coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

स्वस्थ खाना, राम्रो दसैं

मोदनाथ पौडेल, पोषणविद्
दसैं आयो कि धेरै मानिसको मनमा मासुको परिकारको तस्बिर झल्कन्छ। दसैंका खानेकुरामा बढी जसो खसीकै चर्चा चल्छ। दक्षिणा लिने, आर्शीवाद लिने, मिष्ठान्न भोजन खाने, पारिवारिक भेटघाट, सामाजिक एकता तथा भाइचारा सम्बन्ध बढाउन दसैं पर्वको ठूलो महत्व छ। यस पर्वले सबै जाति र उमेर समूहलाई प्रभाव पारेको देखिन्छ। ‘हुँदा खाने र हुनेखाने’ दुवै वर्गको घरमा दसैंमा अरू समयमा भन्दा विशेष परिकार तयार पारिन्छ। तर दसैंको नाममा बन्ने जुुनसुकै परिकारलाई उचित मात्रामा प्रयोग  र स्वस्थ बनाउन सके दसैं स्वस्थ बन्छ।

विशेष गरी मासु र मिठाइजन्य परिकार यो पर्वमा बढी पाक्छन्। दसैंमा बन्ने यी परिकारको मात्रा मिलाएर खान नजान्दा कतिपयको स्वास्थ्यमा ठुलै असर पर्छ। कति दीर्घरोगीहरूका लागि दसैं दशा पनि बन्न सक्छ। दसैं मनाउँदा खानेकुरामा ध्यान दिनु सबैभन्दा महत्वपूर्ण कुरा हो।

दसैंमा शाकाहारीहरूको घरमा दसैंमा शाकाहारी भोजन बन्छ। खुवा, सेलरोटी, मिठाइका परिकार आदि विशेष रूपमा थपिन्छन्। तर मांसाहारी परिवारमा भने राँगा, खसी, सुँगुरका मासुका परिकार बन्छन्। यी तीनवटै रातो मासुका स्रोत हुन्। स्वास्थ्यका हिसाबले रातो मासु उचित मानिँदैन। खानै परे कम मात्रामा खान सकिन्छ। मांसाहारी भोजन कतिपय परिवारमा थालीभरि थरी–थरी परिकार मिलाएर खाने चलन पनि छ।

पोलेको मासु झनै हानिकारक छ। पोलेको मासुमा क्यान्सर उत्पादन गर्ने तत्व कार्सिजेनिक हुन्छ भने मासु र मदिरा मिलेमा पाचन प्रणालीमा असर पु-याउँछ।

‘दसैंको मासु जति खाँदा पनि हुन्छ’ भन्ने परम्परा अहिले पनि छ। तर यसको सट्टा यी कुखुरा, माछा तथा यी मासुको परिकार सन्तुलित मात्रामा खानु स्वास्थ्यका हिसाबले उचित हुन्छ। माछा–मासुको साथमा हरियो सागपातको सेवनलाई समावेश गर्दा शरीरमा आवश्यक पर्ने फाइबरको आपूर्तिलाई पूरा गर्न सकिन्छ। चाडपर्वको बहानामा सन्तुलित आहारलाई ध्यान नदिई मसालेदार, चिल्लो, रातो मासु, फ्राई गरेको पापड, चिप्स, प्राउन, रोस्ट, सेकुवालगायत परिकार खाँदा शरीर अवस्थ हुन सक्छ। बरु परिकारका सट्टामा स्वस्थ खाना समावेश गरी दसैं मनाउन सकिन्छ।

शाकाहारी भोजन खानेहरूले पनि दसैंको नाममा अनावश्यक चिल्लो तथा गुलियो परिकार खाने चलन छ। यी खाने कुरा स्वास्थ्यका लागि हानिकारक  छन्। तसर्थ सकेसम्म घरैमा बनाइएका परिकार खानुपर्छ। खानामा फाइबरका साथै दही तथा महीको प्रयोग गर्नाले पाचन प्रणालीमा सहयोग पुग्छ। पछिल्लो समय दसैंको भोजमा मदिरा सेवन गर्ने चलन पनि बढिरहेको देखिन्छ। त्यसमा पनि पोलेको मासुसित खाने चलन उत्तिकै छ। पोलेको मासु झनै हानिकारक छ। पोलेको मासुमा क्यान्सर उत्पादन गर्ने तत्व कार्सिजेनिक हुन्छ भने मासु र मदिरा मिलेमा पाचन प्रणालीमा असर पु¥याउँछ। सकेसम्म दसैंको बेला मदिरा सेवन नगर्ने र गर्नै परे फलफूल तथा सलादसित गरेमा धेरै असर हुँदैन।

