टीकापुर - कर्मचारी समायोजनको चरम समस्या स्वास्थ्य संस्थामा देखिन थालेको छ। अधिकांश चिकित्सकले समायोजनका क्रममा संघ रोजेपछि प्रदेश र स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्थाहरु यतिबेला निकै ठूलो समस्यामा छन्।

स्वास्थ्य संस्थाहरुमा उपचारको अभाव हुनुका साथै पोष्टमार्टम समेत हुन सकेको छैन। टीकापुर अस्पतालमा चिकित्सकको अभावमा विगत एक महिनादेखी पोष्टमार्टम हुन नसकेको बताइएको छ।

प्रहरीले पोष्टमार्टमका लागि प्रदेश नं. ५ बर्दिया जिल्लाको राजापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउन थालेको छ। इलाका प्रहरी कार्यालय टीकापुर, भजनी र लम्कीले पोष्टमार्टमका लागि राजापुर पठाउने गरेको बताए। इलाका प्रहरी कार्यालय टीकापुरका इञ्चार्ज प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले एक महिनादेखि यस्तो समस्या आएको बताए। उनले ७ वटा घटना राजापुर र २ वटा घटना धनगढी पठाएको जानकारी दिए।

बिहिवारमात्रै प्रहरीले जानकी गाउँपालिका–९ खैरीफाँटाकी २० वर्षीया सीतादेवी भाटको शव पोष्टमार्टमका लागि राजापुर पठाएको छ। उनले गएराति झुण्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

उता इलाका प्रहरी कार्यालय भजनीले समेत पोष्टमार्टमका लागि राजापुर पठाउने गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा चिकित्सक नभएपछि प्रहरीले नजिकैको टीकापुर अस्पताल पठाउने गरेको थियो। टीकापुर अस्पतालमा समेत चिकित्सक नभएपछि राजापुर पठाउनु परेको इञ्चार्ज प्रहरी निरिक्षक जनक धामीले बताए।

उनले एक महिनाको अवधिमा २ जनालाई पोष्टमार्टमका लागि राजापुर पठाएको जानकारी दिए। ‘पहिले भजनी र टीकापुरमै पोष्टमार्टम हुन्थ्यो। अहिले राजापुर पठाउनु परेको छ’ उनले भने–‘सम्बन्धित पक्षलाई एकातिर आफन्त गुमाएको पीडा अर्कोतिर पोष्टमार्टमका लागि भौतारिनु पर्ने पीडा देखिन्छ।’

इलाका प्रहरी कार्यालय लम्कीले भने टीकापुर अस्पतालमा पोष्टमार्टम नभएपछि करिव एक सय किलोमिटर टाढा रहेको जिल्ला सदरमुकाम धनगढीस्थित सेती अञ्चल अस्पताल पठाउने गरेको छ। निमित्त इञ्चार्ज प्रहरी नायब निरिक्षक जनक सिँहले केही दिन यता २ वटा शव पोष्टमार्टमका लागि धनगढी पठाएको बताए। उनले टीकापुर अस्पतालमा पठाएको शव पोष्टमार्टम नगरी फर्काएपछि धनगढी पठाउन थालेको जानकारी दिए।

‘केही दिन अघि एउटा घटना टीकापुर अस्पताल पठाएका थियौं। पोष्टमार्टम नगरी फिर्ता पठायो’ उनले भने–‘त्यसपछि धनगढी पठाउन थालेका छौं।’ टीकापुर अस्पतालमा हाल ६ जना चिकित्सक कार्यरत छन। उनीहरु मध्ये ५ जना विशेषज्ञ र १ जना मेडिकल अफिसर छन। उनीहरु मध्ये सबैले पोष्टमार्टम गर्न नमानेका कारण सर्वसाधारणले यस्तो समस्या भोग्नु परेको हो। उनीहरुले पोष्टमार्टम गर्ने सम्बन्धी तालिम नलिएको भन्दै आलटाल गर्ने गरेको टीकापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए।

‘तालिम नलगेको भन्दै चिकित्सकले पोष्टमार्टम गर्न मानेका छैनन्’ उनले भने–‘केही दिन भित्रै समस्याको समाधान गर्न प्रयासरत रहेको बताए।’ यसअघि अस्पतालमा पोष्टमार्टम गर्दै आएका तत्कालिन मेसु डा. नरेन्द्र खनाल र डा. अमित प्रजापतीले संघ रोजेका छन भने डा. नवराज शर्माको करार अवधि समाप्त भएको छ।

आफन्त गुमाएकाहरु पोष्टमार्टमका लागि निकै सास्ती भोग्नु परेपछि आक्रोशित बनेका छन। उनीहरु कर्मचारी समायोजनका नाममा वर्तमान सरकारले जनतालाई दुःख दिएको गुनासो गर्छन।

प्रकाशित: १८ आश्विन २०७६ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App