बौद्धदर्शन

बुद्धले जे खोजे त्यही पाए

शनिबार, १८ असोज २०७६, १० : ०५ वसन्त महर्जन

बुद्ध र बौद्ध धर्मदर्शनको चर्चा हुँदा वा लेख–रचनामा प्रायः गौतम बुद्धको गृहत्यागको प्रसंगलाई बडो महत्व दिने गरिन्छ। बौद्ध शब्दावलीमा यसलाई ‘महाभिनिष्क्रमण’ भनिएको छ। महाभिनिष्क्रमणअघि सिद्धार्थ (बुद्धको गृहस्थ नाम)लाई बच्चा बेलादेखि ऐश–आरामको जिन्दगी बिताउने व्यवस्था गरिएको थियो। गृहस्थी भए भविष्यमा ‘चक्रवर्तीराजा’ हुने र सन्न्यास लिए ‘सम्यक्सम्बुद्ध’ हुने भविष्यवाणी अनुसार चक्रवर्ती राजाको लोभमा बाबुु शुद्धोदनले सिद्धार्थलाई गृहस्थ जीवनमा भुलाउन खोजेका थिए। यस्तो पनि भनिन्छ, उनलाई वैराग्य भाव नआओस् भनेर वृद्ध, व्याधि, मृत र सन्न्यासका सम्बन्धमा जानकारी दिइएको थिएन। तर, एक दिन शहरमा घुम्न जाँदा उनले रोगी, वृद्ध, शव र एक सन्न्यास देखे। मान्छे रोगी पनि हुनुपर्छ, यो दुःख हो। वृद्ध पनि होइन्छ, यो पनि दुःख हो। मर्नुपर्छ, त्यो झनै दुःख हो। रोगी नै हुनुनपर्ने, कहिल्यै बूढो हुनुनपर्ने र मर्नु पनि नपर्ने उपायका लागि सन्न्यास भई हिँड्दा हुन्छ भन्ने ज्ञान पाए र त्यसैको छुट्काराका लागि गौतम बुद्धले गृहत्याग गरी महाभिनिष्क्रमण गरेका हुन्।

यही प्रसंगमा बौद्ध धर्म र दर्शनको निहितार्थ रहेको छ, तर सूक्ष्म कुरालाई मनन नगरी प्रायः हल्काफुल्का रूपमा लिने गरेको पाइन्छ। यहाँ कतिपय कुरा ऐतिहासिक दृष्टिले नमिल्दो वा अप्रासांगिक पनि छन्।

गौतम बुद्धको बाल्यकाल ऐश–आराम र सुखसुविधाले सम्पन्न थियो भनेर पुष्टि गर्न उनलाई ‘महाराजा’का उत्तराधिकारी अर्थात् राजकुमारको कल्पना गरिएको छ। वास्तवमा उनका बाबु शुद्धोदन राजतन्त्र अन्तर्गतका ‘महाराजा’ नै होइनन्। तत्कालीन राज्यव्यवस्था राजतन्त्र र गणतन्त्रअनुसार हुन्थ्यो भने कपिलवस्तुमा गणतन्त्रको अभ्यास गरिन्थ्यो। एउटा परिषद् हुन्थ्यो र उक्त परिषद्का सबै सदस्य ‘राजा’ कहिन्थ्यो। तीमध्येबाट निश्चित अवधिका लागि चुनिएका राजालाई ‘महाराजा’ भनिन्थ्यो। अन्य गणतन्त्रात्मक राज्यहरूमा पनि यही परम्परा थियो। कपिलवस्तुका शुद्धोदन पनि त्यस्तै महाराजा थिए। उनी कुलीन परिवारबाट भएको देखिन्छ। शुद्धोदन त्यति धेरै धनी पनि देखिँदैनन्। त्यो बेला धनीहरू आफ्नो छोरालाई राम्रो शिक्षादीक्षा दिनका लागि तक्षशिलामा विद्याध्ययन गर्न पठाउँथ्यो, तर शुद्धोदनले छोरा सिद्धार्थका लागि शिक्षाको व्यवस्था आफ्नै ठाउँमा व्यवस्था गरेका थिए।

जब प्रज्ञा प्राप्त हुन्छ, सबै कुराको प्राप्ति हुन्छ, अर्थात् प्राणीमा भएको क्लेश स्वतः क्षय हुन्छ। फेरिफेरि जन्मनुपर्ने कारणबाट छुटकारा पाउँछ। यसर्थ रोगी हुनुनपर्ने, वृद्ध हुनुनपर्ने र मर्नुनपर्ने ज्ञानको खोजमा गौतम बुद्ध सफल भएकै हुन्।

वैराग्य भाव उत्पन्न होला भनेर सिद्धार्थको आसपासमा वृद्धजनलाई निषेध गरिएको भन्नु ज्यादै उट्पट्याङ हो। छोराको जन्म हुँदा महाराजा शुद्धोदनको उमेर ५५ वर्षको थियो। बाबु छोराको भेट कहिल्यै नभएको मान्ने हो भने, प्राप्त तथ्यले यो कुरा स्वीकार गर्दैन। भेट भएको मान्दा माथिको कुरा काटिन्छ।

सिद्धार्थलाई शिक्षाको राम्रो व्यवस्था गरिएको थियो र सबै शिक्षामा उनी पारंगत थिए। बुद्धलाई आयुर्वेदसम्बन्धी राम्रो ज्ञान भएको बौद्ध धर्मका विभिन्न ग्रन्थको अध्ययनबाट थाहा हुन्छ। आयुर्वेदबारे जानकार व्यक्तिलाई रोग र मृत्युका बारेमा जानकारी नदिइएको वा थाहै नभएको भन्न सुहाउँदैन। उनलाई दर्शनशास्त्रको पनि ज्ञान दिइएको थियो र दर्शनशास्त्र जान्ने मान्छेलाई सन्न्यासीको बारेमा थाहा हुँदैन र ?

वास्तवमा गौतम बुद्धको बाल्यकाल र युवाकाल स्वाभाविक रूपमै बितेको पाइन्छ। उनी राजनीतिमा पनि संलग्न थिए। उनलाई मनपरेको राज्य व्यवस्था गणतान्त्रिक प्रणाली थियो र आफ्नो संघलाई यही प्रणालीअनुसार व्यवस्थित गरेको पाइन्छ। उनी चिन्तक र संवेदनशील स्वभावका थिए भन्ने बुझिन्छ।

त्यो समयको समाज जीवनदर्शनका सवालमा निकै गम्भीर रहेको र बौद्धिक तथा दार्शनिक बहस चरमचुलीमा थियो भन्न सकिन्छ। वैदिक सभ्यता ओरालो लागेको मात्रै नभएर स्वयं वैदिक समाजभित्रै वैदिकहरूले नै विभिन्न प्र्रश्न उठाउन थालिसकेका थिए। समग्र वैदिक मूल्य–मान्यतामाथि हाँक दिएर अन्य मतवादहरू अगाडि आइरहेका थिए। दार्शनिक मतवादहरूको चिन्तन नै जीवन र मुक्तिको प्रश्नमा हुन्थ्यो। सबै मतवाद वा जिज्ञासुहरूको मथिंगलमा जे प्रश्न थियो, गृहत्याग गर्नुअघिसम्म गौतम बुद्धको मथिंगलमा पनि त्यही प्रश्न हुनुपर्छ। यही प्रश्नले उद्वेलित भई राति कसैलाई थाहै नदिई भर्खर जन्मेको छोरा, श्रीमती, आमाबाबुलाई छाडेर राति सुटुक्क भागेको भन्ने प्रसंग पछिल्ला लेखकको एउटा कल्पना मात्रै हो वा अन्य एक भिक्षुको प्रसंगलाई गौतम बुद्धको जीवनमा आत्मसात् गराउन ल्याएको भनेर बुझ्न सकिन्छ। 

अनित्यता स्वभावधर्म हो। जबसम्म यो स्वभाव धर्मलाई स्वीकार गरिन्न, तबसम्म दुःख रहिरहन्छ। संसार दुःखमय छ। जन्मनु दुःख हो, जन्मेर मर्नु दुःख हो। मनपरेको कुरा पाउनु झट्ट हेर्दा सुख हो, तर दुःखको कारण त्यही हुन्छ। किनभने प्राप्त भएको कुरा सधैँ आफूसँग हुँदैन, एक समय त्यो आफूबाट छुट्छ नै। छुटेपछि दुःख हुन्छ। अजरअमर मानिएको ‘आत्मा’लाई बौद्ध धर्मले अस्वीकार गर्दछ। आत्माको त्यो भाव हुन्जेल पनि अनित्यताको बोध हुन दिँदैन, यही भएर बुद्धले अनात्मावादलाई जोड दिनुपरेको हो। जन्म भएकै कारण मृत्युवरण गर्नुपरेको हो। यसबीच रोग लगायत अन्य दुःख हुन्छ नै।

मान्छेलाई कहिल्यै रोग नलाग्ने बुटी खोज्न गौतम बुद्धले महाभिनिष्क्रमण गरेका थिएनन्। सधैँ तन्नेरी भइराख्ने उपाय खोज्न गएका पनि थिएनन्। यसरी नै कहिल्यै मर्नुनपर्ने अमृतको खोजमा उनी हिँडेका थिएनन्। जुन दृश्य देखेर गौतम बुद्धमा वैराग्य उत्पन्न भएको हो, त्यसको समाधान उनी आफैँले गर्न सकेनन्। उनका अनुयायीले कहाँ गर्न सक्नु र भनेर खिसीटिउरी गर्नु बुद्ध, बौद्ध धर्म र समग्र दर्शनशास्त्रबारे नै अनभिज्ञ रहनु हो।
बुद्ध र बौद्ध धर्मको मुख्य र एक मात्र उद्देश्य सबै प्राणीको जन्म र पुनर्जन्मको भवचक्रलाई तोड्नु हो। यसलाई जीवन र मृत्यबाट छुट्कारा पनि भन्न सकिन्छ। यस मतवादका अनुसार अविद्याका कारण संस्कारहरूको निर्माण भइरहन्छ र तृष्णाले अकुशल कर्म गराएर भवजालमा फसाइरहन्छ। यही भएर तृष्णा क्षयको पाठ पढाउने काम यस मतवादको हो। यसका लागि शील, समाधि र प्रज्ञामा जोड दिइन्छ। जब प्रज्ञा प्राप्त हुन्छ, सबै कुराको प्राप्ति हुन्छ, अर्थात् प्राणीमा भएको क्लेश स्वतः क्षय हुन्छ। यो भन्नु फेरिफेरि जन्मनुपर्ने कारणबाट छुटकारा पाउनु हो। जन्म लिनुनपरेपछि रोगव्याधिको कुरा भएन र मृत्यु पनि हुँदैन। यसर्थ रोगी हुनुनपर्ने, वृद्ध हुनुनपर्ने र मर्नुनपर्ने ज्ञानको खोजमा गौतम बुद्ध सफल भएकै हुन्। जे खोज्न हिँडेका थिए, त्यो पाएकै थिए। त्यही ज्ञानको अभ्यास गर्नु तथा अरुका लागि त्यसको प्रचारप्रसार गर्नु नै बौद्ध धर्म हो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad