सम्झनामा दशैँ

शनिबार, १८ असोज २०७६, १० : २० उपेन्द्र लामिछाने

६ दशकअघि दशैँ छेक कलाकार मदनकृष्ण श्रेष्ठ पिङ बाट्नका लागि बाबियो बटुल्न हिँडिरहेका हुन्थे। हातमा चंगा लिएर राजधानीको उत्तर–पश्चिमस्थित जितपुरफेदीका धान खेतको आली–आली ‘चंगा चेट’ भन्दै कुदिरहन्थे। अथवा, खल्तीको दक्षिणा भुइँमा राखेर गन्दै गरेका हुन्थे।

गत सोमबार ललितपुरको सुनाकोठीस्थित निवासमा बाल्यकालको दशैँ अनुभव सुनाउँदै गर्दा ६९ वर्षीय कलाकार श्रेष्ठको अनुहार झनै उज्यालो देखियो। ‘दशैँको त्यो स्वाद अहिले करोडौँ खर्चे पनि पाइँदैन,’ उनले भने, ‘त्यति बेलाको दशैँमा उत्साह, उत्सुकता र प्राप्तिको उमंगता किनेर किन्न सकिन्न। समयचक्र अनुसार दशैँका रूपहरू फेरिएका छन्।’

उनले भनेजस्तै पछिल्लो समय दशैँका सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्ष बदलिँदै गएका छन्। उतिबेला श्रेष्ठको परिवारले मोहोर खर्चेर दशैँ मनाउथ्यो, आज दशैँमा हजारौँ खर्चनुपरेको अनुभव उनीसँग छ। तर, उनीहरूले केटाकेटी बेलाको जस्तो दशैँको रमाइलो पाउन सकेका छैनन्।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको धारणा पनि मदनकृष्णको जस्तै छ। घरमा नातिनातिनाको खुसी नियाल्दा उनलाई आफ्नो बाल्यकालको सम्झना हुन्छ। आजभन्दा आठ दशकअघि आफू ५–६ वर्षको हुँदा उनले हजुरबुलाई बोका किन्न कर गर्थे। आज उनी आफ्ना नातिनातिनाको इच्छा बमोजिम बोका खोज्दैछन्।

‘दर्जीदाइले कपडा सिलाएको पनि निकै रमाइलो मानेर हेथ्र्यौं। बाहुला जोडेको, खल्ती हालेको अनि टाँक लगाएको अधैर्यका साथ नियाल्थ्यौँ। यस्तो लाग्थ्यो, कतिबेला सिलाएर सकिन्छ र लगाउनु पाउँछु।
– मदनकृष्ण श्रेष्ठ

‘नातिले बोकाको रहर गर्दा मलाई फेरि बाल्यकालको याद आयो,’ उनले भने, ‘त्यति बेला पूरा हुन नसकेका आफ्ना रहर अहिले नातिमा पलाएको देख्दा झनै खुसी लागेको छ।’ दशैँ रहर पूरा गर्ने चाड पनि भएको उनको बुझाइ छ।

साहित्यकार तिलविक्रम नेम्वाङ अर्थात् वैरागी काइँला पनि दशैँ आउदासाथ मनमा उमंग आउने सुनाउँछन्। आफन्तकै जमघट र विगतका सम्झनाले दशैँ विशेष बन्ने उनको अनुभव छ।

दशैँ र लुगा
मदनकृष्णले दशैँ भन्नेबित्तिकै बाल्यकालको नयाँ लुगा सम्झन्छन्। लुगा छान्नेदेखि किन्नेसम्मको रमाइलो अनि दर्जीदाइको घर हुँदै आफ्नो आङमा आउँदाको खुसीलाई उनले अहिले वर्णन गर्न सक्दैनन्। 

‘कस्तोसम्म भने दर्जीदाइले कपडा सिलाएको पनि निकै रमाइलो मानेर हेथ्र्यौं,’ उनले भने, ‘बाहुला जोडेको, खल्ती हालेको अनि टाँक लगाएको अधैर्यका साथ नियाल्थ्यौँ। यस्तो लाग्थ्यो, कतिबेला सिलाएर सकिन्छ र लगाउनु पाउँछु।’

बाल्यकालमा उनका लागि दशैँको मुख्य रमाइलो भनेकै नयाँ लुगा थियो। नयाँ लुगा लगाएर हिँड्दा सबैको नजर आफैँतिर परेको जस्तो उनलाई लाग्थ्यो। उनी भन्छन्, ‘नयाँ लुगा देखाउनकै लागि पनि दिनभर यता–उता हिँड्थेँ।’

उस्तै अनुभूति छ, वैरागी काइँलाको पनि। उनको जमानामा नयाँ लुगा किन्न उनको गाउँ (पाँचथरको पौवागाउँ)देखि एक दिन लगाएर इलाम र तीन दिन लगाएर भारतीय सहर पुग्नुपथ्र्यो। ‘कोट बिरलै लगाइन्थ्यो,’ उनी भन्छन्, ‘दौरा–सुरुवाल र कनभर्स जुत्ता लगाएर सजिएर हिँडेको अझै सम्झना छ।’

पृथ्वीनारायणले एकीकरण गरेसँगै पल्लो किरातमा हाम्रा वंशजलाई दशैँ मान्ने आदेश गरियो। नेपाल सरकारका प्रतिनिधि भएका कारण नवदुर्गा भवानीको पूजा गर्नुपर्ने भयो। यसरी दशैँ मान्ने चलन लिम्बुबान क्षेत्रमा पनि चल्यो।
– वैरागी काइँला

नयाँ लुगा लगाउन र सिलाउन दशैँ नै आउनुपर्ने भएकाले लगाउने कुराको महत्व झनै बढेको उनको बुझाइ छ। ‘सहरमा बसेपछि नयाँ लुगाको रहर हुँदो रहेनछ’ उनी भन्छन्, ‘पैसा भए चाहिएका बेला किनिँदो रहेछ।’

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग पनि काइँलाजस्तै दौरा–सुरुवालमा रमाउने गरेको सुनाउँछन्। ‘सानैदेखि दौरा–सुरुवाल लगाइन्थ्यो,’ उनले भने, ‘दशैँको अवसरमा झनै त्यो प्यारो लाग्थ्यो।’

दशैँको खाना
पाँचथरमा जन्मिएका ८० वर्षीय काइला उति बेला गाउँमा सुब्बा प्रथा रहेको र दशैँ सामूहिक रूपमा मनाइने गरेको अनुभव सुनाउँछन्। पृथ्वीनारायण शाहको पालादेखि दुर्गा भवानीको प्रतीकका रूपमा मौलो गाडेर बली दिने प्रथा सुरु भएसँगै आफ्नो क्षेत्रमा राँगो, बोका अनि कुखुरा काट्ने चलन रहेको उनको भनाइ छ।

गरिबीका कारण मिठो–मसिनो खान नसक्नेका लागि दशैँ भोजको चाड बनेर खुसी दिने गरेको उनले बताए। ‘हुनेले राँगो, ठिकै हुनेले बोका अनि नहुनेले पनि कुखुरा काट्थे,’ उनी भन्छन्, ‘सुब्बाहरूको घरमा काटिएको त्यो भोज गाउँलेहरुले रमाइलो मान्दै खान्थे।’ उनका अनुसार, पछिल्लो समय यस्तो चलन हराएको छ।

उनी भन्छन्, ‘यो पर्वले सुखदुःख ऋण गरेर भए पनि एक छाक जाउलो, एक टुक्रा मासु खाने अवसर जुटाउँथ्यो।’
मदनकृष्ण पनि दशैँका बेला खाइने भोजको भिन्नै स्वाद रहने सुनाउँछन्। उनी हजुरबाले पूजा गरेपछि खाइने प्रसादका लागि घन्टौँ कुर्थे। ‘कति बेला पूजा सकिएका र डमरु बज्ला भनेर कुथ्र्यौं,’ उनी भन्छन्,  ‘त्यसपछि खाइने मीठो भोजनको बेग्लै मज्जा थियो।’

‘दशैँलाई कुनै विशेष धर्मको रुपमा हेर्नु भन्दापनि यसको सन्देश बुझ्नु जरुरी छ। नारीलाई पूजा गर्ने यो पर्व वास्तवमा नारीदिवस जस्तै हो। पूर्वीय सभ्यतामा नारीलाई सम्मान दिएको यो पर्व आफैँमा उत्कृष्ट छ।’
– तेजेश्वरबाबु ग्वंग

