७ वैशाख २०८१ शुक्रबार
समाज

रामदेवले भने: जनकपुरले लोभ्यायो

जनकपुर- योगगुरु रामदेवले जनकपुरले आफूलाई साँच्चिकै लोभ्याएको भन्दै यो भूमिलाई योगकेन्द्रको रुपमा विकास गर्न सरोकारवालाई आग्रह गरेका छन्।

शनिबार दिउँसो १२ बजेदेखि हजारौंको संख्यामा स्वामी रामदेवलाई स्वागत गर्न जनकपुरको तिरहुतिया गाछीमा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै उनले सीताको जन्मभूमि र जनकको कर्मभूमि रहेको जनकपुरले आफूलाई साँच्चिकै लोभ्याएको बताए।

‘जनकपुर साँच्चिकै महान् हो’ १२ बजे नै आउने सूचना सम्प्रेशन भएकोले बिहान करिब दशबजेदेखि नै भेला भएको भिडमा साँझ पाँच बजेमात्रै आइपुगेका उनले स्थानीयको उत्साह देखेर गदगद् हुँदै भने। ‘यो भूमिले मलाई लोभ्याएको छ । अहिलेलाई धेरै समय दिन नसकिएपनि चाँडै फेरी जनकपुर आउँछु र तीन अथवा पाँचदिवसीय योग शिविर चलाउँछु’ उनले थपे ।

जनकपुरमा स्वामी रामदेवलाई पतञ्जली योगकेन्द्र धनुषाका अध्यक्ष सुरेश यादवले योगकेन्द्रको तर्फबाट र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह ‘हिरा’ ले जनकपुरवासीको तर्फबाट नागरिक अभिनन्दन गरेका थिए । शिविरमा कांग्रेसकी सांसद मोक्ताकुमारी यादव र रामसपाका सांसद दिनेश साहलगायत विभिन्न दलका नेता र उद्योगीहरु सहभागी थिए ।

किसान परिवारमा जन्मेको आफूले प्रण गरेपछि अहिलेको योगी कहलाउन सफल भएको बताउँदै योगको महत्व हरेक नेपाली नागरिकले बुझ्नुपर्ने बताए । नेपाली सेनाको हेलिकोप्टर चढेर आयूर्वेद शिरोमणि आचार्य बालकृष्ण, उद्योगपति उपेन्द्र महतोलगायतको टोलीसहित आएका रामदेवले जनकपुरको कार्यक्रममा मुश्किलले दश मिनेट समय दिएका थिए ।

साँझको बेला अँध्यारो हुँदै गएको र जनकपुरबाट उडेपछि स्वामी रामदेव सिमरामा पुग्नुपर्ने तथा आचार्य बालकृष्ण राजधानी पुग्नुपर्ने कारण देखाउँदै शिविर स्थलमा पुगेको दशमिनेट नपुग्दै उनी उडेका थिए।

 

प्रकाशित: ११ मंसिर २०७३ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App