coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

‘कन्ट्रोभर्सी त सम्पत्ति हो’

भारतकी चर्चित लेखिका शोभा डे गत साता काठमाडौँ ओर्लिइन्। नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘मिडिया एन्ड आन्ट्रप्रनरसिप’ सम्मेलनमा भाग लिन उनी नेपाल आएकी थिइन्।
१८ भन्दा बढी पुस्तककी ६८ वर्षीया यी लेखिका समाजिक सञ्जालमा अति व्यस्त देखिन्छिन्। उनी आफ्नो लेखनीले मात्र नभएर ‘सोसल मिडिया’मा दिएका अभिव्यक्तिले पनि उत्तिकै विवादमा परिरहन्छिन्। तर, उनी सामाजिक सञ्जालप्रति सकारात्मक छिन्। ‘सामाजिक सञ्जाल आम मानिसको अभिव्यक्ति स्वतन्त्रताको थलो हो,’ डेको मूल्यांकन छ।
‘मानिस आफ्ना मनका भावना, पीडा ओकल्न चाहिरहेको हुन्छ । त्यसलाई फेसबुक, ट्वीटरजस्ता सोसल मिडियाले उनीहरूलाई सहयोग गरिरहेका छन् । यो सकारात्मक पाटो हो,’ डेको मान्यता छ। तर, यिनै डे भने सोसल मिडियामा कहिले भारतीय ओलम्पियनहरूबारे त कहिले गाईको मासुबारे दिएको अभिव्यक्तिको कारण विवादमा परिरहन्छिन् । यहाँसम्म कि उनले गाईको मासुबारे दिएको अभिव्यक्तिका कारण शिवसेनाले उनीविरुद्ध आन्दोलनै ग¥यो । डेलाई सरकारले सुरक्षा दिनुपर्‍यो।
‘सामाजिक सञ्जाल नहुँदा आम मानिसले आफ्नो कुरा राख्ने सहज तरिका के थियो ?’ उनी प्रश्न गर्छिन् । ‘आज यसैबाट ठूलठूला अभियान र आन्दोलनसमेत भएका छन् । के यो सकारात्मक होइन ?’ कफीको चुस्कीसँगै डेले होटल सोल्टीमा गफिँदै भनिन्, ‘सोसल मिडिया कसरी चलाइन्छ भन्नेले पनि प्रभाव पर्छ, तर सधँै यसले समाजमा नकारात्मक प्रभाव पार्छ भन्नु गलत हो ।’ सोसल मिडियाको शक्ति भनेकै ‘कमन पिपुल’ को आवाज भएको उनको धारणा छ ।
सधँै सोसल मिडियाको प्रभाव रहन्छ भन्नेमा डेको विश्वास छैन । विश्व जसरी डिजिटल गतिमा अघि बढिरहेको छ, त्यसले सोसल मिडियालाई पनि विस्थापन गर्ने उनको आकलन छ । ‘फेसवुक, ट्वीटरभन्दा अघि पनि हामी यस्तै अरू केही चलाउँथ्यौँ, जो अहिले अस्तित्वमा छैनन्,’ उनले भनिन्, ‘आजका फेसबुक र ट्वीटर पनि प्रविधिको विकाससँगै विस्थापित हुनेछन् र तिनका ठाउँमा अझै नयाँ केही आउँछन् ।’

सोसल मिडिया कसरी चलाइन्छ भन्नेले पनि प्रभाव पर्छ, तर सधंं यसले समाजमा नकारात्मक प्रभाव पार्छ भन्नु गलत हो।’ सोसल मिडियाको शक्ति भनेकै ‘कमन पिपुल’ को आवाज भएको उनको धारणा छ ।
 

सधैँ विवादमा आइरहने यी लेखिका विवादलाई सम्पत्तिका रूपमा लिन्छिन् । ‘हो त, कन्ट्रोभर्सी त तपाईंको सम्पत्ति हो,’ उनले भनिन्, ‘मनमा लागेका कुराहरू अभिव्यक्त गर्नुपर्छ । विवाद आउला कि भन्ने चिन्तामा फस्नु हुन्न । एउटा लेखकको अभिव्यक्ति नै उसको सम्पत्ति हो । त्यसमा विवाद आउँछ भने त्यो पनि सम्पत्ति नै भएन र ?’
लेखकले फाइदा वा बेफाइदा हेरेर बोल्न नहुनेमा उनी अडिग छिन् । ‘सत्य बोल्नु र लेख्नु लेखकको काम हो, त्यसले नै उसलाई सफल बनाउँछ,’ उनले भनिन्, ‘लेखकले फाइदा/बेफाइदा हेर्नु हुँदैन ।’
उनी पाठकको स्वतन्त्रताप्रति पनि सचेत छन् । पाठकलाई यस्तो पुस्तक पढ्नुपर्छ भनेर थोपर्न नहुने उनको धारण छ । ‘पाठक आफैँमा स्वतन्त्र हुन्छन्,’ उनको बुझाइ छ, ‘उनीहरू आफ्ना चाहनाअनुसार किताब पढ्न स्वतन्त्र छन् । उनीहरूलाई यस्तो पुस्तक राम्रो भनेर थोपर्नु हुँदैन ।’ तर, भर्खर पुस्तक पढ्न सुरु गर्दै गरेका युवाहरूलाई भने छोटा वाक्य भएका अर्थात् सरल भाषाका किताब पढ्न उनी सुझाव दिन्छिन् । ‘पुस्तक त सबैले आफ्नो रुचिअनुसार छान्न सक्छन् तर नयाँ पाठकले छोटा वाक्य भएका पुस्तक पढ्दा पठन क्षमता बढाउन मद्दत गर्छ,’ युवा पाठकलाई उनको सल्लाह छ ।
बढ्दो सूचना प्रविधिको विकाससँगै प्रिन्ट मिडिया विस्थापनको पनि चर्चा हुन थालेको छ । भारतको चर्चित म्यागजिन ‘स्टारडस्ट’ की सम्पादक रहिसकेकी डेलाई अनलाइनले प्रिन्टलाई विस्थापन गर्छ भन्ने विश्वास छैन । ‘डिजिटल मिडियाले प्रिन्टलाई विस्थापन गर्न सक्दैन,’ उनले भनिन्, ‘अनलाइन मिडियाको विकासले पेपरको बिक्री कम भने गर्न सक्छ । टेलिभिजनको तीव्र विकास भइरहँदा पनि पत्रिकाको भविष्यमाथि प्रश्न उठेको थियो, तर त्यस्तो खास असर त गरेन । पेपरको आफ्नै बजार छ, टेलिभिजनको आफ्नै बजार छ ।’ अहिले पनि ‘हार्ड कपी’ लाई सुरक्षित गर्न चाहनेहरूको संख्या उत्तिकै भएको उनको बुझाइ छ ।
दशौँ पटक नेपाल आइसकेकी डेलाई यहाँका हिमाल र सम्पदाहरूले मोहनी लगाएका छन् । पोखरा र पाटन उनलाई औधी मन पर्छन् । भूकम्पले पाटनलाई क्षति पुर्‍याउँदा उनको चित्त दुख्यो । पोखराबाट देखिने मनोरम हिमशृंखला उनका आँखा वरिपरि नै हुन्छन् । ‘सबै कुरा मिले एक पटक नेपाली बाटोमा ट्रेकिङ गर्ने योजना छ,’ उनले भनिन्।

(शुक्रबार साप्ताहिकबाट)

 

 

प्रकाशित: ११ मंसिर २०७३ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App