भोजनमा मासुको मात्रा र तरिका
एउटा व्यक्तिले मासु कति खाने भन्ने कुरा उमेरअनुसार फरक पर्छ। ४० देखि ६० ग्राम (चार÷पाँच टुक्रा) मासुले ८० क्यालोरी प्रदान गर्छ। चाडपर्व होस् या अन्य समय, आफ्नो खानामा दिनहुँ सन्तुलित आहारा आवश्यक छ। एक सय ग्राम कुखुराको मासुमा ३१ ग्राम प्रोटिन हुन्छ भने खसीको मासुमा २१ ग्राम फरक पर्छ। १४ देखि १८ वर्षकालाई ६५ ग्राम र १९ देखि ७० वर्षसम्मका महिलालाई  ४६ ग्राम प्रोटिनको आवश्यक पर्छ। शरीरमा आवश्यकभन्दा बढी प्रोटिनको प्रयोग भए शरीरमा युरिया, नाइट्रोजन, युरिक एसिडलगायत उत्पादन हुन्छन्। जुन स्वास्थ्यका लागि हानिकारक छन्। खानाका हरेक थालीमा चार मूलमन्त्रलाई लागू गर्नुपर्छ ः अन्न तथा कन्दमूल, गेडागुडी, पशुपक्षीजन्य स्रोत, हरियो सागपात तथा पहेंला फलफूल।

यी चारवटै स्रोत हाम्रो खानामा हुनुपर्छ। परम्पराअनुसार दसैंमा आवश्यकताभन्दा बढी मासु खाने चलन छ। यतिसम्म कि जतिवटा घरमा टीका लगाउन पुग्यो, सबै घरमा मासुकै परिकार दिने र खानेले पनि खाइहाल्ने चलन छ। तर दसैेंको नाममा यति धेरै मासुको मात्रा स्वास्थ्यका लागि फाइदाजनक हुँदैन। किनकि मासु प्रोटिनको स्रोत मुख्य स्रोत हो र शरीरमा प्रोटिनको स्रोत बढी भए टाउको दुख्ने, मिर्गौला फेल हुनसक्ने, श्वास गनाउने, मुटुरोग लाग्न सक्ने र हड्डी कमजोर हुने सम्भावना हुन्छ।

मासु स्वस्थकर बनाउने विधि
बाफ विधिबाट मासुलाई उमाल्ने, भित्री अंगमा भएको मासु र बाहिरी छालामा टाँसिएको मासु स्वास्थ्यका लागि प्रतिकूल हुन्छ। यस्ता मासुमा कीटाणु हुने सम्भावना धेरै हुन्छ। त्यसैले यस्ता मासुको सेवन नगर्नु नै उचित हुन्छ। खानै परे उसिनेर तथा पखालेर मात्र खान सकिन्छ। ताजा मासुलाई भुटेर पकाउनुभन्दा छोपेर पकाएको मासु स्वास्थ्यका हिसाबले स्वस्थकर मानिन्छ। छोपेर पकाउँदा यसमा भएका तŒव नष्ट नहुने हुनाले सकेसम्म तारेर भुटेरभन्दा छोपी–छोपी राम्रोसित पकाएर खानाले मासु स्वस्थ हुन्छ। बजारमा पाइने अजिनोमोटो, मिटमसला भन्दा घरमै बनाइएका मसला प्रयोग गर्नु उचित हुन्छ। ल्वाङ, मेथी, सुकुमेल, बेसार, जिरा, सुप, कडी पत्ती, धनियाँ र मेथी मिश्रणयुक्त मसला प्रयोग गर्न सकिन्छ।

पर्वमा यस्ता खानेकुरा खाए स्वस्थ रहन सकिन्छ
–तारेभुटेर बनाएका परिकार नखाने
–ताजा मासु छोपेर पकाउने र उचित मात्रामा खाने
–पुरानो तेलमा बनेका परिकार नखाने
–फाइबरयुक्त खाना बढी खाने
–खानामा बोक्रासहितको दाल र टुसा उम्रेका गेडागुडी खाने
–दैेनिक मौसमी फलफूल खाने
–पानीको मात्रा मिलाएर खाने
–गर्भवती, सुत्केरी र वृद्ध–वृद्धाले भोजनमा ध्यान दिने।

प्रकाशित: १८ आश्विन २०७६ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App