समयसँगै दशैँ मान्ने तरिका बदलिएको उनको अनुभव छ। ‘सानोमा आफू खुसी भए पुग्थ्यो। अहिले छोराछोरी, नातिनातिनाको खुसी हेर्न, भेट्न मन हुन्छ,’ मदनकृष्ण थप्छन्, ‘उनीहरू हाँसेको, खुसी भएको स्वादको बेग्लै आनन्द छ।’

दशैँको गैरहिन्दू मान्यता
एकीकरणसँगै पृथ्वीनारायण शाहले दशैँ मान्ने आदेश गरे अनुसार पल्लो किरातमा आफ्ना वंशजले दशैँ मान्न थालेको काइँला बताउँछन्। स्थानीय मानिसलाई स्वायत्तता दिँदा सुब्बा भन्ने पद दिइएको उनको भनाइ छ।

‘उनीहरूको बाध्यता के थियो भने नेपाल सरकारका प्रतिनिधि भएका कारण नवदुर्गा भवानीको पूजा गर्नुपर्ने भयो,’ उनी भन्छन्, ‘यसरी दशैँ मान्ने चलन लिम्बुबान क्षेत्रमा पनि चल्यो।’ २०२१ पछि सुब्बा प्रथा हराएको र दशैँ मनाउने राज्यस्तरको त्यो चलन पनि हराउँदै गएको उनको भनाइ छ।

‘धार्मिक हिसाबले हैन। कृषिप्रधान देश भएकाले खेतीपाती सकिएको यामपछि सुरु हुने उत्सव हो यो,’ उनी भन्छन्, ‘हिन्दू धर्मले नेपालमा व्यापकता पाउन थालेपछि राज्यले प्रश्रय दियो र हिन्दूहरूको महान् चाड भनियो।’ राज्यले हिन्दूकृत गरेर दशैँलाई ठूलो चाड बनाइएको कतिपयको बुझाइ रहेको उनले सुनाए। यसबारे उनी भन्छन्, ‘त्यसैले पछिल्लो समय केही मानिस तठस्थ पनि बसे।’

ग्वगं पनि काइँलाको धारणासँग सहमत छन्। दशैँलाई कुनै विशेष धर्मको रूपमा नहेरी यसको सन्देश बुझ्नु जरुरी रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘नारीलाई पूजा गर्ने यो पर्व वास्तवमा नारीदिवस जस्तै हो। पूर्वीय सभ्यतामा नारीलाई सम्मान दिएको यो पर्व आफैँमा उत्कृष्ट छ।’

दशैँको संगीत
दशैँको मौसम नै बेग्लै। मालश्री धुन मात्र होइन, हावाको बहाव, केटाकेटीको हाँसखेल, पिङको आवाज सबै दशैँको धुन हो। ‘चंगा, पिङ हराउँदै गएको छ,’ मदनकृष्ण भन्छन्, ‘तर परिवार जमघटसँगै हुने हाँसखेलको धुनले मनमा उमंग छर्छ।’ उनी आठ–नौ वर्षको हुँदा हजुरबाले जमरामा बजाउँदै गरेको डमरुको धुन अहिले पनि कानमा गुन्जिरहने उनी सुनाउँछन्।

आशीर्वाद
मदनकृष्णका लागि दशैँमा ठूलाबडाले दिने आशीर्वाद निकै प्यारो लाग्छ।  ‘हजुरबाले दिएको आशिष देउताको आशिष जस्तो जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘खुट्टामा ढोग्दा भन्नुहुन्थ्यो, भाग्यमानी भएस्। लोकप्रिय भएस्।’ उनलाई अहिले हजुरबाले दिएको आशीर्वाद पूरा भएजस्तो महसुस हुन्छ।

असत्य माथि सत्यको जित, अन्यायमाथि न्यायको जित मानिने पर्व मनाइरहँदा मुलुकको अवस्था त्यस विपरीत  रहेको मदनकृष्ण बताउँछन्। उनी भन्छन्, ‘मुलुकको दुःख नहटेसम्म दशैँको रौनकले मात्र जनतालाई खुसी राख्न सक्दैन।’

अर्थतन्त्र र संस्कृति
समयसँगै लाउने–खाने, हिँड्ने कुरा खर्चिलो हुँदै गएको वैरागी काइँलाको बुझाइ छ। गरिबहरूका लागि दशैँ दशा हुने तर हुनेखानेले तडकभडक गर्ने हुँदा दशैँले सबैको हुन सकेको छैन।

‘उहिले र अहिलेको दशैँ दाँज्दा पैसाको भाउमा अन्तर आयो होला। एक रुपैयाँ बराबर एक हजार पुग्यो होला,’ काइँला भन्छन्, ‘उति बेला देखावटी र भड्किलो पनि थिएन, अहिले त्यो फैलँदो छ।’

उतिबेला दशैँमा सामूहिकता झल्कन्थ्यो, तर अहिले दशैँ घर–घर र कोठा–कोठामा सीमित हुन थालेको छ। काइँला भन्छन्, ‘मासु ल्यायो कोठामा बस्यो, खायो। यस्तो प्रवृत्तिले सामूहिकता गुमाउँदै गएको छ।

त्यस्तै, अन्य क्षेत्रमा जस्तै चाडपर्वमा पनि देखासिकी हुन थालेको काइँलाको बुझाइ छ। ‘एकातिर नवमी भनेर मार हानिन्छ,’ उनी भन्छन्, ‘अर्कोतिर तराई क्षेत्रमा बंगालबाट भित्रिएको माटोबाट बनेका नवदूर्गाका मूर्ति पुज्ने चलन बढेको छ।’ उहिले–उहिले राणाहरूले दशैँका बेला जुवा खेल्न छुट दिन्थे, अहिले त्यो नभए पनि घर–घरमा तास खेलिन थालिएको काइँला बताउँछन्।

जसले जे भनेपनि दशैँ सामाजिक र सांस्कृतिक हिसाबले सद्भावको पर्व रहेको काइँला स्विकार्छन्। ‘यो छरिएर रहेका परिवार एकीकृत गर्ने चाड पनि हो,’ उनी भन्छन्, ‘त्यसैले सिंगो मुलुक यो पर्वमा कुनै न कुनै रूपमा रमाएको हुन्छ। ‘दशैँको लामो बिदा, पारिवारिक जमघट र मिठो खानेकुराले परिवार, समाज हुँदै सिंगो देशलाई जोडेको उनको बुझाइ छ।

जातीय, धार्मिक, सांस्कृतिक रुपमा विविधता भएकाले यसमा सबैको उत्साहपूर्वक सहभागी नहोला,’ काइँला भन्छन्, ‘सामाजिक, सांस्कृतिक सद्भावका हिसाबले भने सबैले दशैँलाई रमाइलो पर्व मान्छन् भन्ने मलाई लाग्छ।’

मदनकृष्ण श्रेष्ठ पनि दशैँलाई पारिवारिक मिलनको चाड मान्छन्। उनकी छोरी दशैँ मान्न भर्खरै अमेरिकाबाट आएकी छन्। यसले घरमा खुसी भित्रिएको उनको भनाइ छ। ‘ऊ आएसँगै मेरो घरमा पनि दशैँ आएको छ,’ उनले भने, ‘रोजगारी र अध्ययनका सिलसिलामा बिदेसिएका सन्तानलाई घर बोलाउने निम्तो बनेर दशैँ आउने गरेको छ।’

दशैँ धार्मिक आस्थाका हिसाबले मनाउन थालिएको भए पनि यो सबै नेपालीको साझा पर्व भएको मदनकृष्णको बुझाइ छ। ‘हो, नेपालमा विविध जातजाति, धार्मिक समुदाय मिलेर बसेका छन,’ उनी भन्छन्, ‘तर, दशैँजस्तै अन्य पर्व पनि नेपालीहरुले आपसमा रमाएर मनाउन थालेका छन्। यो देख्दा खुसी लाग्छ।’

तेजेश्वरबाबु दशैँले पूर्वीय सभ्यता र संस्कृति झल्काउने बताउँछन्।  उनका अनुसार, कतिपयले आफूअनुकूल परिभाषित गर्दा दशैँको महिमा छायामा पर्न थालेको छ। उनी भन्छन्, ‘महिषासुर दानव मात्र होइन, प्रवृत्ति पनि हो। यस्तो हरेक समाजमा हरेक समय देख्न सकिन्छ। त्यस्ता दानवको अन्त गर्ने नारी शक्ति पनि यही समाजमा हुन्छन्।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad